बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

यूट्यूवमा तहल्का पिट्ने संगीतकार भन्छन्ः मेरा गीत गुन्द्रुक र ढिँडो जस्ता

एयरपोर्टको जागीर छोडेर संगीतमा राज

ध्रुव लम्साल

कुनै पनि नेपाली गीतका लागि यूट्यूवमा करोड भ्यूज पाउनु ठूलो सफलता मानिन्छ । रचनाकार, संगीतकार एवं गायक राजनराज शिवाकोटीले यस मामलामा ह्याट्रिक  गरेका छन् ।

युट्युबमा लगातार तीनवटा गीतले एक करोडको भर्‍याङ उक्लेपछि सिवाकोटीको बजार गर्माउँदो छ । ‘मलाई यस्तै शैलीको गीत चाहियो’ भन्दै उनीकहाँ धाउनेहरु बढेका बढ्यै छन् ।

शिवाकोटीको रचना, संगीत र स्वर रहेको चलचित्र ‘वडा नम्बर छ’ मा समावेश ‘सुर्के थैलि खै…’ बोलको गीत युट्युबमा एक करोड पटक हेरिएको पहिलो नेपाली गीत बनेको थियो । अहिलेसम्म यो गीतलाई अढाइ करोड पटक हेरिसकिएको छ । त्यसपछि ‘छक्का पञ्जा’ फिल्मको ‘पूर्व पश्चिम रेल’ ले पनि तहल्का पिट्यो । यो गीतलाई अहिलेसम्म १ करोड ६७ लाख पटक हेरिएको छ ।

पछिल्लो समय २ रुपैयाँ फिल्मको कुटुमा कुटु बोलको गीत बजारमा फेमस बनेको छ । यसले छोटो समयमा करोड भ्युज पाउने नेपाली गीतको रेकर्ड राख्यो ।

यसरी शिवाकोटीका लागि एक करोड भ्युज बटुल्नु ख्यालख्याल जस्तो भएको छ । आखिर उनी के जादू चलाइरहेका छन् ?

जादू लोकसंगीतको

यी संगीतकारको बुझाइमा उनका गीत हिट हुनुमा स्वर, शब्द र संगीत मात्रै सबथोक हैन ।

उनी भन्छन् ‘हरेक मान्छेलाई इतिहास पल्टाएर हेर्न मन लाग्दो रहेछ । शहरमा बसेर बर्गर, पिजा खाए पनि गाउँको गुन्द्रुक, ढिँडोको स्वाद मान्छेले बिर्सर्दा रहेनछन् । मेरा गीत पनि गुन्द्रुक र ढिँडो जस्तै हुन् ।’

सुर्के थैली, पूर्व पश्चिम रेल वा कुटुमा कुटु । दर्शकलाई एकपछि अर्को मन पर्दै जानुको कारण मौलिक लोक संगीत हो जस्तो लाग्छ उनलाई ।

‘लोक संगीतमा हाम्रो आफ्नै मौलिकपन छ । यसलाई सभ्यरुपमा प्रस्तुत गर्‍यो भने दर्शकलाई मन पर्ने रहेछ ।’ टाइसुट लगाएर अंग्रेजी बोल्नेहरुले पनि यी गीतहरु मन पराएको र आफ्ना सन्तानलाई पनि गीत सुन्न प्रेरित गरेको उनको अनुभव छ । पिकनिक स्पटदेखि विद्यालयमा हुने कार्यक्रममा समेत आफ्नो गीतले प्रशस्तै स्थान पाएको देखेर मख्ख छन् यी संगीतकार ।

नसोचेको सफलता

शिवकोटीले कहिल्यै सोचेको थिएनन् आफ्ना गीतले यति ठूलो किर्तिमान राख्लान् भन्ने । ‘दर्शकलाई मन पर्छ भन्ने विश्वास थियो तर, अढाई करोडले हेर्लान् भनेर सोचेको थिईनँ,’ उनले भने ।

युट्युवमा सार्वजनिक भएलगत्तै लगत्तै ‘सुर्के थैली खै…’ हेर्न दर्श उर्लिए । ९९ लाखवाट उँभो लागेपछि उनी इन्टरनेट सर्च गर्दै थिए । एकजना सञ्चारकर्मीले फोन गरेर सोधे, ‘तपाईको गीत एक करोडभन्दा बढी दर्शकले हेरेछन्, एउटा समाचार बनाउनु पर्ने भो ।’ त्यो सुनेर शिवाकोटी मख्ख परे र गीतको परिवेशवारे बोले ।

उनी भन्छन्, ‘एउटा बेग्लै खालको आनन्द अनुभुति भएको थियो ।’

डिमान्ड ह्वात्तै बढ्यो

कुनै वेला घरमै बसेर आफ्नै शैलीको म्युजिक कम्पोजिसनमा रमाउने राजनराजलाई अहिले फोन उठाउनै भ्याइनभ्याइ छ । जो आउँछन् उनीसँग लोकभाकाकै गीत माग्छन् ।

उनी हाँस्दै भन्छन्, ‘मैले थुप्रै लोक भाकाका गीत कम्पोज गरेर राखेको छु, त्यसैले टेन्सन छैन ।’

उनीसँग गीत लिनेले केही सर्त भने पालना गर्नै पर्छ । यदि कसैले शब्दमा थोरै परिवर्तन गर्न चाह्यो भने उनको पूर्व स्वीकृति लिनुपर्छ । आर्थिक पाटोमा पनि उनी अडिक हुन्छन् । उनी आफ्नो गीत- संगीतको मुल्य आफै तोक्छन् । त्यसमा टसमस हुन्नन् । चित्त बुझ्नेले दाम तिर्छ । चित्त बुझेन भने फर्किन्छ ।

संगीतका लागि अवसर

नेपाली संगीतका लागि उर्वर समय यही नै हो जस्तो लाग्छ शिवाकोटीलाई । ‘अहिलेका दर्शक/स्रोताले राम्रो गीतलाई झयाप्पै माया गर्छन् र माथि पुर्‍याइदिन्छन्,’ उनी भन्छन् ‘राम्रो गर्नेले मेरो गीत सुन्दिनुस् भनेर कसैलाई अनुनय गर्न जरुरी नै छैन ।’

उनको बुझाईमा दर्शक/स्रोताले यसरी माया गरिरहेको वेलामा स्रष्टाहरुले पनि आफ्नोपनलाई जतिसक्दो बढावा दिनुपर्छ । ‘सरलता, शिष्टता र परिपक्वता दिन सकियो भने नेपाली संगीत अझै माथि उठ्छ,’ उनी भन्छन् ।

यूट्यूबमा थुप्रै विदेशीले आफ्नो गीतमा नृत्य गरेको देखेका यी संगीतकारलाई लाग्छ ‘नेपाली गीतलाई विश्वब्यापी बनाउने यो अवसर पनि हो । नेपाली गीत दुनियाले मनपराउने संकेत देखिएको छ ।’

गतिलो जागीर छाडेर संगीतमा

शिवाकोटीलाई स्कुल पढ्दासम्म संगीतको बारेमा रत्तिभर ज्ञान थिएन । घरमा संगीतको माहोल पनि थिएन । बा, आमालगायत अन्य आफन्तले सुझाब दिए, ‘पहिला पढाइ पुरा गर्नु अनि राम्रो जागीर खानु ।’

परिवारका सदस्यको आग्रह मान्दै झोला बोकेर दोलखाबाट उनी काठमाडौं आए । त्यतिवेला उनको पनि उद्देश्य थियो, कलेज पढिसकेर राम्रो जागीर खाने ।

कलेज पढ्दै गर्दा जागीर भेटे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लेफ्ट राइट टर्मिनल बिल्डिङमा स्टोर र लेखा शाखामा काम गरे । जागीर राम्रै थियो । तत्कालिन समयमा राम्रो तलव पाउने मध्ये पर्थे उनी ।

उनले जागीर खाँदै गर्दा कुन्ती मोक्तानको माथी माथी शैलुङ्गेमा… हिट थियो । रेडियोमा खुब बज्थ्यो । निमा रुम्बा, नबीन के भट्टराईलगायतका गायकहरुको बजारमा हाई हाई थियो । घरमा भएको टेपरेकर्डमा उनीहरुकै गीत सुन्थे र गुन्गुनाउथे ।

गीत सुन्दासुन्दै उनलाई लाग्यो, पैसा त जे गरेर पनि कमाइन्छ । तर, मान्छे भएर जन्मेपछि मरेपछि सम्झने काम पनि गर्नुपर्छ बाबै । त्यसपछि उनले घरका मान्छेलाई थाहा नदिई खाइपाई आएको जागीर छाडे र डोरेमी संगीत पाठशालामा संगीतको कखरा सिक्न थाले ।

संगीतको औपचारिक ज्ञान लिएपछि कम्पोजिसनलाई निकै महत्व दिए । काठमाडौको भिडभाड उति मन पर्दैन थियो उनलाई । गाउँमा छँदा बन, जंगल चहारेका उनलाई काठमाडौ आएपछि ती परिवेशको झन् धेरै माया लाग्यो । फुर्सद पाउने बित्तिकै गाउँमै पुग्न थाले । गाउँमा बसेर केही कम्पोज गरे ।

लोक तेहरी हिट

०६० सालमा उनले पहिलो गीत रेकर्ड गरे, ‘मायाको आउने जाने बाटोमा…’ । सिंगल ट्रयाक बनाएर विभिन्न एफएम रेडियोलाई दिए र फेरी गाउँ गए । रेडियोमा उनको गीत हिट भएछ । केही मान्छेहरुले उनको खोजी गरेछन् । काठमाडौ आएलगत्तै आफ्नो खोजी भएको थाहा पाए । उनलाई लाग्यो ‘मेरो संगीत पनि चल्ने रहेछ है ।’

त्यसपछि लोक, पप विभिन्न विधामा संगीत कम्पोजिसन सुरु गरे । ०६१ सालमा एउटा दोहोरी गीतमा संगीत गरे र त्यसको एक वर्षपछि ‘पञ्चामृत’ भन्ने एल्बममा संगीत गरे ।

०६२ सालमा उनले लोकगीतमा एउटा नयाँ प्रयोग गरे, ‘लोक तेहरी’ एल्बम निकालेर । लोक दोहोरीका एल्बम धेरै आएको वेलामा उनले तेस्रो पक्ष पनि थपेर लोक तेहरी बनाए । ‘बार्ता गराइदेउ’ बोलको गीत थियो  । सुरुमा त कतिपय दर्शक कन्फ्युज भए, के हो लोक तेहरी भनेर । तर, गीत राम्रै चल्यो । एल्बम बजारमा आएको एक महिनामै गीत सुपरहिटको श्रेणीमा चढ्यो । शिवाकोटी भन्छन्, ‘लोक तेहरीले मेरो कन्फिडेन्स बढायो ।’

पहिलो कमाई

ढुक्कको जागीर खाइरहेका शिवाकोटी संगीतमा लागेपछि केही समय ‘गरिब’ भए । संगीतमा लागेको सिकारु केटालाई पैसा कमाउन गार्‍है थियो । ०६० सालमा पहिलोपटक एउटा गीत कम्पोज गरेवापत १५ सय पाए । पहिलो पटक यति पैसा संगीतबाट कमाउँदा उनलाई धेरै नै पाए जस्तो लाग्यो ।

त्यसपछि पैसा आउने क्रम बढ्दै गयो । उनले सोचे ‘ओहो, संगीत गरेर पनि पैसा कमाइदो रहेछ ।’ वार्ता गराइदेउ एल्बम चलेपछि भने दालभात संगीतबाटै चल्दोरहेछ भन्ने भेउ पाए ।

मेरा गीत नै ज्ञापनपत्र

देश र समाजप्रति थुप्रै गुनासा छन् उनका । तर, कहीँ पनि ज्ञापनपत्र बोकेर जान्न भन्छन् । उनी आफ्ना गुनासा र सन्देशहरु गीतबाट नै व्यक्त गर्छन् ।

काठमाडौवासीले पानी खान नपाएको प्रसंग समेटेर ‘काकाकुल झै भाको छ जीन्दगी’ बनाएका राजनराजले ‘खैनी चुरोट खान्छौ कि ओठै कालो छ’ भनेर पनि गीत बनाए ।

संविधानसभा चुनाव, बोक्सी प्रथा लगायत थुप्रै सामाजिक विषयमा गीत बनाएका छन् उनले ।

चार सय गीत चलेनन्

आजसम्म पाँच सयभन्दा बढी गीत सिर्जना गरेको शिवाकोटीले बताए । तीमध्ये चारसय भन्दा बढी गीत नचलेको उनको स्वीकारोक्ति छ । ‘धेरै राम्रा गीत पनि चलेनन्,’ उनले भने, ‘तर, मेरो कुनै गुनासो छैन ।’

२०७४ साउन १८ गते १४:३५ मा प्रकाशित (२०७४ साउन १९ गते १२:१०मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this