Comments Add Comment

इजरायल–प्यालेस्टाइन युद्धविराम : आफ्नो जित भएको दुवै पक्षको दाबी

७ जेठ, काठमाडौं । इजरायल र इस्लामिक संगठन हमासबीच युद्धविराम भएको छ । उक्त युद्धविरामलाई दुवै पक्षले आफ्नो जित भएको बताएका छन् । युद्धविराम सकिएसँगै ठूलो संख्यामा प्यालेस्टाइनी सडकमा ओर्लिएर जितको खुसी मनाएका छन् । हमासले अझै आक्रमण भए त्यसको जवाफ दिने प्रतिक्रिया दिएको छ ।

इजरायल र हमासबीच ११ दिनसम्म युद्ध भएपछि युद्धविराम भएको हो । उक्त युद्धमा २४० भन्दा धेरै मानिसको मृत्यु भएको थियो । यसमध्ये अधिकांशको मृत्यु गाजा क्षेत्रमा भएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले यो युद्धविरामले दुवै पक्षलाई प्रगतिको अवसर सिर्जना गरेको बताएका छन् । इजरायलको सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको बताएको छ । इजरायलका रक्षामन्त्री बेनी गान्ट्जले सामाजिक सञ्जाल ट्वीटरमार्फत् गाजा अभियानबाट ‘अभूतपूर्व सैन्य लाभ’ हासिल भएको बताएका छन् ।

यो युद्धको क्रममा गाजा क्षेत्रमा कम्तीमा २३२ जनाको मृत्यु भइसकेको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा करिब एकसय बालबालिका तथा महिला छन् ।

हमासका एक अधिकारीले समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा यो प्यालेस्टाइनी जनताको जित र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको हार भएको बताएका थिए । हमासका नेता अली बराकेहले यो युद्धविरामलाई मध्यस्तकर्ताले अन्तिम रुप नदिँदासम्म सतर्क रहने बताएका छन् ।

बिहीबार पनि यी दुवै पक्षबीच लगातार ११ औं दिनको युद्ध चलेको थियो । इजरायलले गाजा क्षेत्रमा हमासको केन्द्रमा एक सयभन्दा धेरै आक्रमण गरेको थियो । हमासले पनि इजरायलतर्फ रकेट आक्रमण गरेको थियो । यद्यपि युद्धविरामको घोषणा भएको केही समयमा नै पुनः दुवै तर्फ आक्रमणको समाचार आएको थियो ।

दुई पक्षबीच गत मे १० मा युद्ध सुरु भएको थियो । यसअघि इजरायल र प्यालेस्टाइनका लडाकुबीच जेरुसलेमको विषयलाई दिएर केही सातायता तनाव बढिरहेको थियो । मे ७ मा अल अक्सा मस्जिदनजिकै यहुदी र अरब समुदायका मानिसबीच झडप भएको थियो । जेरुसलेमलाई यी दुवैले पवित्र स्थल मान्दै आएका छन् ।

त्यसको दुई दिनपछि इजरायल र हमासबीचको युद्ध सुरु भएको थियो । यो युद्धको क्रममा गाजा क्षेत्रमा कम्तीमा २३२ जनाको मृत्यु भइसकेको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा करिब एकसय बालबालिका तथा महिला छन् ।

इजरायलले भने कम्तीमा १५० चरमपन्थी यो युद्धको क्रममा मारिएको बताएको छ । हमासले भने आफ्ना मानिसहरुको मृत्युको विषयमा कुनै जानकारी दिएको छैन । इजरायली सेनाले हमासले चार हजारभन्दा धेरै रकेट आक्रमण गरेको बताएको छ ।

सन् १९६७ को मध्यपूर्व युद्धपछि इजरायलले पूर्वी जेरुसलेममा आफ्नो कब्जा जमाउँदै आएको छ । इजरायलले पूरै जेरुसलेमलाई आफ्नो राजधानी मान्दै आएको छ । यद्यपि अन्तर्राष्ट्रिय समुदायले भने यसलाई स्वीकार गरेको छैन ।

प्यालेस्टाइनले भने पूर्वी जेरुसलेमलाई भविष्यमा बनाइने स्वतन्त्र मुलुकको राजधानी रहेको बताउँदै आएको छ । पछिल्लो समय जेरुसलेममा यहुदीहरुले प्यालेस्टाइनलाई हटाउन खोजेको भन्दै विवाद उत्पन्न भएको हो ।

सन् २०१६ मा संयुक्त राष्ट्रसंघको सांस्कृतिक शाखा यूनेस्कोले एक प्रस्ताव पारित गर्दै जेरुसलेमको ऐतिहासिक अल अक्सा मस्जिदमा यहुदीहरुको कुनै अधिकार नरहेको बताएको थियो ।

यो प्रस्तावमा अल अक्सा मस्जिदमा मुसलमानको अधिकार भएको र यहुदीको यसमा कुनै ऐतिहासिक सम्बन्ध नरहेको बताएको थियो । तर, यहुदीले यसलाई टेम्पल माउन्ट मान्दै आएका छन् । उनीहरुको लागि यो एक महत्वपूर्ण धार्मिक स्थल हो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment