Comments Add Comment

धावक कार्कीले काठमाडौं-दोलखा दौड थाले

२९ भदौ, काठमाडौं । लामो दूरीका धावक रामसुन्दर कार्की काठमाडौँबाट दोलखासम्म दौड आजदेखि प्रारम्भ भएको छ । ‘बालबालिकाको कुरा सुनौँ, बाल दुव्र्यवहार अन्त्य गरौँ’ भन्ने नेपाल बाल सङ्गठनको नारालाई सबैले आत्मसात् गरुन् भन्ने सन्देश प्रवाह गर्नुका साथै विश्व शान्तिको कामनासहित दौडिन लागेको धावक कार्कीले बताउनुभयो ।

ललितपुरको गोदामचौर गाविस वडा नं ४, गोदावरी निवासी कार्कीले काठमाडाँैंको चुच्चेपाटीस्थित केएल टावरबाट दौड प्रारम्भ गरेका हुन् । दौड सुरु भएपछि कार्की चुच्चेपाटीबाट जावलाखेलस्थित बालमन्दिर पुग्नुभएको थियो । त्यहाँबाट कोटेश्वर, भक्तपुर, काभ्रे, पाँचखाल, सिन्धुपाल्चोक हुँदै खाडीचौरमा पुगेर पहिलो दिनको दौड टुङ्ग्याउने कार्यक्रम रहेको छ ।

दोस्रो तथा अन्तिम दिन भदौ ३० मा खाडीचौरबाट दौड प्रारम्भ गरी मुडे, खरिढुङ्गा, मकैबारी, चरिकोट, भीमसेन मन्दिरमा पूजाअर्चना गरी पुनः चरिकोट बजारमा आएर दौड टुङ्ग्याउने कार्कीले बताउनुभयो ।

कार्कीले हालसम्म करिब १२ देखि १५ हजार किलोमिटर दौडिसकेको जानकारी दिँदै आफ्नो लक्ष्य भनेको गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउनु रहेको बताउनुभयो । “नेपालको ७५ वटै जिल्ला, भारत र भुटानका केही भाग गरी करिब १२ देखि १५ हजार किलोमिटर दौडिसकेँ होला”, ४० वर्षीय कार्की भन्नुभयो, “मेरो अन्तिम धोको भनेको लामो दूरीको धावकका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउनु हो । त्यसका लागि प्रयासरत छु ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment