Comments Add Comment

अबको १० वर्षमा तराईमा ‘पानीयुद्ध’ हुन सक्छ !

मधेस स्वर्गजस्तै थियो, यसरी हुँदैछ सखाप

तराईमा बाढी के कारण आयो ? यसका धेरै कारण होलान् । पानी धेरै पर्‍यो भन्ने होला । तर, मेरो विचारमा यसको मुख्य कारण हो, जंगल सखाप हुनु । र, त्यो पनि चुरिया (चुरे पहाड)मुनिको तराईको जंगल ।

पहिले पहाडका मान्छे हिउँदमा जाडो छल्न तराई झर्थे । आलीमा बसेर धान कटाउँथे । मुरई खान्थे, खोर्सानी टोक्थे र घाम ताप्थे । तर, अब त तराईमा शीतलहर चल्छ किनकि जंगल सखाप भयो । ०६२ सालको आन्दोलनका बेला तराईमा बस्दा मैले १५ दिनसम्म सूर्यको रोशनी नै देखिनँ ।

तराईमा १० वर्षयता शीतलहर चलिरहेको छ । स्पष्ट छ- जुन क्षेत्रमा जंगल छैन, त्यहाँ पानी पर्दैन । पूर्वी तराईमा सबैभन्दा सुख्खा इलाका भनेको वीरगञ्जदेखि सप्तरीसम्म हो । जहाँ जंगल बाँकी छ, त्यहाँ पानी पर्छ । तपाईं स्पष्ट देख्नुहुन्छ, ढल्केबरभन्दा तल्लो भेगमा वर्षात् कम हुन्छ । जहाँबाट जंगल सुरु हुन्छ, बर्दिबासबाट अगाडि बढ्नोस्, त्यता पानी परिरहेको हुन्छ ।

जनकपुरमा मैले ०३७ सालमा घर बनाउँदा ४० फिट खन्दा पानीको सतह भेटियो र पम्प गाडियो । जबकि, ०१८/२० सालतिर त पम्प गाड्नै पर्दैनथ्यो, खोस्रिदा पनि पानी आउँथ्यो ।

जतिबेला म १०/१५ वर्षको थिएँ, पढाइ लेखाइ छाडेर, बरालिएर गाईभैंसी चराउन जान्थें । त्यसबेला बाँसका आँख्लाहरु भित्रबाट फुटाएर सोझै जमिनमा गाड्यो भने पानी आउँथ्यो ।

म ०२० सालमा काठमाडौंमा आएँ, त्यतिबेलासम्म जनकपुरको हाम्रो घरमा पोखरीको डिलमा अढाइ इञ्चको पाइपबाट २४ घण्टा पानी आउँथ्यो । ०२४ सालमा काठमाडौंबाट कोलकाता गएँ, त्यसबेलासम्म ठीकै थियो । नौ वर्ष बसेर पढेँ र ०३६ सालमा जनकपुरमा चिकित्सकको अभ्यास सुरु गरेँ । अर्को वर्ष घर बनाएँ, पानी ४० फिटको सतहमा झरेको थियो ।

म राष्ट्रपति भएपछि करिब ६ वर्षअघि छोरी अनिताले जनकपुरको घरमा पम्प सुक्यो भनिन् । त्यहाँ काठको घर छ । उनले त्यसलाई मर्मत गरिन् । त्यसबेला आँगनमा पाइप गाड्दा दुई सय ८० देखि दुई सय ९० फिटमा पानी आयो । राष्ट्रपतिको कार्यकाल सकिएपछि मलाई भेट्न आउने मानिसले सुनाइरहेका छन्, जनकपुरमा चार सयदेखि सवा चार सय फिटमा मात्रै पानी आइरहेको छ । पानीको सतह निरन्तर तल झर्नुको मुल कारण जंगल सखाप हुनु नै हो ।

उहिलेको मधेश स्वर्गजस्तै थियो

म अहिले ७५ वर्षमा हिँडिरहेको छु, पछिल्लो ६४ वर्षयताको तराईलाई मैले हेरेको, देखेको र भोगेको छु । त्यसबेला तराई स्वर्ग थियो ।

म स्पष्ट भन्छु, सचिवदेखि राजनीतिकर्मी, मन्त्रीहरु सबैको क्रसर उद्योग छ । जस्तो मेडिकलको जालो भनिरहनु भएको छ, त्यस्तै जालो छ । कमिसनतन्त्र छ

हो, सञ्चार प्रणालीको विकास भएको थिएन । पहाडका मानिस पैदल तराई झर्थे । तराईका मानिस पशुपति दर्शन गर्न पनि हिँडेरै आउनुपथ्र्यो । पहाडमा गोरेटो र घोडेटो अनि तराईमा बयलगाढा वा हात्ती घोडाको सवारी चल्थ्यो । तर पनि, तराई स्वर्ग नै थियो ।

म जतिबेला १२/१५ वर्षको थिएँ, तराईमा मलेरियाको प्रकोप चर्को थियो, पहाडका मानिस तल र्झन डराउँथे । भित्री मधेस, चुरिया र तराईको बीचमा थारु र जनजातिहरु बस्थे । त्यसभन्दा तल खेतीबारी गर्ने हाम्रा पूर्खाहरु बस्थे ।

त्यसबेला तराईमा पानीको कुनै कमी थिएन । अन्नबाली पर्याप्त हुन्थ्यो । त्यसबेला तराईमा पानी अन्न र फलफूलको भण्डार थियो । कुनै पनि वस्तु किन्नु नपर्ने । सबै आफैंसँग हुन्थ्यो । भारत भर्खर स्वतन्त्र भएको थियो, उत्तरी भारतभन्दा हाम्रो अवस्था मजबुत थियो । हाम्रोबाट अन्नबाली उता निर्यात हुन्थ्यो ।

चुरियाको बाक्लो जंगलले त्यहाँको माटोलाई अँठ्याएर राखेको थियो । पानी पर्दा जमिनले सोस्थ्यो र जमिनमुनि ‘चार्ज’ हुन्थ्यो । त्यही भूमिगत पानी पोखरीमा भरिपूर्ण हुन्थ्यो । खाल्डाखुल्डी भरिएका हुन्थे । पाँच महिनासम्म त मान्छे माछा मात्र खान्थे र ती धान खेतमै पाइन्थे । अहिले धानखेतमा माछा देख्न सकिँदैन । पोखरीमा माछा पालेन भने अन्यत्र पाइँदैन । त्यसबेला त गरीबका लागि पनि माछा सहजै उपलब्ध हुन्थे । आवश्यकताभन्दा बढी भएका माछा बिक्री गरेर आम्दानी पनि लिन्थे ।

चुरियाभन्दा तल पर्छ, चारकोशे झाडी । सबैभन्दा साँघुरो ठाउँमा चार कोश अर्थात् आठ माइल थियो भने धेरैमा १० कोशसम्म फैलिएको थियो । जनकपुरभन्दा १० किलोमिटरमाथि मेरो घर छ, जहाँबाट केहीमाथि जंगल थियो । बर्दिबास र ढल्केबरमा त बाक्लो जंगल थियो । मलाई कृष्णप्रसाद भट्टराईले कहानी सुनाउनुहुन्थ्यो- ००३ सालमा उहाँ, बीपी कोइराला र केदारमणि दीक्षित कपिलेश्वरमा खाना खाई भेष बदलेर महोत्तरी हुँदै सिन्धुली, काभ्रे हुँदै काठमाडौं पुग्नुहुन्थ्यो । त्यसबेला बर्दिबासको जंगलमा अँध्यारो भएर दिउँसै लालटिन बाल्नुपथ्र्यो ।

मैले देख्दा नै ढल्केबरभन्दा तल अहिले जहाँ कृषि र्फम छ, त्यहाँसम्म बाक्लो जंगल थियो । राजमार्ग बनेको थिएन । चुरिया बचाउन त्यसबेला मध्यवर्ती क्षेत्र -बफर जोन)का रुपमा चारकोशे झाडी थियो । तराईका मानिससँग धेरै गाईवस्तु थिए । उनीहरु ६ महिना त्यही जंगलको छेउमा बस्थे । परिवारका सदस्यहरु गोठालाहरुलाई लिएर जंगलका छेउमा बस्थे । ६ महिना तल्लो भेगमा खेतीपाती गरिन्थ्यो ।

तराईमा पानी त त्यसबेला पनि पथ्र्यो, बाढी पनि आउँथ्यो । तर, कोशी र वागमतीमा मात्रै बाढी आउँथ्यो । तर, कमला नदीको बाढीले धेरै क्षति गरेको हामीले सुनेनौं । तराईमा खोलाले पहाडबाट मलिलो पाँक माटो ल्याएर फाल्थ्यो र झनै दुई मनको साटो ४/५ मन धान फल्थ्यो ।

पानी पर्‍यो भने पनि त्यो ‘च्यानलाइज्ड’ हुन्थ्यो र तलतिर जान्थ्यो, अहिलेजस्तो बबण्डर हुन्थेन । अहिले बाढीबाट एक सय २८ जनाको मृत्यु भइसकेको छ, ३०/३५ जना हराइरहेका छन् । शुक्रबार, शनिबार र आइतबार तीन दिनको वर्षाले डेढ सयको ज्यान गएको छ । फेरि, यस पटक हिमाल र पहाडमा धेरै वर्षा भएन, चुरे इलाकामै बढी भयो । पहिले तराईमा यस्तो हुँदैनथ्यो ।

तपाईंहरुले तराईमा प्रयोग हुने सतहिया शब्द सुन्नुभएको होला । सात दिनसम्म लगातार पानी पर्ने भएकाले सतहिया भनिएको हो । त्यसबेला १५ दिनसम्म पानी पर्ने भएकाले वस्तुभाउका लागि सुकेको पराल र खाना पकाउने दाउरा जोहो गरेर राखिन्थ्यो ।

म किन यो भनिरहेको छु भने त्यसबेला तराईमा जंगल थियो र चुरियामा पनि । पानी पर्‍यो भने ‘च्यानलाइज्ड’ भएर जान्थ्यो । ठूला नदी वागमती र सप्तकोशीमा मात्रै बाढी आउँथ्यो । कमलाको बाढीले १० गाउँ डुबायो भनेको सुनेको थिइनँ । खहरे त थियो तर पानी आउँथ्यो, सुक्थ्यो । अहिले जंगलजति सखाप भइसक्यो र चुरियामाथि आक्रमण भइरहेको छ । पानी पर्दा चुरियाको कमलो माटो, गिटी र ढुंगा बगाएर तल खहरे खोलामा जान्छ ।

हाम्रो भूमि कमजोर छ, हामी भूकम्पीय जोखिमको क्षेत्रमा छौं । त्यसमा पनि हिमाल र महाभारतको पछाडि एउटा इलाका छ । र, त्यो एकदमै नाजुक (फ्रेजाइल) छ । त्यसभन्दा तल अन्न भण्डार छ, जसलाई ‘राइस बल’ भन्दा पनि हुन्छ । लगभग २५ प्रतिशत भूभाग तराईको छ, जहाँको अन्नले सम्पूर्ण देशलाई खुवाएर पनि हामी निर्यात गरिरहेका थियौं, ३० वर्ष पहिलेसम्म । अहिले पढ्दैछु, चामल मात्रै एक वर्षमा मात्र २५ अर्बको आयात भएको छ ।

म वैज्ञानिक हैन, आफ्नो अनुभव सुनाएको हुँ

वैज्ञानिक भाषा वैज्ञानिकहरुलाई सोध्नुहोला तर मैले देखेको आफ्नो अनुभवको कुरा गरिरहेको छु । म ‘मेडिसिन’को मान्छे, मलाई कसरी आयो त चुरिया संरक्षणको कुरा ?

मैले राष्ट्रपति हुने. सौभाग्य पाएपछि सम्पूर्ण देश घुमें । म के भन्छु भने जसले देशको भूगोल र इतिहास बुझ्दैन, देशको राजनीतिको उतार-चढावको इतिहास बुझ्दैन, आफ्नो भूराजनीति बुझ्दैन, यो क्षेत्र नै बुझ्दैन, त्यसले यो देशको विकास योजना पनि बुन्न सक्दैन ।

म घमण्ड गर्दिनँ तर मधेसमा जन्मेर, सम्पूर्ण देश घुमेर मैले आफ्नो जीवनको गोरेटो हिँड्ने क्रममा यो अनुभव गरेको हुँ । र, तपाईहरुलाई त्यही अनुभव बाँडेको हुँ ।

म यही काठमाडौंमा ५४ वर्षअघि पढ्न आउँदा यहाँ गाउँजस्तै थियो । हराभरा र सुन्दर थियो । वाग्मती सफा थियो । कञ्चन नदी बगिरहन्थ्यो । काठमाडौंमा जाडोले सताउँथ्यो । म सुन्धारा र झोंछेंमा बस्थें, जाडोका कारण हामी महिनौंसम्म नुहाउँदैनथ्यौं । सुन्धारामा नुहाउन जान्थ्यौं । जुम्रा परिहाल्थ्यो ।

अमृत साइन्स क्याम्पसको होस्टेलमा बस्दा बालाजुको बाइसधारामा नुहाउन जान्थ्यौं । महिनादिनमा कपडा धुन जान्थ्यौं । त्यसबेला नुहाउन मुस्किल थियो, अहिले जाडो याममा पनि काठमाडौंमा तराईको जस्तै गर्मी छ । यसका अनेक कारण हुन सक्छन् । यसबारेमा वैज्ञानिकहरुसँग सोध्नुहोला तर मैले साधारण तरिकाले आफ्नै जीवनकालमा देखिरहेको छु, तराईको जंगल समाप्त भयो, अहिले चुरियाको जंगल र जमीनमाथि आक्रमण भइरहेको छ ।

तपाईहरुलाई भन्न चाहन्छु, म त एउटा कृषक परिवारमा जन्मेर चिकित्सक भएँ, प्रजातन्त्रप्रति समर्पित थिएँ । ०१७ सालको घटना मेरै सामुन्नेमा भयो । लोकतन्त्रका लागि योगदान गर्दै राजनीतिमा गएँ । त्यसपछि जनताको आशिर्वादले राष्ट्रपति भएँ । त्यसले गर्दा मलाई लाग्यो, मैले अब चुरे संरक्षणको कुरा उठाउनुपर्छ ।

हाम्रो भूमि स्वर्गजस्तै छ, यसलाई बचाएर राख्नुपर्छ । प्रकृति भनौं वा भगवानले, जे जस्तो दिएको छ, यसलाई बचाएर राख्नुपर्छ । पहाडमा रुख काट्यो भने पहिरो जाँदोरहेछ भन्ने अलि पहिल्यै बुझे । तर, अहिले फेरि पहाडमा डोजर चलाइरहेका छन् । यसले विकास त भयो तर वातावरणमैत्री विकास होइन यो ।

चुरियाको माटो बचायो भने त्यहाँको पानी बच्छ, जंगल बच्छ । जंगल बच्यो भने पानीको स्रोत बच्छ । चुरेदेखि तल भारतको सीमासम्म जल रह्यो भने मात्रै जीवन रहन्छ । त्यसैले हामीले भौतिक रुपमै यो जमीनलाई बचाउनुपर्छ ।

उताबाट विहारी आए, यता पञ्चले नागरिकता बाँडे

पञ्चायतकालमा हाम्रो जिल्लाका हेमबहादुर मल्ल मन्त्री थिए । मधेशबाट उनीहरु पति-पत्नी दुवैले जितेका थिए । त्यसबेला म ‘मेडिकल प्राक्टिस’मा थिएँ । उनले भन्थे, ‘ए यादवजी जंगलमा जानोस्, सखुवा काटेर ल्याउनोस् । जंगल प|mी छ, ल्या न ।’

एकदिन म क्लिनिकमा बसिररहेको थिएँ । मेरो भतिजो नाता पर्ने आयो । उसले सीमापारि बयलगाडामा सखुवाको काठ लगेर बिक्री गरी फर्केको बतायो । उसले जम्मा जम्मी डेढ/दुई सय रुपैयाँमा काठ बेचेको थियो । अहिले त्यति काठको दाम कम्तिमा एक लाख पर्ला ।

तराईको जंगल मासिएको मैले आफ्नै आँखाले देखेको । हाम्रो तराईमा पर्ने पहाडी क्षेत्रमा तामाङहरु बढी छन् । सिन्धुलीदेखि मकवानपुर, काभ्रे, सिन्धुपाल्चोकतिर तामाङहरु बढी छन् । त्यसैगरी मगरहरु पनि छन् । म राजमार्ग बनेका बेलाको कुरा बताउँदैछु ।

हामीले गाईवस्तु चराउन आउने माथितिरको जंगलमा पहाडका तामाङ र मगरहरु जंगल फाँड्दै बस्न थाले । त्यहीबेला विहारमा बाढी आयो । डुबिने त्रासले त्यताका मानिस यता आउन थाले ।

यतातिर पञ्चहरु थिए । उनीहरुले सिफारिस गर्ने अनि नागरिकता दिने । मन्त्रीले नै तिनीहरुलाई नागरिकता देउ भन्ने । किनकि, उनलाई त त्यहाँबाट भोट लिनु थियो । हाम्रा जिल्लामा हेमबहादुर मल्ल र भोला झाजस्ता मान्छे थिए । उनीहरुमध्ये कोही जंगलमन्त्री हुन्थे, कोही के मन्त्री हुन्थे । उनीहरुले भनेर उतातिरका मान्छेलाई प्रधानपञ्चले सिफारिस गर्ने अनि नागरिकता बाँड्ने काम भयो । सिफारिस भने प्रधानपञ्च या मन्त्रीले नै गर्ने ।

नागरिकता पाइसकेपछि उनीहरुले बिचरा गरीब मगर र तामाङहरुले २/३ वर्ष लगाएर फाँडेको जमीन किन्न थाले । यसरी जग्गा बेचेपछि ती तामाङ र मगरहरु अर्को ठाउँमा सरेर फेरि जंगल फाँड्दै जाने । यसप्रकारले तराईको जंगल फाँडियो ।

पञ्चायतकालमा जनमत संग्रहका बेलामा सबैभन्दा बढी जंगल फाँडियो । बहुदलका बेलामा पनि राम्रोसँग व्यवस्थित भएन । यो २० वर्षमा चुरियामा बालुवा र ढुंगा खत्तम पारेर क्रसर उद्योगको जालो बिच्छ्याइयो । त्यसैले गर्दा अहिले सारा कुरा बर्बाद भइरहेका हुन् ।

मेरो जिन्दगीको ५० वर्षमा तराईको जंगल सखाप भयो । झापा, मोरङतिर अलिकति बाँचेको छ । सप्तरीदेखि यता तराईतिर जंगल नै छैन । जनमतसंग्रहका बेलामा म जनकपुरमा ‘डाक्टरी प्राक्टिस’ गर्थें । र, बहुदललाई कसरी जिताउने भनेर प्रचारमा जान्थेँ । त्यसबेलासम्म जंगल थियो । तर, पञ्चायतको अन्त्यतिर जंगलमाथि एकदमै आक्रमण भयो ।

बहुदलमा अलिअलि गर्‍यौं तर राम्रो व्यवस्थापन भएन । त्यसपछि सशस्त्र द्वन्द्व र गणतान्त्रिक कालको २० वर्षमा तराईको जंगल सखाप नै भयो, चुरियामा धेरै ठूलो आक्रमण भयो । किनकि, राजमार्ग बन्यो र पहाड- तराई दुवैतिरबाट बसाई सराई भयो । राजमार्गको दुवैतिर बस्ती बस्यो र बजार बन्यो ।

जंगलको फँडानी ! नदीको कटानी !

गर्मीका बेला राजमार्ग आसपासमा पानीको अभाव सुरु भइसकेको छ । गत वर्ष महोत्तरीको उत्तरी भेगका सात वटा गाउँमा पानीको अभाव सुरु भयो । यसपालि पनि सुनें, सिरहा, सप्तरीतिर पनि अभाव सुरु भइसक्यो । यस्तै हो भने अबको १० वर्षमा तराईमा पानीका लागि लडाइँ हुन्छ

३/४ वर्षअघि राप्ती, बबईमा बाढी आएको थियो । दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलालीतिरका बस्तीहरु डुबेका थिए । त्यसबेला म त्यहाँ गएको थिएँ । त्यहाँका थारु बन्धुहरुले महत्वपूर्ण कुरा सुनाए । उनीहरुले भने, ‘ए राष्ट्रपतिजी, जंगलको फँडानी ! नदीको कटानी ! खेतको पटानी (बालुवाले ) ! उर्बर भूमि जम्मै बालुवाले छोपिदियो । अब अन्नपात मुस्किल हुन थाल्यो ।’

मैले पत्रिकामा पढिरहेको छु, चार लाख मान्छे रौतहटमा मात्रै प्रभावित छन् । चन्द्रनिगाहपुर र रौतहटको जुन मुख्य कालोपत्रे सडक छ, त्यो टुटेर त्यहाँ रबरको नौकामा बसेर मान्छे पार गरिराखेका छन् । गौर पूरै डुबेको छ । झापादेखि कञ्चनपुरसम्म पूरै प्रभावित भएको छ । यसमा पनि बर्दियासम्म बढी प्रभाव परेको छ । उहिले मैले तराईमा बाढीका कारण यतिधेरै मान्छे डुबेको र मरेको बहुतै कम सुनेको थिएँ ।

यसको मुख्य कारण मैले भनिसकें, मध्यवर्ती क्षेत्रका रुपमा रहेको तराईको जंगल सखाप भयो । र, अहिले चुरियाको जंगल समाप्त भइराखेको छ । चुरियाको जगै खन्ने काम भइराखेको छ । हामी भन्छौं यो राष्ट्र बनाउँछौं । तर, भगवानले दिएको जमीन, जंगल र पानी नै हो । चुरेको जमीन कमजोर छ, त्यसलाई बचाउन त्यसकोमुनि भगवानले जंगल दिएका हुन्, जुन मासिइसक्यो ।

सोही कारण जब पानी पर्छ, चुरेको फुसफुसे माटो बगेर जान्छ । र, बालुवा, ढुंगा, गिटीलाई नदीले बगाएर लैजान्छन् अनि पानीले तराईको बस्ती डुबाउँछ । खेतमा बालुवा र माटो थुपि्रन्छ ।

मन्त्रीसम्मै सेटिङ छ, ढुंगा, गिटी भारत जान्छ

अहिले राजमार्ग क्षेत्रमा क्रसर उद्योगहरु खुलेका छन् । हाम्रो देशमा मात्र होइन, भारतसम्म यस्तै छ । यसमा सबैको मिलोमतो छ । स्थानीय प्रशासन, राजनीतिकर्मी, दुई नम्बरी व्यापार गर्नेदेखि सबैको भाग छुट्याइएको छ ।

जिविसले नदी नै ठेक्कामा लगाउँछ, जसको सतहबाट गिटी र बालुवा उठाए त ठीकै छ तर त्यसमा गुणस्तर हुँदैन । त्यसपछि उसले राजमार्गमाथिको चुरिया पहाड खोसि्रन्छ । चुरियाको जग नै खनेपछि भासिन्छ र नदीमा बालुवा, गिटी जान्छ र नदी भरिन्छ । जंगल फँडानी र चुरियाको उत्खननले नदीको सतह पुरिन्छ र राजमार्गको पुलमुनि बालुवा जम्छ । फेरि बालुवा खोसि्रएर लैजान्छ । त्यसले पुलहरु भासिन्छन् ।

सरकारले कानुन बनाउँछ, लागू हुँदैन । म स्पष्ट भन्छु, सचिवदेखि राजनीतिकर्मी, मन्त्रीहरु सबैको क्रसर उद्योग छ । जस्तो मेडिकलको जालो भनिरहनु भएको छ, त्यस्तै जालो छ । कमिसनतन्त्र छ ।

अहिले पनि हाम्रो देशमा ७० प्रतिशत कृषक परिवार छन् । त्यसैले पानी जरुरी छ । हामी मौसमी क्षेत्रमा पनि छौं तर भूबनोट (माटो) कस्तो छ भने अघि नै भनेँ भूकम्पीय, नयाँ पहाड, नाजुक क्षेत्र र त्यो पनि पहाड र तराईको बीचको कमजोर पहाड । प्रकृतिले सुसज्जित गरेर, बचाएर राख्नु भनेर दिएको यो भूमि हामीले अव्यवस्थित ढंगले बालुवा, गिटी, ढुंगा खनेर आफ्नो देशमा मात्र होइन, सीमापारि पनि पठाइरहेका छौं ।

द्वन्द्वका कारण धेरै बेरोजगार भए र पछिल्लो २० वर्षमा तराईकै धेरै मानिस विदेश गए । उनीहरु कमाएर आउँछन् र कंक्रिटकै घर बनाउँछन् । त्यसलाई पनि बालुवा, गिटी, ढुंगा चाहिन्छ । सडकलगायत विकासको काममा पनि आवश्यक हुन्छ । तर, दुई नम्बरी व्यापारीले पारि पुर्‍याइरहेका छन् ।

अबको १० वर्षमा पानीयुद्ध हुन सक्छ

यही रफ्तारमा चुरियाको उत्खनन् हुन्छ, जंगल फँडानी हुन्छ र बालुवा, गिटी अवैज्ञानिक तरिकाले खनिन्छ भने निकट भविष्यमै भयावह परिणाम आउन सक्छ ।

हामी सबैलाई थाहा छ, हाम्रो देश हिमाल, पहाड र तराईको भूगोलबाट बनेको छ । पहाड र तराईको बीचमा सिवालिक क्षेत्रलाई हामी चुरे पहाड भन्छौं । यो हाम्रो ‘योङ माउन्टेन’ हो, जसमा तलको चुरे अझ योङ माउन्टेन सिस्टम हो । चार करोड वर्षअघि ग्रेगर र थेगर जम्मा भएर चुरिया बनेको हो । यो फ्रेजाइल माउन्टेन’ हो ।

इलामदेखि कञ्चनपुरसम्म ३६ जिल्लामा चुरे पहाड छ । यसको उत्पत्तिमा जाँदा पाकिस्तानको सिन्धु घाँटीदेखि भारतको ब्रह्मपुत्रसम्म यो क्षेत्र छ । यो भूमिमा निकै महत्वपूर्ण जंगल र वनस्पति छ । १३ प्रकारको इको सिस्टम छ । ११ सयभन्दा बढी वनस्पती त फूलवाला मात्रै छन् ।

तपाईंले सुनिरहनु भएको छ, गर्मीका बेला राजमार्ग आसपासमा पानीको अभाव सुरु भइसकेको छ । गत वर्ष म बिरामी पर्नुभन्दा पहिले तराई गएको थिएँ । त्यसबेला महोत्तरीको उत्तरी भेगका सात वटा गाउँमा पानीको अभाव सुरु भएको थियो । यसपालि पनि सुनें, सिरहा, सप्तरीतिर पनि अभाव सुरु भइसक्यो । यस्तै हो भने अबको १० वर्षमा तराईमा पानीका लागि लडाइँ हुन्छ ।

तराईमा पानी त पहिले पनि पर्थ्यो । मैले सात र १५ दिनको झरीको कुरा गरें । अहिले बसाइँ सराईको कुरा पनि होला ।
बसाइँ सराईले त्यहाँ मानिस बढी भए । आफ्नो देशमा मानिसको बसाई सराइ त हुन्छ ।

मेरो विचारमा पूर्व-पश्चिम राजमार्ग अलि तल बनिदिएको भए शायद जंगलको फँडानी हुने थिएन । र, यति चाप जंगलतिर हुने थिएन कि ? त्यो गल्ती भएको हो कि ? जंगलको फँडानी गरेर जुन बाटो बन्यो यसले गर्दा त्यहाँ मानिसको बसाइँ सराइ बढी भयो । त्यसैले यसलाई व्यवस्थापन गर्नुपर्छ ।

(पूर्वराष्ट्रपति डा. यादवसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment