+
+
Shares

लण्डन बसाइँको सपना विमानमै अस्तायो

डा. कोनीका दाजु प्रबुद्धले बताएअनुसार डाक्टर दम्पतीका बच्चाहरुको उमेर सानै भएर राहदानी नबन्दा लन्डन जान पाएका थिएनन् । यसबीच डा. प्रतीक लन्डनमै कार्यरत रहँदा उनकी पत्नी र बच्चाहरु उदयपुरस्थित घरमै बस्दै आएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते २०:३५
विमान दुर्घटनाअघि जोशी परिवारको अन्तिम सेल्फी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजस्थानको बाँसवाडा जिल्लाका डाक्टर दम्पती र उनका तीन सन्तानले विमान दुर्घटनामा ज्यान गुमाएका छन्।
  • उनीहरु लन्डन जानको लागि विमान चढेका थिए।
  • दुर्घटनामा २४१ जना यात्रु मृत्यु भएको छ।

३० जेठ, काठमाडौं । राजस्थानको बाँसवाडा जिल्लाका डाक्टर दम्पती आफ्ना बच्चाहरु लिएर लण्डन जान विमान चढेका थिए । तर, तीन सन्तानसहित उनीहरुको परिवार नै बिहिबारको एयर इन्डिया विमान दुर्घटनामा ज्यान गुमाएका छन् ।

डा. प्रतिक जोशी र उनकी श्रीमती डा. कोनी व्यास आफ्ना सन्तान ८ वर्षीय छोरी मिराया र पाँच/पाँच वर्षका छोराहरु प्रद्युत र नकुलसँगै विमानमा सवार थिए ।

एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनरमा सवार उनीहरुले उडान भर्न केहीबेर अघि प्लेनभित्रै परिवार एउटै फ्रेममा देखिनेगरी सेल्फी लिएर फेमली ग्रुपमा सेयर गरेका थिए ।

त्यही नै उनीहरुको अन्तिम तस्वीर बन्यो । उनीहरु चढेको विमान धावनमार्ग उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भयो । दुर्घटनामा विमानमा सवार जोशी परिवारसहित २४१ जनाको मृत्यु भएको छ ।

१६९ जना भारतीय ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानडेली नागरिक आततायीपूर्ण दुर्घटनामा परेर सधैंका लागि अस्ताएका छन् ।

लन्डन बसाइँ सर्ने त्यो सपना

पछिल्लो चार वर्षदेखि डा. प्रतीक रेडियोलोजिस्टका रुपमा लन्डनमा कार्यरत थिए । उनकी पत्नी डा. कोनी व्यास भने राजस्थानको उदयपुरस्थित प्यासिफिक मेडिकल कलेजमा प्याथोलोजिस्ट थिइन् ।

लन्डन बसाइँ सर्ने पारिवारिक सल्लाहा अनुसार डा. कोनीले जागीरबाट राजीनामा दिएकी थिइन् । यो दम्पतीको तीन सन्तान थिए । जसमध्ये दुई छोरा जुम्ल्याहा थिए ।

उनीहरु पहिलोपटक सपरिवार लन्डन बसाइँ सर्ने योजनाअनुरुप विमान चढेका थिए ।

प्लेनभित्रको त्यो अन्तिम सेल्फी

विमानले टेकअफ गर्नुअघि डा. प्रतिकले पत्नी, छोरी र दुई छोरा एउटै फ्रेममा देखिने गरी सेल्फि लिएका थिए ।

तस्वीर खिचेर फेमली ग्रुपमा शेयर गरेकाले त्यो अन्तिम क्षणको दृश्य बाहिर आएको हो ।

जुन तस्वीर उनीहरुको अस्तित्वको अन्तिम क्षण बन्न पुग्यो ।

राहदानीले ढिलाई भयो लन्डन जाने योजना

डा. कोनीका दाजु प्रबुद्धले बताएअनुसार डाक्टर दम्पतीका बच्चाहरुको उमेर सानै भएर राहदानी नबन्दा लन्डन जान पाएका थिएनन् ।

यसबीच डा. प्रतीक लन्डनमै कार्यरत रहँदा उनकी पत्नी र बच्चाहरु उदयपुरस्थित घरमै बस्दै आएका थिए ।

दुर्घटनाको तीनअघि मात्रै प्रतीक बाँसवाडास्थित घर आएका थिए । उनले पत्नी कोनीलाई जागीर छाड्न र लन्डन जान प्रस्ताव गरे ।

कोनीले सहमति जनाएपछि उनीहरुले सपरिवार लन्डन बसाइँ सर्न फ्लाइट टिकेट बुक गरे ।

विदाई गर्न विमानस्थल आएका थिए परिवार

जोशी र व्यास दुवै परिवारका सदस्यहरू अहमदाबादस्थित सरदार बल्लभ भाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुलाई विदाई गर्न आएका थिए ।

विमान उडेलगत्तै दुर्घटनाको खबर आयो र दुवै परिवार तत्कालै घटनास्थलतर्फ फर्किए ।

दैनिक भास्करको अंग्रेजी संस्करणमा प्रकाशित रिपोर्टअनुसार हालसम्म डा. प्रतीक, डा. कोनी र उनीहरुको सन्तानको शव फेला परेको छैन ।

विमान दुर्घटनाले अहिले बाँसवाडा नै बिक्षिप्त बनेको छ ।

घुमफिरमा रमाउने परिवार

आफन्तहरुका अनुसार जोशी दम्पती प्रायः बच्चाहरु साथै लिएर घुमफिर गरिरहन्थे ।

यसपटक उनीहरु लन्डन बसाइँ सरेर नयाँ जीवन सुरु गर्ने सपना बुनिरहेका थिए ।

बच्चाहरु पनि वर्षौंपछि पितासँगै बस्न पाउनु हुँदा निकै खुशी थिए ।

घरमै पुगे उच्च अधिकारी

बाँसवाडामा दुर्घटनाको खबर पुग्नासाथ मृतक जोशी दम्पतीको घरमा आफन्त र छिमेकीहरुको भीड लागेको थियो ।

कलेक्टर डा. इन्द्रजीत यादव, एसपी हर्षवर्धन अग्रवालसहित सरकारी अधिकारीहरु पनि जोशी परिवारलाई श्रद्धाजली दिन पुगेका थिए ।

डा. कोनीका बुबा अनिल व्यास लोक निर्माण विभाग (पीडब्ल्यूडी) अवकास प्राप्त पूर्व इन्जिनियर हुन् भने प्रतीकका बुबा जयप्रकाश जोशीले बाँसवाडामै रेडियोलोजिस्टका रुपमा सोनोग्राफी सेन्टर चलाउँदै आएका छन् ।

शोकमा डुब्यो बाँसवाडा

विमान दुर्घटनापछि सिंगो बाँसवाडा सहर नै स्तब्ध बनेको छ । लन्डन बसाइँ सर्न विमान चढेका पाँच सदस्यीय जोशी परिवारको निधनले आफन्त र छिमेकीहरु शोकमा डुबेका छन् ।

उनीहरुको अन्तिम सेल्फी अहिले परिवारजनका लागि पीडादायी सम्झना बनेको छ ।

अहमदाबाद विमान दुर्घटना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?