
काठमाडौं । कुवेतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम मंगलबार त्यसतर्फ गएको छ । भर्खरै दुई वर्षका लागि प्रशिक्षक नियुक्त भएका योहान कालिनले २४ सदस्यीय नेपाली टोलीलाई पहिलोपटक अन्तर्राष्ट्रिय मैदानमा परख्ने छन् ।
राष्ट्रिय टोलीमा रहेका केही खेलाडी एएफसी यु २३ च्याम्पियनसिप खेल्ने टिममा रहेकाले सबैको खेल नियाल्न नपाए पनि नयाँ प्रशिक्षक कालिनलाई कुवेतसँगको खेलले धेरै कुरा बुझाउने छ ।
खेल कुवेतको अल शबाव स्पोर्टस क्लबको मैदानमा आउँदो बिहीबार हुनेछ ।
प्रशिक्षकलाई स्तर जाँच्ने मौका
सुरव बिक, रवि सिलवाल, सरोज दाहाल, रवि पासवान र सन्तोष तामाङसहित आशिष लामा र विमल राना पहिलोपटक टिममा परेका हुन् । यस्तै डिफेन्डर अजित भण्डारी र गोलकिपर विशाल श्रेष्ठ यसअघि पनि टिममा रहे पनि खेलेका भने थिएनन् ।
चोटका कारण टिमबाहिर रहेका बिक्रम लामा, रञ्जित धिमाल, रन्जन विष्ट र सुमन लामा पनि टिममा फर्किएका छन् ।
बिमल घर्तीमगर, अनन्त तामाङ, अन्जन विष्ट, दिनेश राजबंशी, सुनील बल, तेज तामाङ भने यु २३ च्याम्पियनसिप खेल्ने टिममा रहेकाले कुवेतसँगको खेलमा हुने छैनन् ।
फिफा वरियतामा नेपालभन्दा तीन स्थान माथि रहेको कुवेतसँगको खेलमा राष्ट्रिय टिमका सबै सदस्य नरहे पनि नेपाली फुटबलको स्तरलाई हेर्न महत्वपूर्ण हुनेछ । यसअघि नेपालले कुवेतसँग खेलेको चार खेल भने सबै हारेको थियो । फिफा वरियतामा नेपाल १ सय ६१ औँ स्थानमा रहेको छ भने कुवेत १ सय ५८ औँ स्थानमा रहेको छ ।
प्रशिक्षक कालिन पनि नेपाल कुन स्थानमा छ भन्ने कुवेतसँगको खेलले नै छुट्टिने बताउँछन् ।
‘कुवेतसँगको खेल मेरो पहिलो प्रतियोगिता हुनेछ । पहिलोपटक टिम हेरिरहेकाले नै मेरा लागि यसको महत्व ठूलो छ । टिममा केही नयाँ अनुहार पनि छन् । नेपाल अहिले कुन स्तरमा छ भन्ने कुवेतसँगको खेलपछि देखिने छ । खेल प्रतिस्पर्धात्मक होस् भन्ने आशा छ’ टिम छनोटको समय उनले भनेका थिए ।
स्वीडेनको तेस्रो डिभिजन क्लबबाट व्यवसायिक प्रशिक्षण सुरु गरेका कालिनको नेपाल सम्बन्ध भने पुरानै हो । २०७० सालमा शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबलाई प्रशिक्षण दिन उनी नेपाल आएका थिए ।
त्यसैले नेपाललाई साफ च्याम्पियन बनाउने सपना बुनिरहेका कालिनलाई नेपाली फुटबललाई नजिकबाट हेरेका उनले कुवेत भ्रमणपछि थप योजना बनाउने छन् । कालिनलाई सघाउन सहायक प्रशिक्षक किरण श्रेष्ठ पनि टिमसँगै रहेका छन् ।
खेल हेर्न एक दिनार !
कुवेतसँगको मैत्रीपूर्ण खेल हेर्नका लागि कुवेतमा रहेको नेपाली राजदूतावासले पनि आह्वान गरेको छ ।
राजदूतावासले विज्ञप्ति निकालेर भनेको छ, ‘नेपाल र कुवेतबीचको खेल हेर्न उपस्थित भई नेपाली राष्ट्रिय फुटबल टिमलाई हौसला प्रदान गरिदिन नेपाली राजदूतावास, कुवेत आग्रह गर्दछ ।’
स्थानीय समयअनुसार साढे ६ बजे हुने खेल कुवेतको अल शबाव स्पोर्टस क्लबको मैदानमा हुनेछ । जसमा दर्शकले एक कुवेती दिनारमा टिकट काट्नुपर्ने व्यवस्था गरिएको छ ।
को को छन् टिममा ?
गोलकिपर – किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, विकेश कुथु ।
डिफेन्डर – विराज महर्जन (कप्तान), रोहित चन्द, अजित भण्डारी, रञ्जित धिमाल, देबेन्द्र तामाङ, सरोज दाहाल, सुरज बिक, रवि सिलवाल ।
मिडफिल्डर – बिक्रम लामा, सुजल श्रेष्ठ, बिशाल राई, टंक बस्नेत, सन्तोष तामाङ, हेमन गुरुङ, आशिष लामा ।
फरवार्ड – रन्जन विष्ट, सुमन लामा, रवि पासवान, भरत खवास, बिमल राना, नवयुग श्रेष्ठ ।
प्रतिक्रिया 4