+
+
Shares

मलेसियाली परिकारको स्वाद काठमाडौंमा, ‘अ टेस्ट अफ मलेसिया’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १७:५१

१० मंसिर, काठमाडौं । मलेसियाको विविधतायुक्त खानाको स्वाद नेपालीले काठमाडौंमै लिन पाउने भएका छन् । मलेसियाको दूतावासले आज (नोभेम्बर २६) देखि डिसेम्बर २ सम्म काठमाडौंस्थित क्राउन इम्पेरियल होटलमा ‘अ टेस्ट अफ मलेसिया २०२६’ नामक फूड फेस्टिभल आयोजना गरेको छ ।

एक सातासम्म सञ्चालन हुने महोत्सवमा मलेसियाका अनुभवी सेफहरूले विभिन्न परम्परागत परिकार तयार गर्नेछन् । उनीहरूले मलेसियाली खानाको मौलिक स्वाद, पाककला र परिकार बनाउने परम्परालाई नेपालीमाझ प्रस्तुत गर्नेछन् ।

मलाय, चिनियाँ, भारतीय तथा विभिन्न आदिवासी समुदायको सांस्कृतिक प्रभाव रहेको मलेसियाली खानामा मसला, सुगन्ध र स्वादको विशिष्ट संयोजन पाइन्छ। महोत्सवमार्फत नेपालीले मलेसियाको यही बहुसांस्कृतिक खाद्य परम्पराको अनुभव गर्न पाउने दूतावासले जनाएको छ ।

मलेसियाको दूतावासले जोम नेपाल, स्टडी प्लस प्रालि, क्राउन इम्पेरियल होटल, एनआरएस ग्लोबल रिसोर्सेस तथा एजुकेसन मलेसिया ग्लोबल एजुकेसनसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो ।

खाद्य महोत्सवसँगै नेपाल र मलेसियाबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले दूतावासले ‘भिजिट मलेसिया इयर २०२६ वाकाथन’ र ‘माया मलेसिया २०२६’ पनि आयोजना गर्ने भएको छ ।

वाकाथन नोभेम्बर २८ बिहान ८ बजे ललितपुरको कुपण्डोलस्थित पीसीपीएस कलेजबाट सुरु हुनेछ । वाकाथनपछि सोही दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ललितपुरको सानेपास्थित इन्टरनेसनल क्लबमा ‘माया मलेसिया २०२६’ आयोजना हुनेछ ।

माया मलेसियामा मलेसियाका खानाका परिकार, उत्पादन, पर्यटन, शिक्षा, हस्तकला तथा संस्कृतिसम्बन्धी प्रदर्शनी गरिनेछ। एउटै स्थानबाट मलेसियासम्बन्धी विभिन्न जानकारी, अवसर र अनुभव लिन सकिने गरी कार्यक्रम आयोजना गर्न लागिएको दूतावासले जनाएको छ। उक्त कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ ।

दूतावासका अनुसार यी कार्यक्रमले खानामार्फत सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्नुका साथै नेपाल र मलेसियाबीचको मित्रता, आपसी समझदारी तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?