
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको अहमदावाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एयर इन्डियाको जहाज दुर्घटनाग्रस्त भयो ।
- अहमदावाद दुर्घटनाको प्रकृति हेर्दा नेपालले पुनः एक पटक आफ्नो आकाशमा भएको पछिल्लो सौर्य एयरलाइन्स जहाजको भयानक दुर्घटनालाई सम्झाएको छ ।
२९ जेठ, काठमाडौं । भारतको अहमदावाद अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाडेको केही क्षणमै एयर इन्डियाको एआई-१७१ जहाज जमिनमा बजारिन पुग्यो । बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनाका कारण बिहीबार नागरिक उड्डयन क्षेत्रले एक भयानक क्षति बेहोर्नु पर्यो ।
जहाजमा सवार चालक दलका सदस्यसहित २०० बढी यात्रुको निधन भएको स्थानीय प्रहरी अधिकारीहरूलाई उदृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् । यसबाहेक २० देखि २५ स्थानीय मानिसको समेत ज्यान गएको आशंका छ ।
एउटा दुर्घटनाका कारण आफन्त गुमाउने परिवारमा जीवनभरका लागि बज्रपात पर्छ । त्यसबाहेक जहाज सञ्चालन गरिरहेको कम्पनी, जहाज निर्माता कम्पनी, जहाजको नियमन गरिरहेको नियामक निकायले समेत एक साथ ठूलो क्षति बेहोर्छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, ‘सम्भवत आजको विश्वमा दक्षिण एसियाले आज सबैभन्दा ठूलो हवाई दुर्घटना बेहोरेको छ, यो इतिहासमा पूर्ति गर्ने नसकिने क्षति हो ।’
अहमदावाद दुर्घटनाको प्रकृति हेर्दा नेपालले पुनः एक पटक आफ्नो आकाशमा भएको पछिल्लो भयानक दुर्घटना सम्झाएको छ ।
९ साउन २०८१, बिहान १० बजेर ११ मिनेटको समयमा त्रिभुवन विमानस्थलबाट उडेको सौर्य एयरलाइन्सको सीआरजे ७ (नाइनएन एएमई) जहाज दुर्घटनामा पर्यो । धावनमार्ग छाडेको केही क्षणमै जहाज दाहिनेतिर मोडिन गयो र जहाज विमानस्थल परिसरमै बजारियो ।
अहमदावाद दुर्घटनाको प्रकृति सौर्यसँग मिल्दोजुल्दो छ । विज्ञहरूका अनुसार जहाजको उडान र अवतरणको समय सबैभन्दा बढी संवेदनशील हुन्छ, त्यसकै पुनर्पुष्टि आजको दुर्घटनाले गरेको छ ।
के हुनसक्छ सम्भावित कारण ?
पोखरामा यती एयरलाइन्स दुर्घटना होस् वा काठमाडौंमा सौर्य वा आज गुजरातमा भएको दुर्घटना, यी तीनवटै दुर्घटनाको समान विशेषता छ । जहाज टेक अफ वा ल्यान्डङ गर्ने समयमा दुर्घटनामा परेको छ । यस्तो बेला सम्भावित दुई कारणले जहाज दुर्घटनामा पर्न सक्ने एक वरिष्ठ पाइलट बताउँछन्, प्राविधिक वा मानवीय ।
‘सामान्यतया जहाज टेक अफ वा ल्यान्डिङ गर्ने समयमा इन्जिनमा अतिरिक्त पावर लाग्छ,’ उनी भन्छन्, ‘त्यो समयमा प्राविधिक कारणले एक इन्जिन फेल भयो भने त्यो ढुंगो बराबर हुन्छ, जहाजको लोड सोही इन्जिनतर्फ ढल्किन्छ । त्यसबेला पाइलटसँग यति कम समय हुन्छ कि उसले चाहेर पनि जहाज नियन्त्रणमा लिन सक्दैन ।’ यो अवस्थालाई जहाज स्टल हुनु भनिन्छ ।
अर्कोतर्फ पाइलटले गति र उचाइबीच सही तालमेल मिलाउन सकेनन् भने पनि जहाज असन्तुलित हुनसक्छ । यी तीनवटै दुर्घटनाको समयमा जहाज ‘फुल लोड’को अवस्थामा थिए । त्यसबेला लोड ब्यालेन्स मिलाउन सकिएन भने जहाज अनियन्त्रित हुने सम्भावना हुने उनी बताउँछन् ।
सामान्यतया एभिएसनमा तीन ‘एम ( म्यान, मेसिन र मेथड)’ बीच समन्वय अभाव भयो भने जहाज दुर्घटना हुन्छ भनिन्छ । उनका अनुसार जहाज दुरुस्त थियो कि थिएन भन्ने प्रश्न हुन्छ, पाइलटको भूमिका स्वतः हुने नै भयो ।
त्यसबाहेक जहाजको उडानका लागि जुनजुन प्रविधि जसरी बनाइएको छ, त्यसको त्यसरी नै प्रयोग भयो कि भएन भन्ने कुराले हवाई उडानलाई सुरक्षित बनाउने उनी बताउँछन् । यो संसारभर एउटै रुल्स भएको भन्दै नेपालले समेत यही नै सिक्नुपर्ने उनको भनाइ छ ।
समाचार एजेन्सीहरूका अनुसार एयर इन्डियाको जहाजमा बर्ड हिट (चरा ठोक्किनु)को आशंका गरिएको छ । वरिष्ट भारतीय क्याप्टेन सौरव भटनागरले एनडीटीभीसँग बोल्दै बर्डहिटका कारण दुवै इन्जिन फेल भएको र जहाज खसेको अनुमान गरेका छन् ।
टेकअफ सामान्य रूपले भएको भन्दै उनले गियर माथि लैजानुभन्दा अगाडि नै जहाज तलतर्फ गिर्न लागेको उनले एक बयानमा बताएका छन् । यो इन्जिनले पावर दिन छाडेको अवस्थामा हुने उनको भनाइ छ । यो जहाज अनुभवी पाइलट सुमित सुब्बरवालले उडाएका थिए ।
भारतमा हवाई दुर्घटना जाँच गर्ने स्थायी आयोग छ । नेपालमा जस्तो पटके आयोग गठन गरिँदैन । सोही कारण यहाँ दुर्घटना न्यूनीकरणमा वर्षभर नै काम भइरहेको हुन्छ । यस्तो अवस्थामा प्रि-मनसुन सिजनमा भारतमा भएको असाधारण दुर्घटनाले नेपाललाई समेत चनाखो हुन सचेत गराएको प्राधिकरणका सूचना अधिकारी भुल बताउँछन् ।
आजको दुर्घटनाअघि पाइलटले ‘मेडे’ बोल्दै दुर्घटनाको सम्भावित अवस्थाबारे एटीसीलाई जानकारी गराएका थिए । सामान्यतया पाइलटले रेडियो सन्देशमार्फत तीन पटक मेडे उच्चारण गरेको अवस्थामा जहाज दुर्घटना हुँदैछ वा गम्भीर आपतकालीन अवस्थामा छ भन्ने बुझिन्छ । त्यसपछि आकाशमा रहेका अरु जहाजका पाइलट जहाजले जहाज होल्ड गर्दै अफ्ठयारो अवस्थामा रहेको जहाजलाई अवतरणको मौका दिन्छन् । ग्राउन्डमा समेत आपतकालीन अवस्थामा गर्नुपर्ने सम्पूर्ण तयारीका काम गरिन्छ ।
विमानस्थल नजिकै रहेको वस्तीमा दुर्घटनाग्रस्त भएका कारण एयर इन्डियाका कारण मानवीय क्षति समेत बढी भएको छ । समाचार एजेन्सीहरूका अनुसार दुर्घटनाग्रस्त विमान एक भवनमाथि खसेको थियो । त्यसपछि ठूलो आगोको चपेटामा यात्रु परेका थिए । सो क्रममा केही स्थानीय समेत हताहती भएको खबर छ ।
प्रतिक्रिया 4