+
+
Shares

सडकले जोडिँदै माथिल्लो डोल्पा : सहज जनजीवन, पर्यटन र सीमापार व्यापारको नयाँ आशा

बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सुरु भएर सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम हुँदै डोल्पाको दुनै, धो र तिन्जे पार गरी नेपाल–चीन सीमा क्षेत्रको मरिम्लासम्म पुग्ने लक्ष्य राखिएको भेरी करिडोरलाई राष्ट्रिय महत्त्वको सडक आयोजनाका रूपमा लिइन्छ ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज ३० गते ६:३८

३० असोज, सुर्खेत । उपल्लो डोल्पालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्त्वपूर्ण योजनाका रूपमा हेरिएको भेरी करिडोरअन्तर्गत सिसोल–लाइसिक्याप सडकखण्डको निर्माण कार्य सुरु भएको छ ।

डोल्पोबुद्ध गाउँपालिकाका जनप्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि, स्थानीय समुदाय तथा गाउँका लामाहरूको उपस्थितिमा स्थानीय मौलिक संस्कृति र परम्पराअनुसार सडक निर्माणको शुभारम्भ गरिएको गाउँपालिकाले जनाएको छ।

बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सुरु भएर सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम हुँदै डोल्पाको दुनै, धो र तिन्जे पार गरी नेपाल–चीन सीमा क्षेत्रको मरिम्लासम्म पुग्ने लक्ष्य राखिएको भेरी करिडोरलाई राष्ट्रिय महत्त्वको सडक आयोजनाका रूपमा लिइन्छ । करिब ३१७ किलोमिटर लामो यो सडकले दक्षिणमा भारत र उत्तरमा चीनसँगको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।

कठिन भूगोलमा सडक निर्माणको चुनौती

उपल्लो डोल्पाको विकट भूगोल, भिरालो पहाड र कडा चट्टानका कारण सडक निर्माणले लामो समयदेखि गति लिन सकेको छैन। यसअघि निजी निर्माण कम्पनीमार्फत सडकको र्ट्याक खोल्ने प्रयास भए पनि भौगोलिक कठिनाइ र निर्माणसम्बन्धी समस्याका कारण काम अपेक्षित रूपमा अघि बढ्न सकेको थिएन।

सरकारले २०८२ चैतमा भेरी करिडोरअन्तर्गत ल्यासिक्याप–सिसोल सडकखण्डको निर्माण जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। करिब ३३ देखि ३५ किलोमिटर लामो उक्त खण्डमा सडक निर्माणलाई तीव्रता दिने उद्देश्यले सेनालाई जिम्मेवारी दिइएको हो ।

नेपाली सेनाले २०८३ साउन १७ गतेदेखि डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रमा अस्थायी बेस क्याम्प स्थापना गरी सिसोलतर्फबाट निर्माणको काम अघि बढाउने भन्दै प्रक्रिया सुरु गरेको थियो ।

सडकले बदल्न सक्छ माथिल्लो डोल्पाको जनजीवन

सडक सञ्जालको सहज पहुँच नहुँदा माथिल्लो डोल्पाका बासिन्दाले दैनिक उपभोग्य सामग्री ढुवानी, स्वास्थ्य सेवा, शिक्षा र बजारसम्मको पहुँचमा कठिनाइ भोग्दै आएका छन्। सदरमुकाम दुनै पुग्नसमेत कतिपय बस्तीका बासिन्दाले धेरै दिन पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।

सडक निर्माणले पूर्णता पाएमा स्थानीयवासीको आवतजावत सहज हुनुका साथै खाद्यान्न तथा अन्य आवश्यक सामग्री ढुवानीमा लाग्ने समय र खर्च घट्ने अपेक्षा गरिएको छ। बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म पुर्‍याउन र विद्यार्थीलाई शैक्षिक अवसरमा पहुँच विस्तार गर्न पनि सडकले सहयोग पुग्नो डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए ।

माथिल्लो डोल्पामा उत्पादन हुने यार्सागुम्बा, जटामसीलगायतका जडीबुटी तथा स्याउ र ओखरजस्ता कृषि उपजलाई बजारसम्म पुर्‍याउन सहज हुने अपेक्षा छ। यसबाट स्थानीय उत्पादनको बजारीकरण, रोजगारी र आयआर्जनका अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा रहेको छ ।

पर्यटन र सीमापार व्यापारको सम्भावना

प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, मौलिक संस्कृति र ऐतिहासिक बस्तीका कारण उपल्लो डोल्पा पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र हो । फोक्सुण्डो ताल, धो उपत्यका, तिन्जे तथा आसपासका हिमाली बस्तीमा सडक पहुँच विस्तार हुँदा आन्तरिक र बाह्य पर्यटकको आवागमन सहज हुन सक्छ।

भेरी करिडोरलाई नेपाल, भारत र चीनबीचको सम्भावित व्यापारिक तथा रणनीतिक सम्पर्क मार्गका रूपमा पनि हेरिएको छ। मरिम्ला नाकासम्म सडक पहुँच विस्तार हुन सकेमा सीमावर्ती क्षेत्रका बासिन्दाको आवागमन तथा व्यापारिक गतिविधिलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि सडक निर्माण पूरा हुनु मात्रले सीमापार व्यापार स्वत: नियमित हुने सुनिश्चित नहुन सक्छ । त्यसका लागि सीमा नाकाको सञ्चालन, आवश्यक पूर्वाधार र दुवै देशबीचको समन्वय पनि महत्त्वपूर्ण हुनेछ ।

साझा सपना पूरा गर्न सहकार्य आवश्यक

डोल्पोबुद्ध गाउँपालिकाले सडक निर्माणको यस ऐतिहासिक पहललाई सम्भव बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ। गाउँपालिकाले सडकलाई आवागमनको माध्यम मात्र नभई माथिल्लो डोल्पाको सहज पहुँच, समृद्धि र उज्ज्वल भविष्यसँग जोडिएको साझा सपनाका रूपमा व्याख्या गरेको छ।

तर कठिन भौगोलिक अवस्था, निर्माण सामग्री तथा उपकरण ढुवानी, पर्याप्त बजेटको व्यवस्था र समयमै काम सम्पन्न गर्ने चुनौती अझै कायम छन्। त्यसैले निर्माण कार्यलाई निरन्तरता दिन संघीय सरकार, नेपाली सेना, स्थानीय तह, सम्बन्धित आयोजना कार्यालय र स्थानीय समुदायबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ।

भेरी करिडोरको सिसोल–लासिक्याप खण्ड निर्माणले गति लिएसँगै वर्षौंदेखि सडक पहुँचको प्रतीक्षामा रहेका माथिल्लो डोल्पाका बासिन्दामा आशा थपिएको छ। अब निर्माण शुभारम्भलाई व्यवहारमै सडक पहुँचमा रूपान्तरण गर्दै निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्नु मुख्य चुनौती हुनेछ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?