सन् १९८० को दशकमा विश्वभर तहल्का मच्चाएको पप ब्यान्ड डुरान डुरानका गितारवादक एन्डी टेलरको ६५ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार निधन भएको हो ।
उनी विगत ६ वर्षदेखि क्यान्सरसँग लड्दै आइरहेका थिए ।
सन् २०१८ मा उनलाई चौथो चरणको मेटास्टेटिक प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो । उनले आफ्नो रोगबारे सन् २०२२ मा सार्वजनिक गरेका थिए, जतिबेला डुरान डुरान ‘रक एन्ड रोल हल अफ फेम’मा प्रवेश गर्ने तयारीमा थियो ।
परिवारले उनको निधनको पुष्टि गर्दै एन्डीलाई विश्वका लागि उत्कृष्ट गितारवादक भए पनि आफ्ना लागि भने असल श्रीमान्, मायालु बुवा र गर्विलो हजुरबुवा भएको बताएको छ ।
‘संसारका लागि एन्डी एक उत्कृष्ट गितारवादक थिए, तर हाम्रो लागि उनी सबैभन्दा अद्भुत श्रीमान्, मायालु बुवा र गर्विलो हजुरबुवा थिए,’ परिवारले ‘भेराइटी’सँग साझा गरेको वक्तव्यमा भनेको छ ।
परिवारका अनुसार एन्डी परिवारसँग समय बिताउँदा सबैभन्दा खुसी हुन्थे । संगीतले उनलाई संसारका विभिन्न ठाउँमा पुर्याए पनि परिवार उनको पहिलो प्राथमिकतामा थियो ।
एन्डीकीकी श्रीमती ट्रेसी विल्सनले उनका पछिल्ला वर्षहरू साहस र दृढताका साथ बितेको बताएकी छिन्। उनका अनुसार एन्डीले जीवनप्रतिको प्रेम अन्तिम समयसम्म गुमाएनन् ।
डुरान डुरानको सुरुवाती दिनदेखि नै साथ
डुरान डुरानले एन्डीको निधनमा जारी गरेको वक्तव्यमा उनलाई ब्यान्डको यात्राको सुरुवातदेखि नै महत्वपूर्ण सदस्यका रूपमा सम्झिएको छ ।
उत्तरपूर्वी इंग्ल्यान्डबाट गिटार र आफूहरूले केही गर्न सक्छौँ भन्ने दृढ विश्वास बोकेर बर्मिङ्घम पुगेका एन्डीले डुरान डुरानको संगीतमा छुट्टै ऊर्जा र शैली भित्र्याएको ब्यान्डले जनाएको छ ।
उनको गितारवादनले ब्यान्डका चर्चित गीतलाई छुट्टै पहिचान दिएको थियो । उनको व्यङ्ग्यात्मक हाँस्य र जीवनप्रतिको स्पष्ट दृष्टिकोणले पनि ब्यान्डमा विशेष प्रभाव पारेको डुरान डुरानले उल्लेख गरेको छ ।
एन्डीको निधनपछि विभिन्न संगीतकर्मीले उनलाई श्रद्धाञ्जली दिएका छन् । गायक रड स्टेवार्टले उनलाई आफ्नो प्रिय मित्र भन्दै उनीसँग मिलेर उत्कृष्ट संगीत सिर्जना गरेको र धेरै रमाइलो क्षण बिताएको बताएका छन् ।
गायिका बेलिन्डा कार्लिस्लेले पनि एन्डीलाई प्रतिभाशाली संगीतकारका रूपमा सम्झिएकी छिन् । उनका अनुसार एन्डीले उनको गीत ‘म्याड अबाउट यू’मा गिटार सोलो बजाएका थिए ।
११ वर्षमै गितार समाते
एन्डी टेलरको जन्म सन् १९६१ मा भएको थियो । नर्थम्बरल्यान्डको कलेरकोट्समा हुर्किएका उनले ११ वर्षको उमेरदेखि गितार बजाउन थालेका थिए ।
उनले डेभिड बोवीको ब्यान्ड ‘स्पाइडर्स फ्रम मार्स’का गिटारवादक डेभ ब्ल्याकबाट गितार सिकेका थिए । विद्यालय छाडेपछि उनले कामदार वर्गका क्लबमा प्रस्तुति दिने विभिन्न ब्यान्डसँग संगीत यात्रा सुरु गरे ।
सन् १९८० मा उनी डुरान डुरानमा आबद्ध भए । ब्यान्डले गितारवादक खोज्दै ‘मेलोडी मेकर’ पत्रिकामा विज्ञापन निकालेको थियो ।
त्यसपछि अडिसनका लागि बर्मिङ्घम पुगेका एन्डीलाई करिब ४० जना प्रतिस्पर्धीमध्ये छनोट गरिएको थियो ।
त्यसको केही समयपछि साइमनले बोन ब्यान्डका मुख्य गायकका रूपमा आबद्ध भए ।
सन् १९८१ को फेब्रुअरीमा डुरान डुरानले पहिलो गीत ‘प्लानेट अर्थ’ सार्वजनिक गर्यो । त्यही वर्ष आएको ‘गर्ल्स अन फिल्म’ले ब्यान्डलाई बेलायत र अमेरिकामा चर्चित बनायो ।
गीतमा एन्डीको कसिलो र लयात्मक गितारवादनले विशेष प्रभाव पारेको थियो ।
सन् १९८२ मा आएको दोस्रो एल्बम ‘रियो’ले ब्यान्डको अन्तर्राष्ट्रिय लोकप्रियता अझ बढायो । त्यसपछि ‘सेभेन एन्ड द र्याग्ड टाइगर’ पनि बेलायतको चार्टमा पहिलो स्थानमा पुग्यो ।
डुरान डुरानबाट पावर स्टेसनसम्म
डुरान डुरानको प्रारम्भिक सफलता चरममा पुगेका बेला ब्यान्ड केही समय निष्क्रिय भयो । यही क्रममा एन्डी र बेस गिटारवादक जोन टेलरले गायक रोबर्ट पाल्मर र चिकका पूर्वड्रमर टोनी थम्पसनसँग मिलेर ‘पावर स्टेसन’ नामको फङ्क-रक ब्यान्ड बनाए ।
सन् १९८५ मा पावर स्टेसनका ‘सम लाइक इट हट’ र टी रेक्सको ‘गेट इट अन’को पुनः प्रस्तुति अमेरिकी चार्टको शीर्ष १० मा पुगे ।
त्यसै वर्ष एन्डी फेरि डुरान डुरानमा फर्किए । उनले जेम्स बन्ड फिल्म ‘अ भ्यु टु अ किल’को गीत रेकर्ड गर्न ब्यान्डसँग सहकार्य गरे । उक्त गीत अमेरिकी चार्टमा पहिलो स्थानमा पुगेको थियो ।
उनले फिलाडेल्फियामा आयोजित ‘लाइभ एड’मा पनि ब्यान्डसँग प्रस्तुति दिए ।

तर लागूऔषधको समस्यासहित ब्यान्डभित्रको तनाव बढ्दै गएपछि एन्डीले डुरान डुरान छाड्ने निर्णय गरे ।
पछि, उनले आफ्नो आत्मकथामा ब्यान्डसँगको जीवन, लगातारको तनाव र कोकिनको समस्याले आफू मानसिक रूपमा कमजोर बन्दै गएको उल्लेख गरेका थिए ।
लाइभ एडको भोलिपल्टदेखि आफूले मदिरा र लागूऔषध सेवन बन्द गरेको पनि उनले बताएका थिए ।
एकल संगीतदेखि पुनर्मिलनसम्म
डुरान डुरानबाट बाहिरिएपछि एन्डीले सेक्स पिस्टल्सका स्टिभ जोन्ससँग सहकार्य गर्दै सन् १९८६ मा ‘थन्डर’ नामको एकल एल्बम सार्वजनिक गरे । त्यसको ‘टेक इट इजी’ गीतले अमेरिकामा सामान्य सफलता पायो ।
त्यसपछि उनले गीतकार र संगीत निर्माताका रूपमा पनि काम गरे । सन् १९८८ मा रड स्टेवार्टले गाएको उनको गीत ‘लस्ट इन यू’ अमेरिका र बेलायत दुवैमा चर्चित भयो ।
सन् १९९६ मा पावर स्टेसन पुनः एककृत भयो । त्यसपछि सन् २००० मा डुरान डुरानको पुरानो सदस्य संरचना पनि पुनः एक ठाउँमा आयो । ब्यान्डले सन् २००४ मा ‘एस्ट्रोनट’ एल्बम सार्वजनिक गर्यो ।
तर एन्डीले सन् २००६ मा फेरि ब्यान्ड छाडे । त्यसअघि क्यान्सरका कारण आफ्ना बुवाको निधनले आफू निकै प्रभावित भएको उनले बताएका थिए । त्यसको केही समयपछि उनी डिप्रेसनसँग पनि जुधे ।
त्यसपछिका करिब १० वर्ष उनी संगीतबाट टाढा रहे । सन् २००८ मा उनले आफ्नो आत्मकथा ‘वाइल्ड ब्वाय : माई लाइफ इन डुरान डुरान’ प्रकाशित गरे ।
सन् २०१९ मा नयाँ एकल गीत सार्वजनिक गरेका एन्डी पछि बेलायती रक ब्यान्ड ‘रिफ’सँग गितारवादकका रूपमा भ्रमणमा निस्किए । सन् २०२२ मा सार्वजनिक भएको उक्त ब्यान्डको एल्बम ‘सुट मी योर एस’को संगीत उत्पादनमा पनि उनले काम गरेका थिए ।
अन्तिम समयसम्म संगीतप्रतिको प्रेम
वर्षौसम्म डुरान डुरानसँग सम्बन्धमा उतार-चढाव आए पनि रक एन्ड रोल हल अफ फेममा ब्यान्ड प्रवेश गर्ने क्रममा एन्डीले पुराना सहकर्मीप्रति कुनै कटुता नरहेको बताएका थिए ।
‘कुनै नराम्रो भावना छैन । हामीले सँगै लेखेका, रेकर्ड गरेका र हासिल गरेका सबै उपलब्धिप्रति शुद्ध प्रेम र सम्मान मात्र छ,’ उनले भनेका थिए ।
सन् १९८२ मा ट्रेसी विल्सनसँग विवाह गरेका एन्डीका चार सन्तान छन् ।
क्यान्सर भएको पत्ता लागेपछि पनि उनले आफ्नो सांगेतिक यात्राले आफूलाई जीवनप्रति सकारात्मक रहन मद्दत गरेको बताएका थिए ।
‘म निकै भाग्यमानी छु। मैले सपनाजस्तै जीवन जिउने धेरै अवसर पाएँ । संगीतमा लागेकै कारण निको नहुने रोगको निराशासँग जुध्न मलाई निकै मद्दत पुगेको छ,’ उनले भनेका थिए ।
प्रतिक्रिया 4