+
+
Shares

कीर्तिमानी उचाइबाट एकतिहाइ खस्यो सुन, किन लगातार घट्दै छ भाउ ?

पछिल्लो एक वर्षको उतारचढावले बहुमूल्य धातुका लगानीकर्तालाई चक्कर लागेको अनुभूति भइरहेको छ भने त्यसलाई स्वाभाविक नै मान्नुपर्छ।

केभिन विलियम्स केभिन विलियम्स
२०८३ मंसिर १० गते १७:२८

सन् २०२५ मा ५३ पटक नयाँ कीर्तिमान बनाउँदै तीव्र उकालो चढेको सुनको भाउ गत जनवरी २८ मा प्रतिऔँस ५ हजार ५८९.३८ अमेरिकी डलरको ऐतिहासिक शिखरमा पुगेको थियो। तर, त्यसपछि सुनले झन्डै त्यस्तै ऐतिहासिक गिरावट बेहोरेको छ। बुधबार सुनको मूल्य सन् २०२५ सेप्टेम्बरयता पहिलोपटक ३ हजार ८ सय डलरभन्दा तल झर्‍यो, जुन यसको सर्वोच्च मूल्यभन्दा करिब एकतिहाइले कम हो।

लन्डनस्थित बहुराष्ट्रिय बैङ्क स्ट्यान्डर्ड चार्टर्डकी कमोडिटिज रिसर्च प्रमुख सुकी कुपरका अनुसार यस वर्षको सुरुमा विभिन्न कारणहरूको संयोगले सुनलाई ऐतिहासिक उचाइमा पुर्‍याएको थियो। अहिले फरक कारणहरूको संयोगले यसको मूल्य तल झारिरहेको छ।

‘सुनले कहिले वस्तु र कहिले मुद्राका रूपमा व्यवहार गर्न सक्छ,’ कुपरले भनिन्।

यसले कुन भूमिका खेल्छ भन्ने कुरा बजारमा हाबी रहेका कारक तत्त्व र लगानीकर्ताको मनोविज्ञानमा निर्भर गर्छ। अहिले भने मुद्रासँग जोडिएको तर्कले यो बहुमूल्य धातुको भाउ ओरालो झारिरहेको छ।

कुपरका अनुसार सुनको उकालो यात्रा सन् २०२२ मा सुरु भएको बलियो भौतिक मागबाट थालनी भएको थियो, जसले मूल्यको आधारभूत तह माथि उठायो। त्यसपछिको दोस्रो चरणमा लगानीकर्ताहरूले आफ्नो पोर्टफोलियोमा सुनको स्थानबारे पुनर्विचार गर्न थाले। ब्याज नदिने सम्पत्ति राखिराख्ने लागत घट्दै जाँदा उनीहरूले सुनलाई दीर्घकालीन लगानीका रूपमा हेर्न थाले। कुपरका अनुसार त्यही विन्दुबाट बजारको दिशा बदलिएको थियो।

सन् २०२५ को सुरुवातसम्म दीर्घकालीन लगानीकर्ता, विशेषगरी सुनमा आधारित एक्सचेन्ज–ट्रेडेड फन्ड (ईटीएफ) मा लगानी गर्नेहरूले आफ्नो हिस्सा घटाइरहेका थिए, जसले बजारमा आपूर्ति बढाएको थियो। तर, गत वर्ष त्यो प्रवृत्ति उल्टियो। ‘एसपीडीआर गोल्ड सेयर्स’ (जीएलडी) को नेतृत्वमा ईटीएफ होल्डिङ्स करिब ८ सय टनले बढ्यो र बजारको अतिरिक्त आपूर्ति सोस्न मद्दत गर्‍यो।

‘त्यसबेला एकतर्फी आकर्षण थियो- किन्ने भोक अत्यधिक थियो, तर बेच्ने इच्छा थिएन,’ कुपरले भनिन्।

दोस्रो बजारमा बिक्री सुस्त रहँदा मूल्य लगातार बढिरह्यो। सन् २०२५ को अन्त्यसम्ममा खुद ईटीएफ होल्डिङ्स ४ हजार टन नाघिसकेको थियो। विश्व स्वर्ण परिषद् (वर्ल्ड गोल्ड काउन्सिल) का अनुसार उत्तर अमेरिकाको नेतृत्वमा विश्वव्यापी रूपमा सुन ईटीएफमा हालसम्मकै सर्वाधिक ८९ अर्ब डलर लगानी भित्रियो र कुल सम्पत्ति दोब्बरभन्दा बढीले बढेर ५ खर्ब ५९ अर्ब डलर पुग्यो।

कमजोर डलर, घट्दो बन्ड यिल्ड र विश्वव्यापी ऋणप्रतिको चिन्ताले ‘सन् २०२६ मा सुनलाई नयाँ उचाइमा पुग्ने आधार तयार पारेको’ कुपरको विश्लेषण छ। यसअघि सुनमा कम लगानी गरेका लगानीकर्ताहरूले पनि खरिद जारी राखे।

अमेरिकाको नर्थ क्यारोलाइनास्थित विन्स्टन–सालेमको वित्तीय परामर्शदाता संस्था स्कलर फाइनान्सियल एडभाइजिङका वित्तीय सल्लाहकार इभान मिल्सका अनुसार कम ब्याजदर, ब्याजदर अझै घट्ने अपेक्षा र कमजोर हुँदै गएको डलरका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका थिए।

दुई साताअघि अमेरिकी मतदाताले उक्त युद्ध अन्त्य गर्न ‘जनादेश दिएकाले’ अब अवस्था बदलिने उनको अपेक्षा छ। ‘तेलको मूल्य सामान्य हुँदै जाँदा र पेट्रोल पम्पमा भाउ घट्दै जाँदा ब्याजदर स्थिर हुनेछ र सन् २०२७ मा सुनको मूल्य पुनः उकालो यात्रामा फर्किनेमा म विश्वस्त छु,’ डिलले भने।

‘यदि तपाईँ सुन र समग्र वस्तु बजारको लगानीकर्ता हुनुहुन्थ्यो भने त्यो एकदमै अनुकूल समय थियो,’ मिल्सले भने। विशेषगरी न्यून ब्याजदरका कारण लगानीकर्ताले राम्रो प्रतिफल कमाए।

‘त्यस्तो वातावरणमा नगद राख्दा राम्रो प्रतिफल आउँदैन, त्यसैले धेरै मानिसले आफ्नो क्रयशक्ति जोगाउन र नगद सुरक्षित गर्न अन्य विकल्प खोजे,’ उनले थपे।

तर, जनवरीपछि परिस्थिति बदलियो।

मूल्य वृद्धिको तीव्र गतिले केही लगानीकर्तालाई असहज बनायो र अमेरिकी केन्द्रीय बैङ्कले मौद्रिक नीति कडा पार्न सक्ने चर्चा बढ्न थाल्यो। कुपरका अनुसार त्यही बेला मध्यपूर्वमा द्वन्द्व चर्कियो र सुनको भूमिका बदलियो। सुन पोर्टफोलियोको ‘सेफ हेभन’ बन्नुको साटो तरलता प्रदायक अर्थात् लिक्विडिटी प्रोभाइडर बन्यो।

सुन सहजै बिक्री गर्न सकिने तरल सम्पत्ति भएकाले लगानीकर्ताले नगद जुटाउन यसलाई बेचे, जसले बजारमा पहिलो मूल्य समायोजन सुरु गरायो। त्यसयता बजारले फेडरल रिजर्भको भावी कदमलाई आधार मानेर मूल्य निर्धारण गरिरहेको कुपरले बताइन्।

‘सन् २०२६ मा फेडरल रिजर्भ उच्च ब्याजदरतर्फ बढी ढल्किएको छ,’ मिल्सले भने।

यही साता फेडरल रिजर्भ बोर्ड अफ गभर्नर्सका सदस्य क्रिस्टोफर वालरले ‘मानिसहरूलाई झट्का दिन’ ब्याजदरमा ५० बेसिस प्वाइन्ट (०.५० प्रतिशत विन्दु) वृद्धि आवश्यक पर्न सक्ने बताएका थिए।

‘अहिले ट्रेजरी यिल्ड उच्च छ र डलर बलियो हुँदै गइरहेको छ, त्यसैले कुनै आम्दानी नदिने सम्पत्ति राखिराख्ने अवसर लागत निकै बढेको छ,’ मिल्सले भने।

उनका अनुसार अहिलेको अवस्थामा सुनका लगानीकर्ताले नगदबाटै राम्रो प्रतिफल आउने अवसर गुमाइरहेका छन्, किनकि मनी मार्केट फन्डहरूले नै ४ देखि ५ प्रतिशतसम्म प्रतिफल दिइरहेका छन्। ‘नगदले क्रयशक्ति जोगाउँछ, र यसका लागि तपाईँले कम तरल सम्पत्ति वा अर्को व्यक्तिले मूल्य देख्ला भनेर भर पर्नुपर्ने ठाउँमा पैसा लगाइरहनुपर्दैन,’ उनले भने।

सन् २०२५ देखि २०२६ को बीचमा सुनको दुर्लभता घटेको होइन, बरु सुन राख्नुको सट्टा उपलब्ध अन्य विकल्पहरू बढी आकर्षक बनेका हुन्।

‘सेयर, बन्ड र परम्परागत पोर्टफोलियो मिश्रण सबै निकै आकर्षक बनेका छन्। त्यसैले मानिसहरूले अवसर लागत हेरेर अब सुन राखिराख्नुको अर्थ छैन भन्ने निष्कर्ष निकाले,’ मिल्सले भने। सन् २०२६ मा अन्य धातुहरूमा पनि यस्तै अवस्था देखिएको छ र चाँदीको भाउसमेत कीर्तिमानी उचाइबाट ह्वात्तै झरेको छ।

लगानीकर्ता सुनप्रति किन सतर्क रहनुपर्छ ?

असाधारण उछालपछि सुनमाथि प्रश्न उठ्नु स्वाभाविक हो। मिल्सका अनुसार लगानीकर्ताले सुरुमा आफ्ना अपेक्षा कति उच्च थिए भन्ने कुरा सम्झिनुपर्छ। ‘जब एकै वर्षमा २० वा ३० प्रतिशत प्रतिफलको अपेक्षा गरिन्छ, प्रतिफल घट्नासाथ मानिसहरू आत्तिनु स्वाभाविकै हो,’ उनले भने।

सुनका लगानीकर्ता आत्तिन नपरे पनि सतर्क भने हुनैपर्ने उनको सुझाव छ। ‘अल्पकालमा वास्तविक प्रतिफल (रियल यिल्ड) बढ्दै गएकाले र फेडको भावी ब्याजदर वृद्धिसँगै डलर थप बलियो हुने सम्भावना रहेकाले समग्र पोर्टफोलियोमा सुनबारे म सतर्क रहनेछु,’ मिल्सले भने।

उनका अनुसार लगानीकर्ताका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो पोर्टफोलियोमा सुन किन राखिएको हो भन्ने बुझ्नु हो। ‘यदि तपाईँ यसलाई अल्पकालीन खरिदका रूपमा हेर्दै हुनुहुन्छ भने सुन सायद तपाईँको पोर्टफोलियोमा हुनै हुँदैन,’ उनले भने।

यदि यसलाई जोखिम न्यूनीकरणको माध्यमका रूपमा हेरिएको छ भने सुन मूल्यवान् हिस्सा बन्न सक्छ, तर कुन मूल्यमा खरिद गरियो भन्ने कुराले पनि यसलाई खराब लगानी बनाउन सक्छ।

‘यदि तपाईँ सुनलाई आफ्नो पोर्टफोलियोको वृद्धि खण्डका रूपमा हेर्दै हुनुहुन्छ भने निराश हुने सम्भावना धेरै हुन्छ,’ उनले भने, ‘सुन एउटा बिमा हो, इन्जिन होइन। र, सबैभन्दा ठूलो गल्ती भनेको मूल्य आकाशिएका बेला बिमा किन्नु हो।’

जनवरीको उच्च विन्दुमा दीर्घकालीन र सन्तुलित जोखिम सुरक्षाका लागि सुन किनेका लगानीकर्ताका लागि भने तीव्र गिरावटले उद्देश्य समाप्त नपार्ने उनको भनाइ छ। ‘तपाईँले खासै चिन्ता लिनुपर्दैन, किनकि सुन राख्नुको समग्र लक्ष्य नै त्यही थियो,’ उनले भने।

डलर कमजोर हुँदा वा बजार र भूराजनीति अनिश्चित हुँदा सुनले राम्रो प्रदर्शन गर्ने र त्यस्तो दबाब कम हुँदा पोर्टफोलियोका अन्य हिस्साले त्यसको पूर्ति गर्ने मिल्सले बताए। ‘बिमा र विविधीकरणको मुख्य अर्थ नै यही हो,’ उनले भने, ‘तपाईँको पोर्टफोलियोका अन्य हिस्सा सुस्त हुँदा सुनले राम्रो गर्छ, र जब अवस्था उल्टिन्छ, त्यो सकारात्मक कुरा हो।’

अन्य वस्तु बजार विज्ञहरू पनि सुन अझै राम्रो दीर्घकालीन विकल्प रहेको बताउँछन्। मोर्गन स्ट्यान्लीकी धातु तथा खानी रणनीति प्रमुख एमी गावर यस वर्षको मूल्य समायोजनका बाबजुद लगानीकर्ताले सुन राखिराख्नुपर्ने ‘अझै थुप्रै कारणहरू’ रहेको बताइन्।

युएस मिन्टका पूर्वनिर्देशक तथा टेक्सासको अस्टिनस्थित सरकारी सुन, चाँदी र प्लाटिनम सिक्का वितरक युएस मनी रिजर्भका अध्यक्ष फिलिप डिलले सुनको दीर्घकालीन आधार अझै कायम रहेको बताए। तर, अमेरिकी व्यापार नीति र भूराजनीतिक गठबन्धनमा आएको आकस्मिक फेरबदल तथा इरान युद्धको संयोजन सुनका लागि एउटा अप्रत्याशित र दुर्लभ घटना (ब्ल्याक स्वान इभेन्ट) साबित भएको उनको भनाइ छ।

‘बुल मार्केट अर्थात् वृद्धिको लयलाई डोर्‍याउने आधारभूत तत्त्वहरू अझै यथावत् छन्। एक अविवेकी युद्धका कारण पर्सियन खाडीमा मच्चिएको क्याट–५ श्रेणीको भीषण आँधीले ती आधारमा अवरोध पुर्‍याएको मात्र हो,’ डिलले भने।

दुई साताअघि अमेरिकी मतदाताले उक्त युद्ध अन्त्य गर्न ‘जनादेश दिएकाले’ अब अवस्था बदलिने उनको अपेक्षा छ। ‘तेलको मूल्य सामान्य हुँदै जाँदा र पेट्रोल पम्पमा भाउ घट्दै जाँदा ब्याजदर स्थिर हुनेछ र सन् २०२७ मा सुनको मूल्य पुनः उकालो यात्रामा फर्किनेमा म विश्वस्त छु,’ डिलले भने।

साना लगानीकर्ता मारमा, केन्द्रीय बैङ्कको खरिद भने जारी

विश्व सुन परिषद्का अनुसार केन्द्रीय बैङ्कहरूले सुन खरिदलाई निरन्तरता दिइरहेका छन्। गत सेप्टेम्बरमा मासिक खरिद उच्च विन्दुमा पुगेको थियो, यद्यपि समग्र खरिद गत वर्षको सोही अवधिको तुलनामा ७ प्रतिशतले कम छ।

ब्यानकबर्न क्यापिटल मार्केट्सका प्रबन्ध साझेदार तथा प्रमुख बजार रणनीतिकार मार्क चान्डलरका अनुसार विभिन्न सर्वेक्षणहरूले समग्रमा केन्द्रीय बैङ्कको खरिद प्रवृत्ति नबदलिने देखाएका छन्। ‘तर, चीन वा अमेरिकाका प्रतिस्पर्धी देशबारे मात्र नसोच्नुहोस्,’ चान्डलरले भने।

विश्व स्वर्ण परिषद्ले नाटो सदस्य राष्ट्र पोल्यान्डलाई यस वर्षको अधिकांश समय सुनको प्रमुख खरिदकर्तामध्ये एकका रूपमा पहिचान गरेको उनले उल्लेख गरे।

‘रिटेल लगानीकर्ताहरू नराम्ररी पोलेका छन्,’ चान्डलरले भने, ‘उच्च ब्याजदरले बिटक्वाइनलगायत ब्याज नदिने सबै सम्पत्तिलाई कम आकर्षक बनाइदिएको छ।’

चान्डलरले सुनको मूल्य ३ हजार ५ सयदेखि ३ हजार ६ सय डलरतर्फ गइरहेको प्रक्षेपण गरेका छन्। बिहीबार बिहान सुनको मूल्य ३ हजार ७ सय डलरभन्दा तल झर्दै नयाँ न्यून विन्दुमा पुगेको थियो।

‘मूल्य घट्ने क्रम रोकिएर तलको विन्दु तय भइसकेको सङ्केत चार्टमा कतै देखिँदैन,’ चान्डलरले भने, ‘न्यूनतम भाउमा किन्न हतारिएका लगानीकर्तालाई म सतर्क रहन र मूल्य फर्किने केही स्पष्ट सङ्केत देखिने बेलासम्म धैर्य गर्न आग्रह गर्छु। समग्रमा यो गिरावट निकै व्यवस्थित देखिन्छ।’

पछिल्ला दुई वर्षबाहेकको तुलनामा सुन अझै पनि निकै महँगो रहेको उल्लेख गर्दै चान्डलरले सुनको १० वर्षे (१२० महिने) मुभिङ एभरेज करिब २ हजार १२७ डलर र २० वर्षे (२४० महिने) मुभिङ एभरेज करिब १ हजार ६६६ डलर रहेको औँल्याए।

(सीएनबीसीबाट अनुदित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?