Comments Add Comment

सर्पका गुरु महेन्द्र कतिलासँगको त्यो भेट…

भदौको महिना थियो । कोभिड-१९ को पहिलो लहर चलिरहेको थियो । कोठामा बसेर फेसबुक चलाइरहँदा महेन्द्र कतिला सरको प्रोफाइल देखेँ । सरको प्रोफाइल हेर्दै जाँदा एकछिनमै उहाँले गरिरहनु भएको कामहरुको ठूलो प्रशंसक बनिहालेँ । रिक्वेस्ट पठाएँ, सरले एकैछिनमै एसेप्ट गर्नुभयो ।

अनौठो लाग्यो यति ठूलो मान्छेले कति छिटै प्रतिक्रिया दिनुभयो । मेसेन्जरमा केही सामान्य कुराकानी पश्चात् थाहा भयो सर मेरो छिमेकी जिल्ला नवलपुरको कावासोतीमा हुनुहुँदो रहेछ । सरको कामहरुबाट निकै प्रभावित भएको र सरसँग भेट्ने तिब्र इच्छा रहेको बताएपछि सरले समय मिलेसम्म भेट्ने प्रयास गर्छु भन्नुभयो ।

मलाई पुरै विश्वास भने लागेको थिएन यति महान व्यक्ति मलाई भेट्न आउनुहुन्छ होला भनेर तर पनि केही झिनो आशा बोकेर बाटो हेरिरहेको थिएँ । सर आउनुभयो । सरप्रती म निकै आभारी भएँ । सरप्रतिको सम्मान अझ उच्च भयो । भेट भयो, सरले सर्पका बारेमा धेरै कुराहरुको जानकारी दिनुभयो । त्यसपछि भने मलाई पनि सर्पप्रती केही चासो जाग्न थालेको थियो ।

दिन बित्दै गए । केही महिनापछि सरसँग पुनः भेट्ने अवसर मिल्यो । त्रिवेणीमा रसेल्स भाइपर सर्प घाइते अवस्थामा फेला परेको छ भन्ने जानकारी पाएपछि सरले आउँदै छु भनेर खबर गर्नुभयो । मेरो मनमा सर्पबारे निकै जिज्ञासा जागेकाले उत्सुक हुँदै म पनि सरसँगै जाने निधो गरेँ । हामी त्यहाँ पुग्दा नपुग्दै सर्प मरिसकेछ ।

दु:खी हुँदै मरेको सर्प लिएर सरले विभिन्न जाँचबुझ गर्न थाल्नुभयो । त्यहाँका बासिन्दालाई सर्पको बारेमा जानकारी दिनुभयो । सर्पलाई मार्ने वा हानी पुर्‍याउने गर्नु हुँदैन, यिनको संरक्षण गर्नुपर्छ भनेर सम्झाइबुझाइ गर्नुभयो ।

सरले त्यो मृत सर्पप्रति देखाउनुभएको करुणा र दयाभावले मेरो मानस्पटलमा गहिरो छाप पार्‍यो । सर्प देखेपछि मारिदिन खोज्ने प्रवृत्तिबाट म पनि अछुतो थिइनँ । कसैले सर्प मार्न लाग्दा त्यसो गर्नु हुँदैन भन्न सक्ने चेतना थिएन । त्यसदिन मेरा आँखा खुले ।

मेरो सर्पप्रतीको दृष्टिकोण बदलियो । त्यसदिन पश्चात् मैले सर्पलाई गर्ने व्यवहार परिवर्तन भयो । त्यसदिन देखि मेरो टोलछिमेकमा सर्प आउँदा कसैलाई मार्न दिइनँ, बरु सर्प जोगाउनु पर्छ भन्ने ज्ञान दिएँ ।

सरबाट प्रभावित भएर मेरोजस्तै कैयौंको सर्पप्रतीको दृष्टिकोणमा परिवर्तन आएको छ । उहाँको निस्वार्थ भावना र मिहिनेती स्वभाव कैयौंका लागि प्रेरणा बनेको छ । उहाँले बचाएका कति सर्पहरु अहिले प्रकृतिमा रमाइरहेका होलान् ।

उहाँले देखाएको संरक्षणको बाटोमा अब हामी सबैले आआफ्नो क्षेत्रबाट योगदान दिइ उहाँको सर्प संरक्षण अभियानलाई अगाडि बढाऔँ । सर्प र मानिसबीचको दुरी घटाऔँ; सर्पहरुलाई शत्रु होइन, साथी मानेर यिनको सुरक्षा गरौं ।

नेपालमा सर्प फार्म खोल्ने र एन्टिभेनम भ्याक्सिन उत्पादन गर्ने उहाँको ठूलो सपना थियो । उहाँ आज हामीबाट अस्ताएर गएपनी उहाँले देखेका सपना अब हामी सबैका सपना बनेर उदाइराखुन्, उहाँका सपना अब हामी सबै मिलेर साकार पारौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment