Comments Add Comment

सुरक्षाकर्मीको पहलमा खुल्यो हुलाकीमार्ग

१ भदौ, कोहलपुर । बाढीले भत्काएको बाँकेको हुलाकी मार्ग आंशिक रुपमा सञ्चालनमा आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवान तथा अधिकृतहरुले सडक मर्मत गरी सञ्चालनमा ल्याएका हुन् ।

सदरमुकाम नेपालगन्जबाट बगौडा क्षेत्र जोड्ने हुलाकी मार्ग बाढीका कारण शुक्रबार रातिदेखि अवरुद्व थियो । राजमार्ग अवरुद्व भएपछि राप्तिपारीका नरैनापुर र राप्ति सोनारी गाउँपालिकाका बाढी पीडितरुलाई समयमै उद्दार र राहत पुर्‍याउन समस्या भएको थियो । तर सुरक्षाकर्मीहरुले बुधबारबाट सडक मर्मत गरेर यातायातका साधन गुड्न सक्ने बनाएपछि आवत-जावत गर्न सहज भएको छ ।

यसैगरी राप्ती नदीले कटान गरेको क्षेत्रमा सुरक्षाकर्मीहरुले बोरामा बालुवा र माटो भरेर सडक मर्मत गरेका छन् । अहिले आंशिक रुपमा राजमार्ग खुलेपनि मर्मत कार्य भने जारी रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

त्यस क्षेत्रमा बिहीबार थप मर्मत गरेपछि ठूला गाडीहरु समेत चल्ने बताइएको छ । पाँच दिनदेखि अवरुद्व सडक खुलाउन ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटिएका थिए ।

नेपालगन्जदेखि राप्ती पुलसम्म निर्वाध रुपमा साना तथा ठूला सवारीका साधन सञ्चालन आउने गरी सडक मर्मत गरिएपनि राप्ती पुलदेखि फत्तेपुरको मेहनमानपुरसम्म भने ठूला सवारी साधन अझै सञ्चालनमा आउन सकेका छैनन् ।

अवरुद्व राजमार्ग मर्मत गर्न नेपाल प्रहरीका १०५ जना, सशस्त्र प्रहरीका १०९ जना र नेपाली सेनाका १०७ जना गरी कुल ३२१ जना सुरक्षाकर्मीहरु परिचालित थिए ।

सडक मर्मत गरिरहेका सुरक्षाकर्मीहरुलाई हौसला दिन क्षेत्रिय प्रशासक महेन्द्र प्रसाद गुरागाई, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, सशस्त्रका प्रहरीका एआईजी नारायणबाबु थापा, नेपाल प्रहरीका एआइजी विजय कायस्थ, जिल्ला समन्वय कार्यालयका हरी प्याकुरेललगायतका सुरक्षा अधिकारीहरु राजमार्ग स्थलमा पुगेका थिए ।

सुरक्षाकर्मीसँगै माओवादी केन्द्रका सचिवालय सदस्य महेश्वर गहतराज अथक र केन्द्रीय सदस्य कृष्णा केसी नमूनासहितको टोली पनि खटिएको थियो ।

सडक मर्मतका लागि जल उत्पन्न प्रकोप कार्यालय नेपालगञ्जको दुई हजार बोरा, ग्याभिंग जाली, गणपति गुप्र अफ कम्पनीको १ स्काभेटर, १ जेसिभी र नेपाल प्रहरीको १ स्काभेटर प्रयोग गरिएको थियो ।

– संगिन शर्माबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment