Comments Add Comment

प्रहरीको बढुवाविरुद्ध पुनरावलोकन समितिमा उजुरी

उजुरीको फैसला नहुन्जेल बढुवा रोकियो

८ साउन, काठमाडौं । नेपाल प्रहरीको बढुवा सिफारिसमा अन्याय भएको भन्दै तीन उच्च अधिकृतले पुनरावलोकन समितिमा उजुरी दिएका छन् । यससँगै एआईजी, डीआईजी र एसएसपीको बढुवा प्रक्रिया रोकिएको छ ।

जुनियरलाई बढुवा गरेर सिनियरलाई अन्यायमा पारिएको भन्दै डीआईजी मधुप्रसाद पुडासैनी, एसएसपी सुवासचन्द्र चौधरी र एसपी बिभुतिराज पाण्डेले पुनरावलोकन समितिमा उजुरी दिएका हुन् । उनीहरु तीनैजना बढुवा सिफारिसमा परेका छैनन् ।

गृहमन्त्री जनार्दन शर्माले बढुवामा केही अधिकृतलाई अन्याय भए पनि नियतवश नगरिएको भन्दै प्रष्टिकरण दिएका थिए । तर, बढुवामा नपरेकामध्ये तीनजनाको उजुरी दर्ता भएको लोकसेवा आयोगका प्रवक्ता लक्ष्मीविलाश कोइरालाले पुष्टि गरेका छन् । कोइरालाले भने, ‘उहाँहरु तीनजनाको उजुरी परेको छ । अब आयोगले बढुवा भएका र हुन नपाएका सबैको विवरण गृहमन्त्रालय मार्फत मागेर छानविन गर्नेछ । पुनरावलोकन गर्दा तलमाथि गरेको पाइएमा नाम फेरिन सक्छ ।’

पुनरावलोकन समितिको अध्यक्षमा लोकसेवा आयोगका अध्यक्ष रहन्छन् भने सदस्यमा मुख्य सचिव र कानुन सचिव रहने व्यवस्था छ । समितिले कार्य सम्पादक मुल्यांकन, बरिष्ठता र आचरण लगायत सबै पक्ष हेर्नेछ ।

एआइजी बढुवामा आफूभन्दा कनिष्ठलाई पारेर आफूमाथि अन्याय भएको गुनासो पुडासैनीले गरेका छन् ।

त्यस्तै डीआईजी सिफारिसमा आफूभन्दा दोस्रो ब्याचका शशीविक्रम शाहलाई पारिएको भन्दै सुवासचन्द्र चौधरीले उजुरी गरेका छन् । शाह गृहमन्त्री जनार्दन शर्माको जिल्लाबासी हुन् ।

गृह मन्त्रालयले आफूखुसी दरबन्दी सिर्जना गरेर बढुवा गरेको भन्दै प्रहरीभित्र असन्तुष्टि बढेको छ ।

डीआईजीबाट एआइजी बढुवा गर्दा बरिष्ठता मिचिएको विषयलाई गम्भिर रुपमा लिइएको छ । बरिष्ताका आधारमा मधु पुडासैनी, माधव नेपाल, पंकज श्रेष्ठ, गोविन्द निरौला, राधाकृष्ण देउजा अगाडि भए पनि उनीहरु बढुवा सिफारिसमा परेनन् । तर, रणवहादुर चन्द र बिजयकुमार भट्ट बढुवामा परेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवाको गृहक्षेत्रका भएकैले उनीहरु बढुवामा परेको आरोप लागेको छ ।

यसपटक प्रहरीको बढुवा सबै तहमा विवादमा परेको छ । इन्सपेक्टरबाट डीएसपी वढुवामा समेत रामेश्वर यादव, ओम राना लगायत विवादित र कारवाही भोगिसकेका अधिकृतलाई प्राथमिकता दिइएकोमा असन्तुष्टि चर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment