
News Summary
Generated by OK AI. Editorially reviewed.- सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयर इन्डिया १७१ जहाज दुर्घटनामा परेको थियो।
- एअर ट्राफिक कन्ट्रोलरहरूले दुर्घटना पछि तत्काल उद्धार र अनुसन्धान कार्यहरू सञ्चालन गरे।
- यस्ता घटनाले उनीहरूको मनोवैज्ञानिक स्वास्थ्य र व्यावसायिक जिम्मेवारीको महत्त्वलाई उजागर गर्दछ।
सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल (अहमदाबाद) बाट दक्षिणी लन्डनको ग्याटविक विमानस्थलका लागि उडेको एयर इन्डिया १७१ बोइङ्ग ७८७–८ ड्रिमलाइनर जहाज उडेको केही सेकेन्डभित्रै दुर्घटनाग्रस्त भयो । त्यो क्षण सम्झँदा जोकोहीको मन अमिलो हुन्छ । अझ हवाइ यात्राको सुरक्षा सुनिश्चित गर्न अथक प्रयास गर्ने एअर ट्राफिक कन्ट्रोलर (एटीसी) का लागि त्यो क्षण कस्तो होला ?
यस्ता भयावह दुर्घटनाहरूमा एअर ट्राफिक कन्ट्रोलरको भूमिका र उनीहरूको प्रतिक्रिया आम जनमानसमा सधैं चासोको विषय बन्ने गर्छ । म आफैं पनि यससँग सम्बन्धित क्षेत्रमा काम गरिरहेको व्यक्ति भएकाले यो लेखमा यथार्थपरक दुर्घटनाको एउटा काल्पनिक परिदृश्यमा एटीसीको भावनात्मक र व्यावसायिक यात्राको विश्लेषण गर्दैछु ।
के हुन्छ एटीसीको भूमिका ?
सामान्यतया, एअर ट्राफिक कन्ट्रोलरको मुख्य भूमिका जहाज उडानमा सहायकको रूपमा काम गर्नु हो । प्राविधिक सीमितता र तीव्र गतिको उडानका कारण पाइलटले तत्काल गर्न नसक्ने वा पत्ता लगाउन नसक्ने कामहरूमा एअर ट्राफिक कन्ट्रोलरले महत्वपूर्ण भूमिका खेल्छन् । उदाहरणका लागि, उडान भर्न रनवेमा दौडिरहेको जहाजले अप्रत्याशित रूपमा रनवेमा आउने बाहिरी तत्वहरू (जस्तैः चरा, जनावर, वा अन्य कुनै अवरोध) बारे जानकारी नपाउन सक्छ । यस्तो अवस्थामा, एअर ट्राफिक कन्ट्रोलरले पाइलटलाई तत्काल सूचित गरेर सम्भावित दुर्घटनाबाट बचाउँछन् ।
हावाको वेग, हवाइ मार्गमा रहेको ट्राफिकको घनत्व वा जहाजहरूबीच चाहिने आधारभूत ‘सेपरेसन’ (निश्चित दूरी) कायम गर्ने जस्ता सबै महत्वपूर्ण कामको जिम्मा एअर ट्राफिक कन्ट्रोलरहरूकै हुने गर्छ । टावर, अप्रोच वा एरिया कन्ट्रोल जस्ता विभिन्न एकाइहरूमा रहेर पनि एअर ट्राफिक कन्ट्रोलरको मुख्य लक्ष्य उडानलाई छरितो र सहज बनाउनु हो ।
यसका साथै, जहाज हावामा हुँदा पाइलटहरूसँग सञ्चार गर्ने एक मात्र सहज माध्यम रेडियो सञ्चार हो, जसको नियन्त्रण एअर ट्राफिक कन्ट्रोलरसँग हुन्छ । दुर्घटना भएको वा कुनै समस्या आएको खण्डमा त यो भूमिका अझै महत्वपूर्ण र अनिवार्य हुन्छ, चाहे त्यो मानवीय हिसाबले होस् वा कानुनी हिसाबले । एअर ट्राफिक कन्ट्रोलरको हरपलको निगरानी र सञ्चारले गर्दा नै हवाइ यात्रालाई विश्वको सबैभन्दा सुरक्षित यातायात माध्यम मानिन्छ ।
अहमदाबादमा भएको त्यो भयानक दुर्घटनामा सायद, त्यसका सबैभन्दा नजिकका साक्षी ती एअर ट्राफिक कन्ट्रोलरहरू नै थिए, जसले जहाजलाई रनवेमा ‘क्लियर्ड फर टेक अफ’ भनेर उडान अनुमति दिएका थिए । हजारौं मानिसको ज्यान लिएका यस्ता कालो क्षणहरू कसैले पनि हेर्न नपरोस् भन्ने कामना गरिन्छ, तर विडम्बना यस्ता क्षणहरूका प्रत्यक्ष साक्षी प्रायः एअर ट्राफिक कन्ट्रोलरहरू नै हुन्छन् ।
रनवे छाडेको केही सेकेन्डमै यस्तो भयानक दुर्घटना हुँदा एअर ट्राफिक कन्ट्रोलरले के गर्छन्, जसको आँखा अगाडि ‘गाउँ नै बोकेर हिँडेको’ जहाज गल्र्याम्मै ढलेको छ ? सामान्य मानवीय हिसाबले भन्नुपर्दा, मन अमिलो पारेर घोप्टो परेर रुन मन लाग्छ ।
यो आधारभूत मानवीय गुण हो र यस्तो प्रतिक्रिया स्वभाविक पनि हो । तर, ग्राउन्ड, क्लियरेन्स, सुपरभाइजर, कोअर्डिनेटर, कन्ट्रोलर लगायत टीमका विभिन्न जिम्मेवारीमा बसेका एअर ट्राफिक कन्ट्रोलरहरू सबै जनालाई रुने समय हुँदैन । उनीहरूले आफूलाई तत्काल सम्हाल्नुपर्छ । यो किनभने, एउटा पनि यात्रुको उद्धार गर्नुले आफ्नो व्यावसायिक धर्म पूरा गरेको ठहर्छ भन्ने सोचले उनीहरूको मन सम्हालिन सिकिसकेको हुन्छ ।
त्यसैले, रुवाइलाई थाँती राखी, तत्काल फायर डिपार्टमेन्ट, पुलिस, आफ्ना हाकिम, रेस्क्यु ग्रुप लगायतलाई एकैसाथ सक्रिय गराएर उद्धारमा सामेल गराउनु उनीहरूको अनिवार्य कर्तव्य हुन जान्छ ।
एटीसी टावरमा सन्नाटा
दुर्घटनाको खबर प्राप्त हुनासाथ, एअर ट्राफिक कन्ट्रोलर टावरमा एक क्षणका लागि सन्नाटा छाउँछ । तर, त्यो सन्नाटा तुरुन्तै तोडिन्छ जब आपत्कालीन प्रोटोकलहरू सक्रिय हुन्छन् । सबैभन्दा पहिले, ग्राउन्ड कन्ट्रोलरले रनवेमा दौडिरहेका अन्य जहाजहरूलाई तत्काल रोक्छन् वा ‘होल्ड’ मा राख्छन् ।
उनीहरूले अन्य सबै उडान गतिविधिहरूलाई तत्काल स्थगित गर्छन् र धावनमार्गको सुरक्षा सुनिश्चित गर्छन् । टावर कन्ट्रोलर, जसले जहाजलाई उडानको अनुमति दिएका थिए, उनीहरूको अगाडि भयानक दृश्य हुन्छ ।
उनीहरूले तत्काल ‘एयरपोर्ट फायर एन्ड रेस्क्यु सर्भिस’लाई सूचित गर्छन् र दुर्घटनास्थलको सटिक स्थान र अवस्थाबारे जानकारी गराउँछन् । सुपरभाइजर र सिनियर कन्ट्रोलरहरू तुरुन्तै सक्रिय हुन्छन् ।
उनीहरूले दुर्घटनाको प्रारम्भिक रिपोर्ट तयार पार्छन् र सम्बन्धित अधिकारीहरू, जस्तै एयरपोर्ट अथोरिटी, एयरलाइन्स, र नियामक निकायहरूलाई जानकारी गराउँछन् । उनीहरूले एरिया कन्ट्रोल सेन्टरलाई पनि सूचित गर्छन् ताकि हवाइ मार्गमा रहेका अन्य जहाजहरूलाई वैकल्पिक मार्ग वा उडान स्तरको जानकारी दिन सकियोस् ।
यसका साथै, एअर ट्राफिक कन्ट्रोलरसँग जहाजमा रहेका मानिसहरूको संख्या, पाइलट इन कमान्डको नाम, जहाजमा भएको इन्धन तथा प्रज्ज्वलनशील सामग्रीहरूको जानकारी हुन्छ, जुन उद्धार कार्यका लागि अपरिहार्य हुन्छ ।
यो जानकारी तत्काल उद्धार टोलीहरूलाई उपलब्ध गराइन्छ ताकि उनीहरूले त्यसैअनुसार तयारी गर्न सकून् । दुर्घटनास्थलमा कति इन्धन छ, कस्ता खतरनाक सामग्रीहरू छन् भन्ने जानकारीले उद्धारकर्मीहरूको सुरक्षामा पनि ठूलो भूमिका खेल्छ ।
त्यो कालो क्षणमा एअर ट्राफिक कन्ट्रोलरहरूको मनमा कस्तो भूकम्प जान्छ होला ? मानिसको जीवन एकाएक समाप्त भएको देख्दा उनीहरूमाथि पर्ने भावनात्मक आघात कल्पना मात्र गर्न सकिन्छ । उनीहरूले रनवेमा जहाजलाई ‘क्लियर्ड फर टेक अफ’ भनेको क्षणदेखि नै त्यो जहाज र त्यसमा रहेका यात्रुहरूसँग एक किसिमको अदृश्य सम्बन्ध स्थापित गरिसकेका हुन्छन् ।
जब त्यो जहाज गर्ल्याम्मै खस्छ, उनीहरूका लागि त्यो केवल एउटा यन्त्रको दुर्घटना मात्र होइन, हजारौं सपना र जीवनको अन्त्य हो । तर, यस्तो अवस्थामा पनि एअर ट्राफिक कन्ट्रोलरहरूले आफ्नो भावनालाई नियन्त्रणमा राखेर व्यावसायिक धर्म निर्वाह गर्नुपर्छ । उनीहरूलाई तत्काल थाहा हुन्छ कि आफ्नो एक सेकेन्डको ढिलाइले पनि अन्य जीवन जोखिममा पर्न सक्छ । त्यसैले, आँसुलाई मनभित्रै दबाएर उनीहरूले तत्काल उद्धार कार्यलाई समन्वय गर्छन् ।
उनीहरूले मातहतमा रहेका अन्य जहाजका यात्रुहरूको सुरक्षालाई ख्याल गरी उनीहरूलाई अन्यत्र जान सुझाव दिन्छन् वा होल्डिङ प्याटर्नमा राख्छन् । विमानस्थलको अथोरिटीको सम्पूर्ण ध्यान उद्धारमा केन्द्रित गराउने प्रमुख भूमिका पनि एअर ट्राफिक कन्ट्रोलरको हातमा हुन्छ ।
दुर्घटनाको अनुसन्धानमा भूमिका
कुनै पनि विमान दुर्घटनापछि एभिएसन दुर्घटना अनुसन्धान निकायहरूले घटनाको कारण पत्ता लगाउन गहिरो अनुसन्धान गर्छन् । यस अनुसन्धानमा एअर ट्राफिक कन्ट्रोलरको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । उनीहरूले दुर्घटनाअघि र दुर्घटनाको क्षणमा पाइलटहरूसँग भएका सबै सञ्चार रेकर्डहरू, राडार ट्«याकिङ डेटा, र अन्य सान्दर्भिक जानकारीहरू अनुसन्धानकर्ताहरूलाई उपलब्ध गराउनुपर्छ ।
उनीहरूले आफूले देखेका र अनुभव गरेका कुराहरूलाई निष्पक्ष रूपमा प्रस्तुत गर्नुपर्छ । अनुसन्धान प्रक्रिया एअर ट्राफिक कन्ट्रोलरहरूका लागि थप चुनौतीपूर्ण हुन सक्छ । उनीहरूलाई बारम्बार घटनाको विवरण दोहोर्याउनुपर्ने हुन्छ, जसले गर्दा उनीहरूको भावनात्मक घाउ अझै बल्झन सक्छ । तर, यस प्रक्रियाले भविष्यमा यस्ता दुर्घटनाहरू हुनबाट रोक्न मद्दत गर्छ भन्ने कुराको जानकारीले उनीहरूलाई अगाडि बढ्न प्रेरणा दिन्छ ।
यस्ता भयानक घटनाहरूका प्रत्यक्ष साक्षी बनेका एअर ट्राफिक कन्ट्रोलरहरूलाई मानसिक स्वास्थ्यको गम्भीर असर पर्न सक्छ । पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर, डिप्रेसन, र चिन्ता जस्ता समस्याहरू देखिन सक्छन् । त्यसैले, उनीहरूलाई तत्काल व्यावसायिक मनोसामाजिक परामर्श र समर्थन उपलब्ध गराउनु अत्यावश्यक हुन्छ । यस्ता दुर्घटनाहरू पछि एअर ट्राफिक कन्ट्रोलरहरूलाई केही समयका लागि कामबाट बिदा दिइन्छ र उनीहरूको मानसिक अवस्थाको नियमित निगरानी गरिन्छ ।
समुदायले पनि उनीहरूलाई सम्मान र सहानुभूति दिनुपर्छ । उनीहरूले आफ्नो व्यावसायिक कर्तव्य निर्वाह गर्नका लागि जुन मानसिक र भावनात्मक बल देखाउँछन्, त्यो सराहनीय छ । यस्ता घटनाहरूले एअर ट्राफिक कन्ट्रोलरको कामको गम्भीरता र उनीहरूको व्यावसायिकताको महत्वलाई झनै उजागर गर्छ ।
एयर इन्डिया १७१ को दुर्घटना एउटा दुःखद घटना थियो, र यस्ता घटनाहरूले हवाइ यात्राको सुरक्षामा एअर ट्राफिक कन्ट्रोलरको अपरिहार्य भूमिकालाई पुनरावलोकन गर्न बाध्य पार्छ । एअर ट्राफिक कन्ट्रोलरहरू केवल आवाज र निर्देशन दिने व्यक्तिहरू मात्र होइनन्, उनीहरू हवाइ यात्राको सुरक्षाका गुमनाम नायक हुन् ।
उनीहरूले मानवीय भावनालाई नियन्त्रणमा राखेर व्यावसायिक कर्तव्य निर्वाह गर्ने जुन साहस देखाउँछन्, त्यो साँच्चै अनुकरणीय छ । एउटा जहाज दुर्घटना हुँदा एअर ट्राफिक कन्ट्रोलरले आफ्नो आँखा अगाडि गाउँ नै बोकेर हिँडेको जहाज गल्र्याम्मै ढलेको देख्छन् । त्यो क्षणमा मन अमिलो पारेर घोप्टो परेर रुन मन लाग्छ, तर उनीहरूलाई त्यो फुर्सद हुँदैन । किनकि, उनीहरूको प्राथमिकता एउटै हुन्छ, ‘बाँकी रहेका जीवनहरूलाई बचाउनु र भविष्यमा यस्ता दुर्घटनाहरू हुनबाट रोक्नका लागि सहयोग पुर्याउनु ।’
यो मानवीयता र व्यावसायिकताको अनुपम संगम हो, जसले एअर ट्राफिक कन्ट्रोलरहरूको महत्वपूर्ण भूमिकालाई परिभाषित गर्छ । यस्ता घटनाले हामीलाई एअर ट्राफिक कन्ट्रोलरको कठिन काम, उनीहरूमाथि पर्ने दबाब, र उनीहरूको मानसिक स्वास्थ्यको महत्वबारे सोच्न बाध्य बनाउँछ । हवाइ यात्राको सुरक्षा सुनिश्चित गर्न उनीहरूको अथक प्रयास र बलिदान साँच्चै सराहनीय र सम्माननीय छ ।
प्रतिक्रिया 4