Comments Add Comment

रिक्सावालदेखि दरबारियासम्म फत्तेमानको हाई हेल्लो

२५ भदौ, काठमाडौं । मान्छे भएर जन्मेपछि मर्नु त एकदिन छँदैछ । तर कोही कसैको मृत्युले एउटा सिंगो जगतलाई स्तब्ध र शोकाकुल बनाउँदो रहेछ । स्वरमा बेग्लैखालको ओज र कसैले अनुकरण नै गर्न नसक्ने ‘मुर्की’का धनी गायक फत्तेमान राजभण्डारीको गएराति भएको निधनले नेपाली गीत-संगीतमा समर्पित कलाकार तथा उहाँको स्वर-संगीतका अनुरागीहरुलाई त्यस्तै स्थितिमा पुर्‍यायो । सुगम, भजन र चलचित्र पाश्र्वगायन गरी पृथक बान्कीका करिब ५ सय गीतमा ओजिलो स्वर भरेर नेपाली जनजनको मन मुटुमा बस्न सफल फत्तेमान दिवंगत हुनुभएको खबरले स्तब्ध भएका सयौं शुभचिन्तकहरु छिनभरमै पशुपति आर्यघाटमा ओइरिए । त्यसमध्ये कतिको मनमा आक्रोश थियो, कतिका मनमा चिन्ता । कतिको मनमा उहाँले छाडेर जानुभएका मीठा स्मृति थिए ।

fateman-rajbhandari

तीमध्येबाट हामीले उहाँलाई नजिकबाट चिनेका लोकपि्रय गायक रामकृष्ण ढकाल, उहाँकै सानिध्यमा आफ्नो गायनकला तिखारेका गायक मनोजराज, अत्यन्तै निकट पारिवारिक सम्बन्ध भएकी गायिका-संगीतकार लोचन भट्टराई र पछिल्लो समयमा गीत-संगीतमा अन्वेषण गरिरहेका गायक-संगीतकार बुलु मुकारुङका विचार प्रस्तुत गरेका छौं ।

थला पर्नुअघिसम्म गीत गाइरहनुभएको थियो- रामकृष्ण ढकाल

ram-krishnaफत्तेमान दाइ नेपाली सुगम संगीतको क्षेत्रमा महारथी गायक हुनुहुन्थ्यो । उहाँको गायकी शैली जोकोहीले अनुकरण नै गर्न नसक्ने एकदमै अलग थियो । स्वरमाधुर्यका धनी उहाँका गीतहरु हामीले सानैदेखि सिक्ने बेलादेखि गाउँदै आयौँ । व्यक्तिगत आनीबानीका दृष्टिबाट पनि उहाँ असाध्यै सरल हुनुहुन्थ्यो । कत्ति पनि दम्भ र घमण्ड नभएको मान्छे हुनुहुन्थ्यो । उहाँको निधन भएको खबरले गीत-संगीतप्रति चासो राख्नेहरुलाई स्तब्ध बनाएको छ ।

उहाँको क्रियाशीलता पनि असाध्यै लोभलाग्दो थियो । ७७ वर्षको उमेरमा पनि बिरामी भएर थला पर्नुभन्दा एक हप्ता अघिसम्म पनि उहाँ गीत गाइरहनुभएको थियो । क्रियाशीलताकै कारण पनि उहाँ यति चाँडै बित्नुहुन्छ होलाजस्तो हामीलाई लागेकै थिएन । अस्पतालमा राखिएको खबर पाएपछि शम्भूजीत बासकोटाको अगुवाइमा हामीले उहाँको उपचारका लागि राज्यका तर्फबाट सहयोग होस् भनेर पहल पनि गर्‍यौँ । तर सरकारले सहयोग गर्न किन हो चाहेन । त्यसपछि हामीले निवेदनको भाषा बदलेर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि होस् भनेर माग गर्‍यौँ, त्यसको पनि सुनुवाई भएन । तैपनि उहाँको सम्मानमा राज्यले कोष खडा गरिदिन्छ वा केही काम गर्छ कि भन्ने आशा छ । जे होस् मर्नु त एकदिन सबैले छ । भौतिक शरीर हामीमाझ नभए पनि हामी लगायत आउँदो पुस्तौंपुस्ताले उहाँलाई सम्झिरहने छ ।

‘सिम्पल लिभिङ हाइ थिंकिङ’- लोचन भट्टराई

lochan bhattraiफत्तेमानराज भण्डारीलाई चिन्दा । मैले केटाकेटी उमेरमै म कक्षा दुई पढ्दादेखि नै उहाँको गीत सुन्न थालेकी हुँ । ‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कहिले कहिले’ भन्ने गीत म सानैदेखि सुन्थें । उहाँकै गीत सुनेर मैले गायन यात्रा सुरु गरेकी हुँ । मैले फत्तेमानको यो गीत खुब गाएँ कार्यक्रमहरुमा ।

हरेक कार्यक्रममा हरेक ठाउँमा धेरै नै गाएँ । मेरो परिचय भनेको गीतको माध्यमबाट भयो । जुन उमेरमा मैले आफू पनि गायन लाइनमा आउँछु, गायिका हुन्छु भन्ने सोचेकी थिइँन । मैले त्यस्तो कहिले पनि कल्पना गरेकी थिइँन । त्यस्तो अवस्थामा फत्तेमानको गीतले मलाई असाध्यै प्रभावित बनाएको हो । पछि गएर अरु गीतहरु प्नि मैले गुनगुनाउँदै गएँ । जस्तो, मर्न बरु गाह्रो हुन्न, बनै खायो डढेलोले, जीन्दगीका पानाहरु, यी गीत गाउँदै आएँ । पछि ०४० सालमा भने मैले आफ्नो गायन यात्रा पनि सुरु गरेँ । रेडियो नेपालबाट प्रस्तुत गरें गायन यात्रा ।

त्यसपछिको गायन यात्रामा चाँहि पहिलोपटक रेडियो नेपालमा फत्तेमान दाइसँग भेट भयो मेरो । जुनबेलामा आधुनिक गीतको प्रतियोगी थिएँ । फत्तेमान दाइ पनि त्यहाँ हुनुहुँदो रहेछ । स्टुडियोबाट मैले मेरो प्रतियोगिताको गीत गाएर निस्किएपछि ल बहिनी यसपालिको प्राइजचाँहि तिम्रै हो भन्नुभयो । त्योबेला टेलिभिजन थिएन । मैले सोचें, कुनै शुभचिन्तकले भन्नुभयो होला भनेर सोचें । अनि बाहिर आएर मैले अर्को एउटा व्यक्तिलाई औंलाले देखाएर सोधेँ-उहाँ को हो ? उहाँले ‘गायक फत्तेमान’ भन्नुभयो । मलाई अति खुशी लाग्यो । उहाँले मलाई त्यो प्रतियोगिताको गीत सुनेर अति प्रसंशा गर्नुभयो ।

त्यसपछि म उहाँलाई भेट्नका लागि घर खोज्दै उहाँकोमा पुगेँ । गायनभित्र मुर्की मुर्छन्नाहरु सिक्नका लागि आएँ । जति पनि नयाँ गजल संग्रहहरु बजारमा आउँथे, मैले किनेर घर ल्याउथें अनि दाइलाई फोन गरेर बोलाउँथे अनि क्यासेट प्लेरमा हालेर दाइ र म बसेर सुन्थयौं । गीतमा प्रयोग भएका नयाँ शैलीबारे छलफल गथ्र्यौं।

म पछिल्लो समयको धेरै जुनियर कलाकार भएर पनि मलाई दाइले निकै कुरा सिकाउनुभयो । धेरै माया दिनुभयो । उहाँका मैले चारवटा कम्पोजिसन गाएकी छु । मलाई के लाग्छ भने उहाँ नेपालको विविध गायकमध्ये एउटा प्रखर आवाज भएको गायक हुनुहन्थ्यो । मुर्कीहरु उहाँले यसरी लिने कि उहाँले गाएका मुर्कीहरुलाई अहिलेसम्म कसैले चोर्न सकेको छैन, कसैले त्यसैगरी गाउन सकेको छैन ।

उहाँका समकालीन महान हस्तीहरुमा नारायण गोपाल, भक्तराज, बच्चु कैलाश र फत्तेमान । यी चारवटै गायकहरुको गायनमा पृथक शैली छ । चारवटा शैलीका गायनमध्ये नेपालको फत्तेमान शैली हो यो । जस्तो बनै खायो डढेलोले भन्ने गीतमा जस्तो ‘ब’ मै एउटा मुर्की छ । त्यो मान्छेले कपी नै गर्न सक्दैन । यस्तोखालको शैली न पहिलेका गायकमा थियो, न अबका गायकमा हुनेछ ।

मलाई के लाग्छ भने उहाँले हामीलाई छोडेर जानुभयो । तर जुन उहाँले हामीलाई माइलस्टोन छोडेर जानु भा’छ त्यो भविश्यमा फेरि पुनःजन्म होला, नहोला म भन्न सक्दिँन । व्यक्तिगत रुपमा उहाँ यति सरल मान्छे हो कि जो मैले ०४० सालमा गायन यात्रा सुरु गर्दा उहाँले ल बहिनी म तिमीलाई सिकाइदिन्छु भन्नुभो । धेरै कुराहरु सिकें पनि मैले उहाँबाट ।

धेरै मान्छेहरु आफ्नो हैसियत नमिल्नेसँग यसरी कुरै गर्दैनन् । तर उहाँमा चाहिँ केटाकेटीसँग पनि मिल्ने र आफूभन्दा बरिष्ठहरुसँग पनि छिट्टै मिल्न सक्ने स्वभाव थियो । उहाँ ‘सिम्पल लिभिङ हाई थिङ्किङ’ खालको मान्छे हुनुहुन्थ्यो ।

उहाँ साधारण मानिस हुनुहुन्थ्यो । साइकल तथा रिक्सावालसंग पनि हाई हेल्लो चल्ने र दरवारियाहरुसँग पनि हाई हेल्लो चल्ने निकै साधारण मान्छे हुनुहुन्थ्यो । सबैसँग मिजासिलो, जे खान दिए पनि खाने, कसैसँग नरिसाउने खालको मान्छे हुनुहुन्थ्यो ।

साधारण जीवनशैली, खाट्टी साधक – बुलु मुकारुङ

Bulu-Mukarungफत्तेमान एउटा स्थापित गायक, स्थापित साधक हो । निरन्तररुपमा लागि रहेको अभिछिन्न रुपमा लागेको सर्जक हो । कृतिसंगत रुपमा भन्ने हो भने कालजयी संगीतहरु थुप्रै छन्, जसमध्ये मर्न बरु गाह्रो हुन्न, यस्तो पनि हुँदो रैछ, सान्नानीको गालैमा, वनै खायो डढेलोले, भन्ने जस्ता गीतहरुबाटै थाहा हुन्छ कि उहाँको संगीत क्षेत्रमा रहेको स्थान, उहाँले पुर्‍याएको योगदान ।

उहाँको अरुभन्दा गायकीको आफ्नै शैली छ, ढंग छ । उहाँको आफ्नै रेन्ज छ । गायनमा जुन मान्छेको कला हुन्छ, त्यो उहाँमा विशिष्ट कला थियो । रेन्जका हिसावले, गायकीका हिसावले र साधनाका हिसावले यसरी पनि उहाँ अरुभन्दा पृथक हो भन्न सकिन्छ । त्यसैगरी उहाँ के हो भने जीवनशैलीका हिसावले साधारण, स्ववभावका हिसावले सरल र साधनाका हिसावले हेर्ने हो भने उहाँ एकदम खाट्टी साधक ।

नेपालमा उहाँहरुका समकालीनमा यो ढंगको साधना गर्ने व्यक्तिहरु कमै छन् । किनभने दुई महिनाअघिसम्म त उहाँले एकल साँझ गर्दै हुनुहुन्थ्यो । र, भर्खरै ६ वटा गीत त निक्लिन थाल्दै थिए । पाँचवटा गीत रेकर्ड नै भइसकेका थिए । उहाँको एकल एल्बम हरि लम्सालको संगीतमा रेकर्ड भइराखेको थियो । उहाँ यो ढंगले पनि पृथक हो भन्न सकिन्छ । उहाँ निरन्तर साधनामा लागिराख्ने व्यक्ति हो ।

म ६ बजेतिर आउँदा पनि हारमोनियममा उहाँका हात खेलिरहेका हुन्थे । अटुट साधना गर्नुहुन्थ्यो, जसले उहाँलाई अहिलेसम्म पनि गाउने सक्षमता दिलायो । अत्यन्त सरल मान्छे हुनुहुन्थ्यो ।

नयाँ गायक गायिकाको अध्ययन गर्नुहुन्थ्यो- मनोजराज

manoj-rajउहाँलाई म बाबा भन्छु । ०५२/०५३ देखि म उहाँसग संगै छु । नितान्त म्युजिकको कुरा गर्नु हुन्थ्यो । कसैका कुरा काट्ने बानी थिएन । एकदम म्युजिकलाई फिल गर्नुहुन्थ्यो । बजारमा कस्तो-कस्तो खालका गायक गायिका आइरहेका छन्, उहाँले अध्ययन गर्ने गर्नुहुन्थ्यो ।

उहाँ निकै सरल हुनुहुन्थ्यो । उहाँले निकै राम्रो सितार बजाउनुहुन्थ्यो । जहिले पनि हामी दुई चार दिन गएनौं भने अचेल त आउन नै छाड्यौ, आओ न भन्नुहुन्थ्यो । रेकर्डडेट, नन रेकर्डडेट गीत उहाँसँगै गाउँथ्यौं ।

म फत्तेमान दाइसँग आएपछि निकै कुरा सिकें । उहाँले नयाँ गीत र भजनहरु गाउन सिकाउनुहुन्थ्यो । उहाँले म्युजिक वा गाउने बेलामा बिगार्‍यो भने चाँहि उहाँ निकै रिसाउनुहुन्थ्यो निकै गाली गर्नुहुन्थ्यो ।

यो पनि पढ्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment