Comments Add Comment

पेट्रोलको गन्धले ‘नपुंशक भइएला’ भन्दै ३३ करोड घोटाला

मेयर प्रभा बराल भन्छिन्- यो अमलेखगञ्ज हैन, लोथर हो

१०, साउन, चितवन । निरन्तर घाटामा जाँदासमेत बोनस र कमिसन खान नछाड्ने आयल निगमको नेतृत्व यतिबेला देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको भण्डारणका लागि जग्गा खरिद गर्ने बाहानामा करोडौं रकम ‘सेटिङ’ मिलाएर खाने अभियानमा जुटेको छ ।

दलालहरुसँग आपसी मिलेमतो गरेर भैरहवामा करिब २० करोड रुपैयाँ घोटाला गरेका निगमका हाकिमहरुले चितवनको जग्गा खरिद प्रकरणमा करिब ३३ करोड रुपैयाँ स्वाहा पारेका छन् ।

नेपाली जनताका लागि ‘सेतो हात्ती’ बनेको आयल निगम र त्यसका पदाधिकारीहरूका लागि सरकारले पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद गर्ने निर्णय गरिदिनु ‘दशैं’ आए जस्तै भएको छ ।

लोथर खोलामा पैसा हालियो

चितवन यसै पनि सामरिक महत्वको जिल्ला हो । आयल निगमले आफ्नो भण्डारण क्षमता चितवनमा विस्तार गर्नु त्यो रणनीतिक महत्व हुन सक्ला । यहाँबाट राजधानी लगायत देशका अन्य पहाडी शहरी क्षेत्रमा इन्धनको आपूर्ति गर्न सहज हुने र समस्या आइपर्दा त्यसको प्रयोग गर्न सकिने कुरालाई नकार्न सकिँदैन । त्यसैले पनि आयल निगमले चितवनमा ८० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमताका लागि २४ विगाहा जग्गाको खोजी गरेको हो ।

यसैक्रममा पूर्वपश्चिम राजमार्गसँग सटेको राप्ती नगरपालिका वडा नः १ लोथर खोला किनाराको जग्गा दलालमार्फत खरिद गरेर निगमलाई डुबाउने काम गरिएको छ ।

१५ प्रतिशत जग्गा अर्थात २४ विगाहा जग्गाको १५ प्रतिशत जग्गा तल माथि (परिमाण) हुने गरी जग्गा खरिद गर्न आयल निगमले केही स्थानीय र केही जिल्ला बाहिरका जग्गा दलालहरूको सञ्जाल खडा गरेको थियो । यसमा नेपाल प्रहरीका बहालवाला डीआइजीको समेत नाम मुछिएको छ ।

लोथरमा अहिलेसम्म २३ विगाहा २ कठ्ठा जग्गा आयल निगमको नाममा पास भैसकेको छ । अब १८ कठ्ठा जग्गा पुर्‍याउन बाँकी छ ।

गत ०७३ फागुनदेखि असार २८ गतेसम्म विभिन्न मितिमा जग्गा पास गरेर आयल निगमका नाममा गरेको मालपोत कार्यालय खैरहनी पर्साका जग्गा दर्ता पुस्तिकामा देखिन आएको छ । आयल निगमका प्रबन्धक पुष्कर कार्कीले आफैं आएर जग्गा पास गरेका थिए ।

काठमाण्डौंका विनोद बस्नेत, धुव आमात्य, भरतपुरका दीपन्द्र चापागाई, खैरहनी खुरखुरेका अर्जुन भनिने एक ब्यक्ति, भण्डाराका श्याम श्रेष्ठ र स्थानीय लोथरका मनोज शर्मा र राजु भनिने भोजराज पाठकको च्यानलमार्फत स्थानीयका जग्गा सस्तो मूल्यमा हत्याइएको देखिन्छ । पहिले दलालमार्फत सस्तोमा जग्गा किनेर निगमले महंगोमा किन्दा ३३ करोड रुपैयाँ बढी तिरेर घोटाला गरेको पाइएको छ ।

जग्गाधनीहरुलाई जग्गा दलाल अनन्तप्रसाद घिमिरेले संगठित गरेका थिए । रकम पाउने आशामा आफ्नो समेत खल्तीबाट रकम खर्च गरेका भोजराज पाठकलाई पछि स्थानीय मनोज शर्मा र उनको समुहले दिने भनेको कमिसन पनि नदिएको र कमिसनको विवादमा पुलिस केससमेत भएको स्थानीय बताउँछन् ।

कस्तो छ निगमले किनेको जग्गा ?

आयल निगमले खरिद गरेको जग्गा चितवन र मकवानपुर जिल्लाको सिमाना लोथर खोला छेउमा रहेको छ । वि.स.०२७, ०५० र ०५९ सालमा यही ठाँउबाट लोथर खोला पसेर बगर बनाएको थियो । सरकारले सामान्य ड्याङ बनाउँदै आएको भए पनि बषर्ातमा उर्लिने लोथरले भत्काएर यो ठाँउमा खोला पस्दै आएको थियो ।

तत्कालीन समयमा बगर बनाएको यो क्षेत्रमा अहिले भने माछा पोखरी र धानखेत छ । स्थानीय नेता जागृतप्रसाद भेटवालले लोथर राप्ती खोला नियन्त्रणका लागि स्वीस सरकारको आर्थिक सहयोग ड्याङ निर्माण गराएपछि यो जग्गामा बाढी पसेको छैन ।

निगमले खरिद गरेको जग्गा लोथर ड्याङसँगै सटेको छ । यो जग्गासँगै नेपाल प्रहरीका डीआईजी सुदिप आर्चाय र उनको परिवारको जग्गा छ । आर्चायको जग्गामा माछापोखरी छन् । निगमले किनेको जमिन लोथर खोलाको ड्याङ भन्दा ७० सयमिटर तल खाल्डोमा छ ।

डीआइजी आर्चायबाट निगमले किनेको जग्गाको कतिपय भाग ड्याङ र ड्याङभन्दा बाहिर लोथर खोलाको किनारैसम्म रहेको स्थानीय बताउँछन् । यो जग्गा पूर्वपश्चिम राजमार्गसँग सटेको तर भिरालो परेको एवं राजमार्गभन्दा गहिरो स्थानमा छ ।

निगमले किनेको जग्गाको दक्षिण क्षेत्र ऐलानी जग्गा छ । सोही स्थानमा जग्गा बेच्ने अधिकांश मानिसहरु बसोबास गर्दै आएका छन् । बेचिएको जग्गामा पनि केही घरहरु छन् । ऐलानी जग्गामा बसेर नम्वरी जग्गा बेचेका स्थानीयहरूलाई निगमले मानववस्ती योग्य नभएकाले उठाइदिन नेपाल सरकारलाई आग्रह गरे घरवास नै उठ्ने हो कि भन्ने चिन्ताले अहिले भने उनीहरूलाई सताउन थालेको छ ।

नपुंशक भइएला भन्दै दलालले जग्गा उम्काए

जग्गा सस्तोमा फुत्काउन स्थानीय दलालहरूले जनता माथि सबै खालको हथकण्डा अपनाएको पाइएको छ । २ लाखप्रति कठ्ठा मूल्य पर्ने जग्गालाई ८ लाख रकम दिने भनेर खुसी भई जग्गा बेच्न तयार हुने बाहेक अन्यलाई उनीहरूले धम्की र त्राससमेत देखाएको पाइयो ।

जग्गा बेच्न नखोज्नेहरूलाई फलानाले त बेच्यो, तिमीले नबेचे पनि त्यो जग्गामा भोलि केही गर्न पाउँदैनौं, यहाँ आयल निगमको पेट्रोल, ग्यास र डिजेलको भण्डार तथा प्रशोधन कक्ष बसेपछि यस क्षेत्र वरपरका स्थानीय जनताले राति राम्रोसँग पनि सुत्न पाउँदैनन्, पानी पनि गलितो पिउन पाउँदैनन् र भोलिका दिनमा बच्चाबच्ची समेत नहुने र वंश नै रोकिने जस्ता सास्या हुन सक्छन् भन्दै दलालहरुले मनोबैज्ञानिक त्रास फैलाएको पाइएको छ ।

स्थानीय मञ्जु उप्रेतीलाई पनि स्थानीय दलालहरूले सबै खालका त्रास र आश देखाए । स्थानीय दलालले दिएको त्रास स्मरण गर्दै मञ्जुले भनिन् ‘उनीहरुले केसम्म भनेनन् ? भोलि ग्यासका कारण तपाईको सन्तान उत्पादन नै हुन सक्दैन, यस्तो ठाँउमा के बस्ने सम्म भने ।’

निगमले बोलपत्र आहृवान गरेर प्रतिस्पर्धा गराएको देखाए पनि जग्गा दलालसँगको मिलेमतोमा खरिद गरेको पाइएको छ । निगमले तोकेको क्षेत्रमा पुगेर दलालले जग्गा एकीकृत गरी निगमलाई बिक्री गरेका हुन् । यसबाट घोटाला गरेर निगमका उच्च अधिकारी र जग्गा एजेन्टले करोडौं रकम कुम्ल्याएको स्थानीयको गुनासो छ ।

नम्बरी दलाल अनन्तप्रसाद घिमिरे

आयल निगमका लागि भैरहवामा स्थानीयको जग्गा सस्तोमा खरिद गरेर आयल निगमलाई महंगोमा बेच्ने जग्गाको दलाल अनन्नप्रसाद घिमिरले नै चितवनमा पनि स्थानीयसँग जग्गा लिएर आफ्नो नामबाट बनाई आयल निगमका नाममा पास गरेको पाइएको छ ।

यसैबाट थाहा हुन्छ, आयल निगमभित्रैबाट खास मिसनमा पठाइएका जग्गा दलाल यिनै घिमिरे हुन् भन्ने कुरा । रौतहट जिल्ला पौराही १ घर भएका घिमिरेले राप्तीको माधवटारमा ५८ कित्ता स्थानीयको जग्गा आफूले लिई निगमका नाममा पास गरेका हुन् ।

११ जना स्थानीय वासिन्दाहरु तीर्थराज पाठक, शिवज्योति श्रेष्ठ, सहदेव खड्का, सूर्यबहादुर खड्का, सकुन्तला राई, लक्ष्मीमाया, पेमा डोल्मा थिड, रवि खनाल, जानुका कुमारी राई, गोमादेवी उप्रती र सत्यदेवी खड्कासँग गरेर ३ विगाहा २ कठठा जग्गा प्रतिकठठाको ८ लाखदेखि ९ लाख ५० हजारसम्म तिरेर घिमिरेले आफ्नो नाममा ल्याएको देखिएको छ ।

यस्तै स्थानीय जनताको जग्गा जम्मा पार्नेमा अर्का दलाल जयराम थापा हुन् । रोल्पा घर भएका यिनले १९ जनाबाट ३४ कित्ता जग्गा आफ्नो नाममा बनाई ३ विगाहा १४ कठ्ठा जग्गा आयल निगमका नाममा पास गरेका छन् ।

यस्तै, तत्कालीन समयमा बर्दीको आडमा सस्तो दरमा लगभग सित्तैमा हत्याएका नेपाल प्रहरीका अहिलेका डीआइजी सुदिप आर्चाय र उनको परिवारका नाममा रहेको कित्ता नः ५१२ को ३ विगाहा ५ कटटा, कित्ता नम्वर ५७२ को ३ विगाहा १० कठठा र कित्ता नं ५७१ को ३ विगाहा १० कठ्ठा गरेर १० विगाहा १० कठठा जग्गा एकमुष्ठ रूपमा सिधै आयल निगमका नाममा पास गरिएको छ ।

यस्तै, स्थानीय जग्गा कारोबारी बालकुमारी सिलवाल, बिमलादेवी पाठक, बालकृष्ण सिलवाल, चिरनकुमार खड्का, मैयादेवी खड्का र अनिता खड्काले पनि आयल निगमकै नाममा जग्गा पास गरेका छन् ।

कसरी भयो घोटाला ?

आयल निगमले जग्गा खरिदको प्रकृया शुरु गर्नुभन्दा १५ दिनअघि सोही स्थानका प्रेमलाल तामाडले आफ्नो जग्गा १ कठ्ठाको ३ लाखका दरमा बेचे । २ लाखदेखि २ लाख ५० हजारसम्म कारोवार भइरहेको ठाउँमा ३ लाख के के नै हात पर्‍यो भनेर दंग थिए प्रेमलाल । तर, त्यसको १५ दिन पछि नै ३ लाखमा बेचेको जग्गाको आडैबाट छिमेकीले ८ लाखदेखि १० लाखसम्म प्रतिकठ्ठामा जग्गा आयल निगमका लागि भन्दै बेचेपछि उनी अहिले पश्चाताप गरिरहेका छन् ।

मालपोत कार्यालय खैरहनी पर्साले सो क्षेत्रको जग्गाको सरकारी दर १ लाख ५० हजार प्रतिकठ्ठा राखेको छ । त्यसको ४ प्रतिशत सरकारी राजश्व बुझाउनुपर्दछ । यसो गर्दा ६ हजार हुन आउँछ ।

आयल निगमले राप्ती नगरपालिका वडा नंः १ माधवटार साविक पिप्ले गाविसको वडा नः ६ मा २३ विगाहा २ कठ्ठा खरीद गरेको छ । २३.२ विगाहामा ४६४ कठ्ठा जग्गा हुन आउँछ । निगमले मालपोत कार्यालय खैरहनी पर्सामा विभिन्न ११ जनाबाट जग्गा पास गरेको देखिन्छ । केही ब्यक्तिबाट सिधै आयल निगमका नाममा जग्गा पास भए पनि अधिकांशको जमिन दलालले खरिद गरेर निगमलाई बेचेको पाइएको छ ।

कुल ४६४ कठ्ठा जग्गाको पहिलोपटक २ करोड ६९ लाख ९४ हजार ९ सय २८ र दोस्रोपटक २९ लाख ४० हजार १ सय ७५ गरी २ करोड ९९ लाख ३५ हजार १ सय ३ रुपैयाँ राजश्व तिरेको देखिएको छ । दुबै राजश्व चेक मार्फत भुक्तानी भएको मालपोत कार्यालय खैरहनी पर्साका सूचना अधिृकत रमेश गौत्तमले जानकारी दिए ।

यसरी ४६० कठ्ठा जग्गाको न्यनूतम ४ प्रतिशत राजश्व बुझाउँदा जग्गाको कारोवार प्रतिकठ्ठा औसत १६ लाख १२ हजार ८ सय ७५ मा भएको देखिन्छ । ४६० कठ्ठा जग्गाको प्रतिकठ्ठा ६४ हजार ५ सय १५ औसत राजश्व रकम बुझाउँदा रकम ७४ करोड ८३ लाख, ७४ हजार रकम निगमले तिरेको देखिन्छ ।

स्थानीय वासिन्दालाई ८ लाखदेखि १० लाखसम्म प्रतिकठ्ठा जग्गाको मूल्य दलालहरुले दिएका छन् । यसको औसत ९ लाख हुँदा ४६० कठ्ठा जग्गाको ४१ करोड ७६ लाख रकम मात्रै स्थानीयले पाएका छन् । ७४ करोड ८३ लाख निगमको खर्च र किसानहरूले पाएको औसत मूल्य ४१ करोड ७६ लाखको अन्तर झण्डै ३३ करोड हुन आउँछ ।

निगमले दलालहरूसँग सेटिङ मिलाएर ३३ करोड रकम घोटाला गरेको देखिन आउँछ । राजमार्ग क्षेत्रमा ४० लाखसम्म प्रति कठ्ठा जग्गाको मूल्य परे पनि सो ठाँउमा भने स्थानीय जमिनदार (केही पाठक) हरुले जग्गाको भाउ बढ्न नदिएको स्थानीयको गुनासो थियो ।

धेरै जग्गा भएका जमिनदारहरूले घेरिएका साना-साना टुक्रा जग्गा भएका मानिसहरू पनि अत्यासिएका थिए । जग्गा बेच्ने मौका यही हो भनेर धमाधम जग्गा हुर्‍याउन तयार भए करीब ५० जना स्थानीय ।

खेतमा जाने बाटो समेत नभएको जग्गालाई ८ लाखदेखि १० लाखसम्म दिन आएपछि केहीमा खुसीको सीमा रहेन ।

स्थानीय रेशमप्रसाद भन्तनाले १० कठठा जग्गा १० लाखप्रति कठठामा बेचेर १ करोड रकम हात पारेका छन् । उनले भरतपुर महानगरपालिका ११ बसेनीमा १४ धुर जग्गा ५० लाखमा किनेका छन् भने रत्ननगर टाँडीमा डेढ कठ्ठा जग्गा किनेका छन् ।

मेयर प्रभा बराल भन्छिन्: आयल निगमसँग जवाफ माग्छु

राप्ती नगरपालिका वडा नः १ मा पर्ने माधवटारमा आयल निगमले जग्गा किन्न लागेको भन्ने कुरा केही साताअघि मात्रै मेयर प्रभा बरालले थाहा पाएकी रहिछन् ।

सो स्थानतिर घुम्न जाँदा लोथर खोलाको ड्याङलाई समेत सटाएर रिर्सोट सञ्चालन गर्न सके नगरपालिकाकै लागि खुसीको कुरा हुन्थ्यो भनेर स्थानीयसँग मेयर बरालले कुरा गर्दा उनले थाहा पाइन् कि यो जग्गा त आयल निगमले किनेको छ ।

आफूले सुनेलगत्तै मेयर बरालले यो घटनाप्रति चासो राखेको बताइन् । यतिका लामो घटना क्रम र स्थानीय जनतालाई समेत प्रभावित हुने गरी गरिएको कामका बारेमा कहीँबाट पनि सूचना नआउँदा उनले आश्र्चाय व्यक्त गरिन् ।

मेयर बरालले आयल निगमले सो स्थानमा पेट्रोलियम पर्दाथ भण्डारणको डिपो राख्दा सम्वन्धित स्थानीय तहको राय र सुझाव लिनुपर्ने कि नपर्ने भन्ने प्रश्न उठेको बताइन् । उनले भनिन् ‘हाम्रो नगरपालिका क्षेत्रभित्र कुनै उद्योग वा कुनै सार्वजनिक चासो र महत्वको विषयमा केही काम हुँदैछ भने नगरपालिका जानकारी राख्न हकदार छ कि छैन ? म तत्कालै वडाध्यक्षको राय मागेर निगमलाई पत्र लेख्छु ।’

मेयर बरालले अगाडि थपिन् ‘भोलि त्यो प्लान्ट स्थापना हुँदा त्यसले पार्ने सकारात्मक र नकारात्मक वातावरणीय प्रभाव, स्थानीयको स्वास्थ्य र जनसरोकार आदि विषयमा के हुने भन्नेबारे अध्ययन हुनुपर्दैन ? यो अमलेखगञ्ज होइन, लोथर र राप्ती नदीको खेतीयोग्य जमिन एवं बाक्लो आवादी भएको क्षेत्र हो ।’

सातवटै प्रदेशबाट ६७ करोड स्वाहा

सातवटै प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र खोल्न जग्गा खरिद गर्ने योजना मुताविक हालसम्म निगमले १ अर्ब ६१ करोड रूपैयाँको जग्गा खरिद गर्दा चल्तीको मूल्यभन्दा ६७ करोड रूपैया बढी तिरेर घोटाला गरेको पाइएको छ ।

आयल निगमको नेतृत्वको योजनाअनुसार तलदेखि माथिसम्म सबै सेटिङका भरमा जग्गा खरिदको योजना बुनिएको प्रस्ट देखिन्छ । आफैंले जग्गा दलालहरू खडा गरेर उनीहरु मार्फत स्थानीय एजेन्टहरु – जग्गा खोजिदिने, गएर कुरा गरिदिने) लाई प्रतिकठ्ठा ५० हजार रूपैयाँ दिने लोभमा आयल निगमले धान खाने खेतदेखि माछापोखरी, खोलाको जग्गादेखि भोलिका लागि अनुपयुक्त हुने जग्गा समेत उठाएको छ ।

निगमले जग्गा दलालसँग मिलेमतो गरी चल्तीकोे भाउभन्दा दोब्बर/तेब्बर बढी मूल्य तिरेर जग्गा खरिद गरेको छ ।

निगमले सातै प्रदेशमा इन्धन भण्डारण स्थल बनाउन करिब ६ अर्ब रुपैयाँ बजेट छुटाएर जग्गा खरिद प्रकृया अघि बढाएको हो । नियमले हालसम्म भैरहवा, चितवन, सर्लाही र झापामा गरेर करिब एक अर्ब ६१ करोड रूपैयाँको जग्गा किनिसक्दा करोडौं कमिसन नियमका पदाधिकारीदेखि स्थानीय जग्गा दलालसम्मको खल्तीमा पुगिसकेको छ ।

सरकारी स्वामित्वको निगमलाई पूर्वाधार तयार गर्दा सकेसम्म सरकारी जग्गा नै खोज्न निर्देशन दिए पनि निगमले धमाधम निजी जग्गा किन्दै कमिसन खाँदै आएको पाइएको छ ।

यो पनि पढ्नुस्

रोहिणीखोलामा आयल निगमको २० करोड डुब्यो, ‘अख्तियारका सम्धी’लाई कसले समाउने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment