News Summary
Generated by OK AI. Editorially reviewed.- गर्मी सुरू भएसँगै तराईका २६ जिल्ला र भित्री मधेशका केही जिल्लामा सर्पदंश प्रमुख चुनौती बनेको छ।
- नेपालमा पाइने विषालु सर्पमध्ये गोमन, करेत र भाइपर मुख्य छन् र एन्टिभेनम नपाइने किङ कोब्राले मृत्यु निम्त्याउँछ।
हरेक वर्ष गर्मीयाम सुरू भएसँगै तराईका अधिकांश जिल्लामा सर्पदंश प्रमुख चुनौतीको रुपमा देखापर्ने गर्दछ । विज्ञहरूका अनुसार सर्पको वासस्थान मासिने गतिविधि बढ्दा सर्पहरू अस्वाभाविक रुपमा मानिसको वासस्थानमा आउने गरेका छन् । यसबाट विशेषगरी जंगल छेउछाउका बस्तीहरू बढी जोखिममा छन् ।
तराईका २६ जिल्ला र भित्री मधेशका केही जिल्लामा ६ महिना(वैशाख-असोज) सर्पदंश खतराको रुपमा देखापर्ने गर्छ । उपचारका लागि देशभर नै थुप्रै सर्पदंश उपचार केन्द्रहरू सञ्चालनमा रहे पनि अन्धविश्वास र लापरबाहीका कारण धेरैजसो बिरामीले जीवन गुमाउनु परिरहेको छ ।
अस्पतालमा जति पनि सर्पदंशका बिरामी आउने गर्दछन् उनीहरू मध्ये ९० प्रतिशतलाई विष नभएका सर्पले डसेको पाइएको छ । विषालु सर्पले डसेका मध्ये मृत्यु हुनेमा झारफुक र घरेलु उपचार गरी समय बिताएर ढिलो अस्पताल आउने बिरामी र बालबालिका बालबालिका धेरै छन् ।
अध्ययनका अनुसार नेपालमा पाइने ९० प्रजातिध्ये १८ प्रजातिका सर्प विषालु छन्। नेपालमा पाइने विषालु सर्पमध्ये मुख्यगरी गोमन, करेत र भाइपर तीन किसिमका सर्प धेरै छन् ।
तराईमा पाइने विषालु सर्पमा कमन करेत, स्पेक्टिकल कोब्रा गोमन सर्प, किङ कोब्रा, रसल भाइपर हुन् भने पहाडी जिल्लामा पाइने सर्पमा ग्रीन पिट भाइपर हुन् ।
डब्लुएचओका अनुसार सर्पको डसाइबाट नेपालमा वार्षिक तीन हजारको मृत्यु हुन्छ । करिब ३७ हजारलाई सर्पले डस्छ । तर, स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार एक वर्षमा सरदर १५० जनाको मृत्यु भएको देखिन्छ। गत वर्ष सर्पको टोकाइबाट १४६ जनाको मृत्यु भएको मन्त्रालयसँग रेकर्ड छ।
चालू आवमा सर्पको टोकाइबाट १५० जनाको मृत्यु भइसकेको छ। गत आवमा ८ हजार १८१ जनालाई सर्पले डसेको थियो । त्यसमध्ये १ हजार ४८८ जनालाई विषालु सर्प र ६ हजार ६९३ जनालाई विषरहित सर्पले डसेको थियो। सो संख्या अस्पताल पुगेको मन्त्रालयको रेकर्डमा आधारित छ ।
आर्थिक वर्ष २०७८÷७९ को स्वास्थ मन्त्रालयको तथ्याङ्क अनुसार सर्पदंशको सबैभन्दा धेरै प्रकोप लुम्बिनी प्रदेशमा छ । यो वर्ष लुम्बिनी प्रदेशमा ३ हजार २२, कोशी प्रदेशमा १ हजार ५५२, मधेश प्रदेशमा १ हजार ४३८ र गण्डकी प्रदेशमा १ हजार ३३५ जना सर्पको डसाइमा परेर उपचारका लागि अस्पताल तथा उपचार केन्द्रमा पुगेका थिए ।
कर्णालीमा १५१ र सुदूरपश्चिममा १८० जना सर्पको डसाइमा परेको तथ्यांक छ ।
माथि उल्लेख भए पनि अधिकांश बिरामीहरू अस्पतालसम्म पनि नपुग्ने सर्पको पहिचानमा वा अभिलेखीकरणमा त्रुटि भएकाले गर्दा वास्तविक कुल तथ्यांक नआउने गरेको पाइन्छ।
सर्पको डसाइको प्रकृति
सर्पले आफ्नो प्रतिरक्षा अर्थात डिफेन्सका लागि मात्रै मानिसलाई डस्ने गर्दछ । तराईका अधिकांश जिल्लाहरूमा करेत सर्पले रातको समयमा घरभित्र सुतेको बेला बिस्तारामा नै मानिसलाई डस्ने गर्दछ । तीमध्ये प्रायजसोलाई हात र खुट्टामा डसेको पाइएको छ ।
करेत सर्पमा न्यूरोटक्सिक विष पाइन्छ । यो सर्पले डसेमा विषको असर सिधै मस्तिष्कमा पर्दछ । करेत सर्पको विषको असर शरीरमा विस्तारै देखिने गर्दछ । अध्ययनका अनुसार करेत सर्प दिउँसोमा भन्दा बढी रातिमा सक्रिय हुने गर्दछ । अन्य अविषालु सर्प र जीवहरू विशेषत मुसाको शिकारमा मानिसको घर भित्र छिर्ने गर्दछन् ।
वर्षातको समयमा जमिन जलमग्न हुँदा सुख्खामा बस्न रुचाउने भएकाले सर्प मानिसको बासस्थानमा छिर्ने गर्दछ । यो सर्प शान्त र लजालु स्वभावको हुने गर्छ । यदि मानिसको घरभित्र छिरिहालेमा पनि शान्त भएर बस्ने गर्दछ । सुतेको मानिस कुनै कारणले चलमलाउँदा यो सर्पलाई असुरक्षित महसुस गरेमा मात्रै डस्ने गर्दछ ।
करेत सर्पको दाँत एकदमै मसिनो हुने भएकाले डसेको पनि थाहा हुँदैन । डसेको ठाउँमा दुख्दैन, रगत आउँदैन र सुन्निँदैन । त्यसैले अधिकांश करेट सर्पले डसेका बिरामीहरू लक्षण देखिएपछि मात्रै अस्पताल आउने गर्दछन् । जसले गर्दा तुलनात्मक रूपमा करेट सर्पले डसेका बिरामीहरूको अन्य सर्पदंशका बिरामीको तुलनामा बढी मृत्यु हुने गर्छ।
त्यसैगरी मानिसलाई प्राय डस्ने विषालु सर्प कोब्रा हो । यसलाई गोमन अथवा नाग सर्प पनि भनेर पनि चिनिन्छ । गोमन सर्पमा पनि न्यूरोटक्सिक विष पाइने भएकाले यो सर्पले डसेमा सिधै मस्तिष्कमा असर पर्छ। यो सर्प रातमा भन्दा दिनमा बढी सक्रिय हुन्छ ।
यो कहिलेकाहीँ मात्रै मानिसको वासस्थानमा प्रवेश गर्ने गर्दछ । प्राय जङ्गल, झाडीहरूमा पाइने यो सर्पको विष शरीरमा छिटो फैलिने गर्दछ । त्यसैले यसले डसेको बेला उपचार नपाएमा मानिसको एकदेखि डेढ घन्टामा मृत्यु हुने गर्दछ । यो सर्पले डस्नु अगाडि फडा फिजाएर फ्वाँ–फ्वाँ आवाज निकाल्ने गर्दछ । यो सर्पले डसेको ठाउँमा असह्य दुखाइ हुने, डसेको ठाउँबाट रगत आउने, फोका उठ्ने, कालो हुने र सुन्निने गर्दछ ।
यो सर्पले अन्य विषालु र अविषालु सर्पहरूलाई शिकार गर्ने गर्दछ र कहिलेकाहीँ त्यही शिकारलाई पछ्याउँदै मानिसको वासस्थानमा पुग्ने गर्दछ ।
त्यसैगरी तराईमा पाइने अर्को विषालु सर्पको प्रजातिमध्ये एक हो रसल भाइपर । प्राय भारतको मरुभूमितिर पाइने यो सर्प नेपालको तराईका केही भागमा पनि पाइने गर्दछ ।
यो सर्पमा हेमोटक्सिक विष पाइन्छ । यो सर्पले डसेमा शरीरका भित्री भागमा रक्तश्राव हुन्छ । अनि महत्वपूर्ण भित्री अंगहरू कलेजो, मिर्गौला र मुटुले विस्तारै काम गर्न छाडेर मानिसको मृत्यु हुने गर्दछ ।
यो सर्पले पनि डस्नुअघि गोमन सर्प जस्तै पूर्व जानकारी दिँदै सुसेल्ने गर्दछ । यो सर्पले डसेको ठाउँमा सुन्निने, अत्यधिक दुख्ने, फोका उठ्ने, कालो हुने, रगत बग्ने र कहिलेकाहीँ डसेको भाग पूरै सुन्निने गर्दछ ।
यसैको एक प्रजातिमा पर्दछ पहाडी जिल्लाहरूमा प्राय पाइने ग्रीन पिट भाइपर । यो सर्प तुलनात्मक रूपमा रसल भाइपर भन्दा कम विषालु हुन्छ । यो सर्पले डस्यो भने पनि शरीरमा आन्तरिक रक्तश्राव नै हुने गर्दछ तर, ज्यान नै जाने जोखिम चाहिँ तुलनात्मक रुपमा कम हुने गर्दछ । हरियो रङको हुने भएकाले प्रायगरी रुखको हाँगा सोचेर समात्ने गर्दा यो सर्पले टोक्ने गर्छ । यो सर्पले डसेमा एन्टिभेनमको आवश्यकता पर्दैन ।
सर्पले डसेको हो भनेर कसरी पहिचान गर्ने ?
सर्पले डसेको व्यक्तिलाई सियोले घोचेजस्तै अनुभव हुन्छ । त्यस्तो दुखाइ भएमा व्यक्तिले नजिकै सर्प देखेको पनि हुन सक्छ ।खेतबारीमा काम गर्दा अथवा हिँड्दा खुट्टामा डसे जस्तो महसुस भएमा वा डसेको निशानसँगै सो स्थान सुनिएर रगत आउन सक्छ ।
सर्पले डसेको शंका लाग्नासाथ डसेको ठाउँमा सर्पका दुईवटा दाँतको डाम छ कि छैन भनेर हेर्न सकिन्छ । राति सुतेर बिहान उठ्दा एक्कासी पेट दुख्ने, उल्टी आउने, थुक निल्न गाह्रो हुने, घाँटी दुख्ने, श्वासफेर्न गाह्रो हुने, आँखाको माथिल्लो परेला झर्ने वा आँखा खोल्न गाह्रो हुनसक्छ ।
विशेष गरी वर्षाको समयमा कुनै पनि रोग छैन तर बिहान उठ्दा एक्कासी अचेत भयो वा श्वास फेर्ने गाह्रो भएमा पनि सर्पले डसेको हुनसक्छ ।
सर्पले डसेमा के गर्ने ?
-सर्पले डसेमा सर्वप्रथम कति पनि आत्तिनु हुँदैन र सर्पले डसेको बिरामीलाई आत्मबलसहित सान्त्वना प्रदान गर्नु पर्दछ ।
-सकभर सर्पलाई नमार्ने । मोबाइल छ भने सर्पको फोटो खिचेर राख्ने, जसले गर्दा उपचार प्रक्रियामा धेरै नै मद्दत पुग्छ ।
-सकभर सर्पले डसेको भागलाई नचलाइकन हल्का तरिकाले ब्यान्डेज अथवा उपलब्ध कपडा वा डोरीले बाँधेर चल्न दिनुहुँदैन । जति चलायो त्यति नै विष शरीरमा फैलिन्छ।
-सर्पले डसिहालेमा जति सकिन्छ छिटो उपलब्ध यातायातको साधन मोटरसाइकल, अटोरिक्सा वा एम्बुलेन्सबाट बिरामीलाई नजिकैको सर्पदंश उपचार केन्द्रमा पुर्याइहाल्नु पर्दछ।
-सर्पले डसेको ठाउँमा थप संक्रमण नहोस् भन्नका लागि साबुन पानीले धुन पनि सकिन्छ ।
-सर्पदंश केन्द्र टाढा छ भने सर्पदंश केन्द्र पुग्नुपूर्व थप क्षति नहोस् भन्नका लागि बिरामीलाई श्वास फेर्न सहज होस् भनी आवश्यकता अनुसार नजिकैको अस्पतालमा लगि तालिम प्राप्त स्वास्थकर्मीद्वारा श्वास नलीलाई सुरक्षित गर्न इन्टिुबेट समेत गर्न सकिन्छ ।
-सर्पले डसेको लक्षण देखिएमा सँगै सुतेको वा सँगै रहेको व्यक्तिलाई पनि सर्पदंश केन्द्रमा लैजानु पर्छ किनकी कहिलेकाहिँ सर्पले दुवै व्यक्तिलाई डसेको हुन सक्छ ।
-सर्पले डसेमा शरीरमा कसिलो कपडा वा गरगहनाहरूलाई खोल्नुपर्दछ र खुकुलो बनाउनु पर्छ ।
-एम्बुलेन्स, प्रहरी, सर्प उद्धारकर्ताको नम्बर राख्ने र सर्पले डसेमा तुरुन्तै जानकारी गराउने ।
-सकभर सर्पदंश केन्द्रमा पुग्ने बेलासम्म उपलब्ध भएसम्म बाटोमा स्वास्थकर्मीलाई पनि बिरामीसँगै लैजाने ।
के नगर्ने ?
-सर्पले डसेमा डोरीले हातखुट्टा कसिलो गरी नबाँध्ने, उपचारको नाममा झारपात नहाल्ने, छालालाई काट्ने, मुखले चुस्ने जस्ता काम गर्नुहुँदैन ।
-धामीझाँक्रीको लैजाने, झारफुक गर्ने जस्ता काममा लागेर समय खेल फाल्नुहुँदैन ।
-बिरामीलाई तत्काल केही पनि खाने कुराहरू खुवाउनु हुँदैन र सुत्न पनि दिनुहुँदैन ।
-कहिलेकाहीँ अविषालु सर्प देखिएर पहिचान भए ता पनि यो विषालु सर्प पनि हुन सक्ने भएकाले घरमा बस्ने वा उपचारमा नजाने गर्नुहुँदैन ।
-प्राथमिक उपचारका नाममा समय नष्ट गर्न हुँदैन किनकि सर्पदंशका लागि एन्टिभेनम बाहेकको अरु कुनै उपचारको विकल्प हुँदैन ।
-सर्पले डसिहालेमा धेरै हलचल गर्ने, आत्तिने र अनावश्यक कुराहरू सोच्नु हुँदैन । यसो गरेमा शरीरमा विष अझ बढी फैलने गर्दछ ।
सर्पदंशको उपचार कसरी गरिन्छ ?
सर्पले डसेको बिरामीलाई सर्पदंश केन्द्रमा पुग्दाबित्तिकै सर्वप्रथम बिरामीलाई कुन सर्पले कतिबेला डसेको छ, त्यसको बारेमा जानकारी लिने गरिन्छ ।यदि लक्षण देखिएको छ भने कत्ति पनि ढिला नगरी एन्टिभेनम अर्थात सर्पको विष काट्ने औषधि दिनुपर्छ ।
सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिभेनमको शुल्क लाग्दैन । यो सरकारले निःशुल्क उपलब्ध गराएको हुन्छ । अन्य औषधि र उपचारको भने शुल्क तिर्नुपर्ने हुन्छ । बिरामीलाई परीक्षण गर्दा सर्पको दाँतको चिह्न छ तर, पनि बिरामीको अवस्था ठिक छ भने बिरामीलाई उचित जानकारी र परामर्श दिएर सर्पले डसेको समयबाट कम्तीमा १२ देखि २४ घन्टा स्वास्थकर्मीको उचित निगरानीमा राख्ने गरिन्छ ।
बिरामीका आफन्तले डसेको सर्पको तस्बिर विषालु सर्प भनेर देखाए पनि लक्षण नदेखिँदासम्म एन्टिभेनम दिन सुरू गरिँदैन । किनकि कहिलेकाहीँ सर्पले डस्दा विष नछाडेको हुन सक्छ, जसलाई ‘ड्राई बाइट’ भनिन्छ । सर्पदंशको एन्टिभेनम त्यत्तिकै चलाउँदा त्यसले मानिसको शरीरमा अन्य नकारात्मक असर देखिने गर्छ ।
जस्तोसुकै सर्पले डसे पनि सर्पले डसेको समयबाट कम्तीमा १२ देखि २४ घन्टा अस्पतालमै स्वास्थकर्मीको उचित निगरानीमा राख्नुपर्दछ ।
यदि विषालु सर्पले डसेर लक्षण देखिएर एन्टिभेनम चलाएको छ भने बिरामीको अवस्था हेरेर कम्तीमा ४–५ दिनसम्म अस्पतालमा भर्ना गरेर उपचार गर्दै सुधार हुँदै गयो भने मात्रै डिस्चार्ज गरिन्छ ।
टोकेको कति समयमा विषले असर गर्छ ?
विषालु सर्पले डसेर लक्षण देखिने कुरा सर्पले कसरी, कुन अवस्थामा डसेको छ भन्नेमा निर्धारण हुने गर्दछ । जस्तो कि, टाउको वा घाँटीमा डसेमा एकदमै छिटो विष फैलिएर ज्यान जान सक्ने सम्भावना हुन्छ ।
त्यस्तैगरी विषालु सर्पले वयस्क र बच्चाहरूलाई डस्यो भने बच्चाहरूको मृत्यु हुने सम्भावना बढी हुन्छ । किनभने शारीरिक बनावट अनुसार बच्चाको मस्तिष्क र भित्री अंगहरूमा विष छिटो फैलिएर असर गर्छ ।
त्यस्तै यदि सर्पको बच्चाले डसेमा त्यसको विष ग्रन्थीहरू वयस्क सर्प जस्तो विकसित नहुने भएकाले त्यसको असर कम हुने गर्दछ ।
कसरी पाइन्छ नेपालमा एन्टिभेनम ?
नेपालमा पाइने एन्टिभेनम नेपाल सरकारले भारतबाट खरिद गर्ने गर्दछ । नेपालमा पाइने एन्टिभेनम भारतबाट आयात हुने पोलिभ्यालेन्ट एन्टिभेनम भएकाले यसले गोमन सर्प, कमन करेत, रसल भाइपर र स–स्केलेट भाइपर प्रजातिले डसेमा मात्रै उपचार हुने गर्दछ ।
यदि राजगोमन अर्थात किङ कोब्राले डसेमा यसको एन्टिभेनम नेपालमा नपाइने भएकाले मानिसको मृत्यु हुने गर्दछ ।
राजगोमन अर्थात किङ कोब्राको एन्टिभेनम (मोनोभ्यालेन्ट एन्टिभेनम) थाइल्याण्डमा मात्रै उत्पादन हुने भएकाले यसको उपचार नेपाल र भारतमा सम्भव छैन ।
सावधानी आवश्यक
सर्पदंशलाई स्थानीय स्तरबाटै निति तथा कार्यक्रममा समावेश गरेर जनस्तरसम्म जनचेतना र सावधानीका तरिकाहरू बारेमा छलफल गर्न आवश्यक छ ।
सर्पदंशलाई अझ बढी व्यवस्थापन गर्नका लागि सर्पदंश सम्बन्धी तालिम र जानकारी विद्यालयस्तरबाटै पाठ्यक्रममा नै समावेश गर्नुपर्ने देखिन्छ । हेर्दा सामान्य लागे पनि सर्पदंश सम्बन्धी जानकारी र तालिमले दीर्घकालीन रुपमा सर्पको डसाइबाट हुने मृत्युबाट जोगाउन सकिन्छ ।
(डा. आचार्य सर्पदंश केन्द्र भेरी अस्पताल, नेपालगञ्जको इमर्जेन्सी विभागमा कार्यरत छन् ।)
प्रतिक्रिया 4