+
+
Shares

माथिल्लो डोल्पामा खुल्यो राज्यको ढोका

वर्षौंको प्रतीक्षा र दबाबपछि डोल्पो बुद्ध गाउँपालिकाको धोमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि माथिल्लो डोल्पावासीका लागि आफ्नै ठाउँमा राज्यको ढोका खुलेको हो ।

हेमन्त केसी हेमन्त केसी
२०८३ मंसिर १० गते १८:०४

१० मंसिर, डोल्पा । चीनसँग सिमाना जोडिएको माथिल्लो डोल्पाको जनजीवन सहज छैन । चारैतिर अग्ला हिमाल र कठिन भौगोलिक अवस्थाले दिनहुँ कठोर परीक्षा लिइरहन्छ ।

यस्तोमा यहाँका नागरिकका लागि सरकारी सेवा लिनुपनि अर्को कठिन अध्याय बन्दैआएको थियो । नागरिकता बनाउनकै लागि सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यताको यात्रा कुनै सजाय भन्दा कम्ती हुँदैनथ्यो । हिउँका पहरा, भञ्ज्याङ र जोखिमपूर्ण बाटा छिचोल्दै दुनै पुग्दा कैयौं दिन लाग्थे ।

अब भने माथिल्लो डोल्पाबासीले कम्तीमा नागरिकता लिन भोग्नुपर्ने त्यो सास्तीका दिनबाट उन्मुक्ति पाउने भएका छन् ।

वर्षौंको प्रतीक्षा र दबाबपछि डोल्पो बुद्ध गाउँपालिकाको धोमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि माथिल्लो डोल्पावासीका लागि आफ्नै ठाउँमा राज्यको ढोका खुलेको हो । कार्यालय खुलेसँगै डोल्पो बुद्ध, शे–फोक्सुण्डो र छार्का ताङसोङ गाउँपालिकाका नागरिकले आफ्नै क्षेत्रमा नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ ।

विशेष समारोहका बीच डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले इलाका प्रशासन कार्यालयको उद्घाटन गरे । उद्घाटनसँगै बिहीबारदेखि नागरिकता वितरण सेवा सुरु भएको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताइन् ।

उनका अनुसार पहिलो दिनमै तीन जना नागरिकले नागरिकता प्रमाणपत्र प्राप्त गरेका छन् । जसमा डोल्पो बुद्ध गाउँपालिकाका दुई जना र शे–फोक्सुण्डो गाउँपालिकाका एक जना नागरिक छन् ।

स्थानीय समाजसेवी युवा ग्याल्पो भोटेले अब माथिल्लो डोल्पाका तीनवटै पालिकाका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने बताए ।

हिमालमा राज्यको सेवा

माथिल्लो डोल्पाको भूगोल अन्य क्षेत्रको तुलनामा निकै कठिन छ । यहाँका बस्ती टाढा–टाढा र निकै पातला छन् ।

अग्ला हिमाली भञ्ज्याङ, हिउँ पर्ने बाटो र प्रतिकूल मौसमले यहाँको आवतजावत निकै असहज हुने गर्छ । विशेषगरी हिउँदमा हिमाली बाटो बन्द हुने र मौसमले साथ नदिने भएकाले सरकारी सेवा लिन सदरमुकाम पुग्न थप कठिन हुन्छ ।

यही कारण स्थानीयले नागरिकता बनाउन निस्कँदा आर्थिक भारसँगै समय र शारीरिक कष्टसमेत बेहोर्दै आएका थिए ।

यही कारण माथिल्लो डोल्पाका तीन पालिका डोल्पो बुद्ध, शे–फोक्सुण्डो र छार्का ताङसोङका नागरिकको सहजताका लागि हिमाली क्षेत्रमै इलाका प्रशासन कार्यालय स्थापना गरिएको प्रजिअ हमालले बताइन् ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?