Comments Add Comment

खाल्लेका जग्गाधनीको गुनासो – प्राधिकरणले बिना सूचना जग्गा अधिग्रहण गर्‍यो

१२ साउन, खोटाङ। नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी नै नदिई आफ्नो जग्गा अधिग्रहण गरेको भन्दै खाल्लेका जग्गा धनीले गुनासो गरेका छन् ।

जग्गा धनीलाई थाहै नदिई मनमाया राई खानीडाँडा विमानस्थल आसपासका व्यक्तिगत जग्गा प्राधिकरणले अधिग्रहण गरेको थाहा पाएपछि स्थानीय जग्गाधनीले जिल्ला प्रशासन कार्यालयमा गुनासो गरेका हुन् ।

रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा विमानस्थल आसपासमा रहेको स्थानीय शिव खत्रीको कित्ता नं ६८८ मा रहेको पाँच आना, भीमान राईको कित्ता नं ६९५ मा रहेको आठ आना, सम्पूर्ण राईको कित्ता नं ११३६ मा रहेको एक आना, गंगा राईको कित्ता नं ६९३ मा रहेको छ आना र लफ्याङका प्रदीप राईको कित्ता नं ११३४ मा रहेको छ आना जग्गा उनीहरुले थाहै नपाइ अधिग्रहणमा परेको पाइएको छ ।

कतिपयको जग्गा नियतबस कित्ता काट गरेरै अधिग्रहण गरेको उनीहरुको आरोप छ ।

जग्गा अधिग्रहणका क्रममा जग्गा धनीलाई कुनै जानकारी नदिई नागरिक उड्डयन प्राधिकरणका नाममा जग्गा पास गरिएको जग्गाधनी शिव खत्रीले गुनासो गरे । ‘विमानस्थल बनाउनका लागि हामीले निःशुल्क जग्गा दिएकै हो’, भने, ‘अझै चाहिन्थ्यो भने किन सुटुक्कै जग्गा अधिग्रहण गरियो ? सल्लाह गर्नुपर्छ कि पर्दैन ? स्वीकृति लिनुपर्छ कि पर्दैन ? हामीलाई ठूलो अन्याय गरिएको छ । अन्याय गर्नेलाई कारबाही हुनुपर्छ ।’

व्यक्तिको जग्गा अधिकरण दाखिल खारेजको निर्णयअनुसार जिल्ला मालपोत कार्यालयबाट असार २५ गते प्राधिकरणको नाममा पास गरेको पाइएको छ । आफ्नो जग्गा खोज्दै जग्गा धनीले आवाज उठाउन थालेपछि जग्गा अधिग्रहणमा परेको खुलासा भएको हो ।

अधिग्रहणका क्रममा सरसल्लाह नगरी नियतबस सुटुक्कै जग्गा अधिग्रहण गरिएको प्रजिअ प्रल्हाद पोखरेलसमक्ष जग्गाधनीले गुनासो गरेका छन् । व्यक्तिको जग्गा विमानस्थलको घेराबारा गर्नका लागि अधिग्रहण गरिएको हो ।

सरकारले अत्यावश्यक निजी जग्गा जग्गा धनीसँगको वार्ता र छलफलको माध्यमबाट मञ्जुरी लिएर मात्र अधिग्रहण गर्न सक्छ । तीन पटकसम्म गरिएको छलफलबाट पनि जग्गा अधिग्रहणका लागि स्वीकृति प्राप्त नभए कुनै राष्ट्रिय दैनिकमा ३५ दिने सूचना प्रकाशित गरी अधिग्रहणका लागि प्रक्रिया पुर्याउनुपर्नेमा एक पटकसम्म छलफल नगरी थाहै नदिई जग्गा अधिग्रहण गरिएको स्थानीय खगेन्द्र राईले बताए ।

जिल्ला मालपोत कार्यालयका प्रमुख कोपिला राईले भने जग्गा प्राप्ति ऐन, २०३४ अनुसार र प्रजिअ संयोजकत्वको मुआब्जा समितिको जग्गा दाखा पत्रअनुसार विमानस्थलका नाममा जग्गा पास भएको बताए ।

‘जग्गा अधिग्रहणका लागि प्राप्त आवश्यक सबै फाइलको आधारमा जग्गा पास गरिएको हो’, उनले भने, ‘जग्गा पास गर्नका लागि जग्गा धनीको लिखित मञ्जुरीनामा छ । हामीले सबै प्रक्रिया पुर्याएर मात्र जग्गा पास गरेका छौं । यसमा हाम्रो गल्ती छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment