Comments Add Comment

प्राधिकरणका कर्मचारीलाई मन्त्रीको निर्देशनः कोठा-कोठाको भान्छा बन्द गर्नुस्


१ भदौ काठमाडौं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपाल विद्युत प्राधिकरण काम नगर्ने कर्मचारीको लिस्ट तयार भएको बताएका छन् । उनले भाषण मात्रै गर्ने र काम नगर्ने प्रवृत्तिलाई अब अन्त्य गर्ने बताएका छन् ।

विद्युत प्राधिकरणको ३२ औं वाषिर्कोत्सव समारोहमा मन्त्री शर्माले ट्रेड युनियनका कर्मचारीलाई भाषणमा भन्दा काममा केन्दि्रत हुन निर्देशन दिए ।

 

ट्रेड युनियनका आडमा कैयन कर्मचारी वर्षौंदेखि राजनीतिमा मात्रै केन्द्रित भएको र यसले संस्थालाई ठूलो क्षति भएको उनको भनाइ थियो । ‘कर्मचारीले काम गर्ने हो, ठूला-ठूला भाषण गरेर हिड्ने होइन’ काम गर्न निर्देशन दिँदै उनले भने ।

ट्रेड युनियनका पदाधिकारी काम छाडेर कर्मचारी सरुवाका लागि हिड्ने गरेको उनको आरोप छ । ‘दलालहरु कर्मचारीको सरुवा र अर्काको कुरा लिएर आउँछन्, त्यस्ता दलाललाई मेरो मन्त्रालयमा निषेध गरिएको छ,’ मन्त्री शाहीले भने ।

फिटिक्कै काम नगर्ने कर्मचारीको सरुवाका लागि लिस्ट तयार भएको उनले जानकारी दिए । कुन-कुन भेगमा कसलाई पठाउने भन्ने लिस्ट तयार भएको भन्दै उनले सरुवाका लागि तयार रहन कर्मचारीहरुलाई निर्देशन दिए ।

प्राधिकरणका कोठे भान्छा बन्द गर्न निर्देशन

मन्त्री शाहीले विद्युत प्राधिकरणका विभिन्न शाखा र कर्मचारीहरुको कोठा-कोठामा रहेका भान्छा बन्द गर्न निर्देशन दिए । एउटा शाखामा मात्रै क्यान्टिन हुनपर्ने र कोठा-कोठामा आफ्नो अनुकुल किचेन राख्न नपाइने उनले बताए ।

एउटै कार्यालयमा भएका धेरै भान्छाले ठूलो मात्रामा विद्युत खपत गर्ने खर्च पनि बढ्ने भएकाले तत्काल बन्द गर्न उनले निर्देशन दिए ।

‘खानेपानी राख्नुस् र अफिस सफा राख्नुस् ‘

प्रत्येक विद्युत महसुुल बुझाउने काउन्टरमा खानेपानीको व्यवस्था गर्न पनि उनले निर्देशन दिएका छन् ।

प्राधिकरणका कार्यालयहरु फोहोर भएको भन्दै उनले यसलाई सफा गर्नका लागि पनि निर्देशन दिए । उनले भने, ‘पान खाएर प्याच्च थुकेका फोहोरहरु त्यत्तिकै छन्, तत्काल कलर गर्नुस् । मैले कार्यालयहरुमा त्यस्तो फोहोर देख्न नपरोस् । ‘

हटलाइनको फोनहरु तत्काल उठाउन पनि उनले निर्देशन दिए । साथै मन्त्रालय समक्ष जनताको गुनासो तत्काल आओस् भन्नका लागि आफूले ४ वटा हटलाइन सेवा समेत सञ्चालनमा ल्याउन लागेको उनले जानकारी दिए ।

मिटर जडान गर्नका लागि प्राधिकरणका कर्मचारीले ढिलो गरेको गुनासोहरु मन्त्रालयमा आएको मन्त्री शाहीले जानकारी दिए । शाहीले भने, ‘मिटर जडान गर्न कति दिन लाग्छ मलाई स्पष्ट भन्नुहोस्, जनतलाई झुलाउने काम नहोस् अब त्यस्तो भएको गुनासो आयो भने तत्काल कारवाही हुन्छ ।’

ट्रान्सर्फमर पड्के शाखा प्रमुखलाई कारवाही

उर्जामन्त्री शाहीले विद्युत ट्रान्सर्फमर पड्कनुमा कर्मचारी नै दोषी रहेको बताए । लापरबाहीपूर्ण तरिकाले ट्रान्सर्फमर जडान गरेकै कारण पड्किने गरेको उनको दाबी छ ।

मन्त्री शाहीले अब ट्रान्सर्फमर पड्केको ठाउँमा के कसरी पडि्कयो भनेर छानबिन हुने बताए । उनले भने, ‘अब ट्रान्सर्फमर पड्कियो भने त्यहाँको अध्ययन हुन्छ, कर्मचारीको दोषले पड्किएको पाइयो भने कार्यालय प्रमुखमाथि कारवाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment