+
+
Shares

एयर इन्डिया दुर्घटना : प्रतिवेदन भन्छ- इन्धन आपूर्ति रोकियो, तर कसरी खुल्दैन

विमानको ब्लाकबक्स परीक्षण गर्दा ककपिट भ्वाइस रेकर्डरमा क्याप्टेनले को–पाइलटलाई ‘के तिमीले स्विच कट अफ गर्यौ ?’ भनेर सोधेका छन् । जवाफमा को–पाइलटले ‘होइन’ भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २८ गते २१:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको अहमदाबादमा गत महिना भएको एयर इन्डियाको विमान दुर्घटना सम्बन्धी प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ।
  • एएआईबीले तयार पारेको प्रतिवेदनले टेकअफको केही सेकेन्डमै इन्धन आपूर्ति बन्द हुनु मुख्य कारण देखाएको छ तर स्विच कसरी \'कट अफ\' मोडमा गयो भन्ने स्पष्ट छैन।
  • विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदनले स्पष्टता नल्याएको भन्दै उड्डयन विज्ञहरुले आलोचना गरेका छन् र ककपिट भ्वाइस रेकर्डरको सम्पूर्ण ट्रान्सक्रिप्ट सार्वजनिक नगरेकोमा आपत्ति जनाएका छन्।

२८ असार, काठमाडौं । भारतको अहमदाबादमा गत महिना भएको एयर इन्डियाको विमान दुर्घटना सम्बन्धी प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ ।

तर, सार्वजनिक अनुसन्धान प्रतिवेदनले घटनाबारे यथार्थ जानकारी दिनुको साटो झन् प्रश्नहरु खडा गरेको भन्दै विज्ञहरुले आलोचना गरेका छन् ।

भारतको वायुयान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले तयार पारेको उक्त प्रतिवेदनले टेकअफको केही सेकेन्डमै विमानको दुबै इन्जिनमा इन्धन आपूर्ति अचानक बन्द हुनुलाई दुर्घटनाको मुख्य कारणका रुपमा देखाएको छ।

प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘फ्युल कट अफ स्विच’ ‘रन’ मोडबाट ‘कट अफ’ मोडमा गएको थियो, जसका कारण इन्धन प्रवाह रोकिन पुगेको थियो र त्यसपछि विमानले नियन्त्रण गुमायो ।’

तर यो स्विच कसरी ‘कट अफ’ मोडमा गयो भन्नेबारे प्रतिवेदनमा स्पष्ट जानकारी छैन । प्रारम्भिक अनुसन्धान प्रतिवेदनले घटनाका कारण र त्यसको प्रक्रियामा रहेका जटिलतालाई स्पष्ट पार्न नसकेको विज्ञहरुको भनाइ छ । प्रतिवेदनले घटनाबारे जवाफभन्दा प्रश्न बढी उठाएको भन्दै विज्ञहरुले आलोचना गरेका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

एभियसन विज्ञ संजय लजारका अनुसार फ्युल कट अफ स्विचले इन्जिनमा इन्धन आपूर्ति नियन्त्रण गर्छ।  सामान्य अवस्थामा पाइलटले यस स्विचको प्रयोग इन्जिन सुरु वा बन्द गर्न गर्ने गर्छन् ।

आकस्मिक अवस्थामा जस्तै इन्जिनमा आगो लागेको अवस्थामा विमानको स्वचालित कम्प्युटर प्रणालीले पनि यो स्विचमार्फत इन्धन प्रवाह रोक्न सक्छ । तर यो प्रतिवेदनमा कसरी स्विच आफैं ‘कट अफ’ मोडमा गयो भन्ने खुलाइएको छैन ।

पूर्व पाइलट क्याप्टेन शक्ति लुम्बाका अनुसार, टेकअफको समयमा दुबै इन्जिन बन्द भएमा पाइलटहरूले आपतकालीन प्रक्रिया (मेमोरी आइटम) अनुसार फ्युल स्विचहरूलाई पुन: अन गर्नुपर्ने हुन्छ । तर, प्रतिवेदनमा यसबारे केही खुलाइएको छैन । यस्तो अवस्थामा पाइलटले चेकलिस्टको सहारा बिना नै तुरुन्त कदम चाल्नुपर्ने पूर्व पाइलट लुम्बा बताउँछन् ।

विमानको ब्लाकबक्स परीक्षण गर्दा ककपिट भ्वाइस रेकर्डरमा क्याप्टेनले को–पाइलटलाई ‘के तिमीले स्विच कट अफ गर्यौ ?’ भनेर सोधेका छन् । जवाफमा को–पाइलटले ‘होइन’ भनेका छन् ।

ककपिटमा क्याप्टेन र को–पाइलटबीचको अन्तिम संवादले स्विच आफैं कसरी ‘कट अफ मोड’मा गयो भनेर प्रश्न खडा गरेको छ ।

क्याप्टेन मोहन रंगनाथनका अनुसार टेकअफको बेला को–पाइलटले विमान उडाइरहेका थिए र क्याप्टेन ककपिटमै थिए ।

टेकअफको समयमा पाइलटका दुबै हात नियन्त्रण स्तम्भमा हुने भएकाले स्विच कसरी अफ भयो भन्ने विषय सुल्झिन सकेको छैन ।

प्रतिवेदनअनुसार अचानक विमानको दुबै इन्जिन बन्द भएपछि जहाजको विद्युत आपूर्ति रोकिएको र र्‍याम एयर टर्बाइन (आरएटी) सक्रिय भएको देखिन्छ । त्यसपछि विमानमा विद्युत आपूर्ति सीमित हुन पुगेको र सो नै आपतकालीन संकेत भएको प्रतिवेदनमा उल्लेख छ ।

उडड्यन क्षेत्रका विज्ञहरुले एयर इन्डिया विमान दुर्घटनासम्बन्धमा सार्वजनिक गरिएको प्रारम्भिक प्रतिवेदनले स्पष्टता नल्याएको टीप्पणी गरेका छन् । हवाई जहाज मामिलाका विशेषज्ञ संजय लजारले ककपिट भ्वाइस रेकर्डरको सम्पूर्ण ट्रान्सक्रिप्ट सार्वजनिक नगरिएकोमा आपत्ति जनाएका छन् ।

क्याप्टेन रंगनाथनले गहिरो अनुसन्धान नगरी निष्कर्ष निकालेर समस्या दर्शाउनु झन् गम्भीर प्रश्न भएको टीप्पणी गरेका छन् । प्रतिवेदनमा प्रयोग गरिएको भाषामाथि नै उनले प्रश्न उठाएका छन् ।

एयर इन्डियाले दुर्घटनामा परेका यात्रुका परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै अनुसन्धानमा कम्पनीले सहयोग गरिरहेको जनाएको छ । तर, अनुसन्धान प्रतिवेदनबारे कुनै टीप्पणी नगरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ

भारतका उड्डयनमन्त्री राम मोहन नायडूले एएआईबीको कामको प्रशंसा गर्दै प्रतिवेदन पारदर्शितापूर्वक तयार गरिएको दाबी गरेका छन् । साथै उनले अनुसन्धानमाअन्तर्राष्ट्रिय मापदण्डको पालना भएको तर्क गरेका छन् ।

अमेरिकी नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डका पूर्व निर्देशक पीटर गोएल्जले पनि अनुसन्धान प्रतिवेदनको प्रशंसा गरेका समाचारमा उल्लेख छ ।

तर, हवाई उड्डयन क्षेत्रका धेरैजसो विज्ञहरुले भने एयर इन्डिया विमान दुर्घटनासम्बन्धमा सार्वजनिक प्रतिवेदनप्रति शंका व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?