
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी जहाज निर्माता बोइङको ७८७ ड्रिमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटना हुँदा २४१ जनाको मृत्यु भयो।
- एयर इन्डियाको विमान दुर्घटनाको कारण खुलिसकेको छैन, तर इन्जिनमा समस्या हुन सक्ने आशंका गरिएको छ।
- सन् २०११ देखि सेवा सञ्चालनमा रहेको यो मोडेल पहिलो पटक दुर्घटनामा परेको हो।
३० जेठ, काठमाडौं । एयर इन्डियाले सञ्चालन गर्दै आएको बोइङ–७८७ ड्रिमलाइनर विमान इतिहासमा पहिलो पटक दुर्घटना भएको छ ।
अमेरिकी जहाज उत्पादक कम्पनी बोइङको ७८७ ड्रिमलाइनर मोडेलको विमानलाई सर्वाधिक सुरक्षित मानिन्थ्यो । तर, २४१ जनाको मृत्यु हुने गरी भारतको अहमदाबादमा विहीबार भएको दुर्घटनाले यसप्रतिको विश्वनीयतामाथि गम्भीर प्रश्न उठेको छ ।
सन् २०११ मा सेवा सुरुवात गरेको यो मोडेलको विमान पहिलो पटक दुर्घटनामा परेको द गार्जियनले जनाएको छ ।
औंल्याइएको थियो इन्जिनमा समस्या
एयर इन्डियाको जहाज दुर्घटनाको कारण खुलिसकेको छैन तर बोइङ ७८७ ड्रिमलाइनर विमान प्रयोग गर्ने विभिन्न देशका एयरलाइन्सले विगतमा यसको इन्जिनमा गम्भीर समस्या औंल्याएका थिए । जसका कारण धेरै विमानहरू ग्राउन्ड हुनुका साथै उडानहरू कटौती गर्नुपरेको थियो ।
अमेरिकी उड्डयन सुरक्षा निकाय, फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले पछिल्ला वर्षहरुमा बोइङ ७८७ ड्रिमलाइनरको उडान क्षमताबारे उठेका प्रश्नहरुबारे अनुसन्धान समेत गरेको थियो ।
सन् २०२३ मा ल्याटम एयरलाइन्सको एउटा उडानमा ‘मीड एयर डाइभ’ अर्थात् उचाइ नलिने समस्या पाइएको थियो ।
गत वर्ष वासिङ्टनमा भएको सुनुवाइमा एक पूर्व इन्जिनियरले विश्वभरका सबै ड्रिमलाइनर विमानहरू ‘ग्राउन्ड’ गर्न आग्रह गरेका थिए । तर, जहाज उत्पादक कम्पनी बोइङले ती दाबीहरुलाई अस्वीकार गर्दै ड्रिमलाइनर विमानप्रति पूर्ण विश्वास रहेको प्रतिक्रिया दिएको थियो ।
१ हजार १०० भन्दा बढी बोइङ ७८७ ड्रिमलाइनर मोडेलका विमानहरु सेवामा
हाल विश्वभर बोइङका १ हजार १०० भन्दा बढी ७८७ ड्रिमलाइनर मोडेलका विमानहरु सेवामा छन् । यो मोडेलको विमान अधिकांश अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुन्छन् ।
पुराना विमानहरुका तुलनामा बोइङ ७८७ ड्रिमलाइनरलाई इन्धन कम खपत गर्ने, आवाज कम निकाल्ने र सुरक्षित भनेर प्रशंसा गरिन्थ्यो ।
अमेरिकी कम्पनी बोइङका अन्य मोडेलका जहाज भने यसअघि पनि दुर्घटनामा परेको इतिहास छ ।
बोइङको अर्को मोडेल ७३७ म्याक्स सन् २०१८ मा इन्डोनेसिया र २०१९ मा इथोपियामा दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि ७३७ म्याक्सलाई झन्डै एक वर्ष उडानमा प्रतिबन्ध लगाइएको थियो ।
गत महिनामात्रै बोइङले इन्डोनेसिया र इथोपियाको दुर्घटना सम्बन्धीमा मुद्दामा अमेरिकी न्याय मन्त्रालयसँग १ दशमलब १ अर्ब डलर बराबरको सम्झौता गरी अभियोजन टार्ने सहमति गरेको थियो ।
बोइङ र अमेरिकी न्याय मन्त्रालय बीचको उक्त सम्झौतालाई दुर्घटनाका पीडित परिवारतर्फबाट पैरवी गरेका वकिलले भने ‘नैतिकरुपमा घृणित’ भनेका थिए ।
भारतमा बिहीबार अहमदाबादबाट लन्डनका लागि उडेलगत्तै दुर्घटनामा परेको बोइङ ७८७ विमानमा २३२ याक्रुसहित १० जना क्रु मेम्बरमध्ये एक जनामात्रै जीवित छन् ।
भारतको इतिहासमा उडड्यन सुरक्षाको इतिहास मिश्रित छ । पछिल्लो समय भारतमा विमान सेवा लोकप्रिय हुँदै गएको छ र सुरक्षा चुनौतीमा उल्लेखनीय सुधार भएको पाइन्छ ।
एयर इन्डियाको विमान पछिल्लो पटक सन् २०२० को अगस्टमा दुर्घटनामा परेको थियो ।
बोइङ ७३७–८०० मोडेलको विमान त्यतिबेला केरलाको कालिकट विमानस्थलमा अवतरण गर्नेक्रममा धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।
हाल टाटा ग्रुपको स्वामित्वमा रहेको एयर इन्डियाले बोइङका ३४ वटा ड्रिमलाइनर विमानमार्फत सेवा दिँदै आएको छ । समाचार संस्था गार्जियनका अनुसार एयर इन्डियाले अमेरिकी कम्पनी बोइङसँग सोही मोडेलका थप २० विमान खरिदका लागि सम्झौता गरिसकेको छ ।
एयर इन्डियाले सन् २०१२ देखि बोइङको ७८७ ड्रिमलाइनर विमान प्रयोग गर्दै आएको हो । सरकारी स्वामित्वमा रहेको कम्पनी एयर इन्डियालाई सन् २०२२ मा पुनः टाटा ग्रुपले किनेर विमानहरुको स्तरवृद्धि गर्ने घोषणा गरेको थियो ।
तर बोइङकै ढिलाइका कारण माग अनुरुप ७८७ ड्रिमलाइनर प्राप्त गर्न नसक्दा विभिन्न उडान क्षेत्रमा एयर इन्डियाले पुरानै विमानहरु प्रयोग गर्दै आएको छ ।
अमेरिकाको चासो
बोइङ कम्पनीको विमान दुर्घटनामा परेकाले अमेरिकाले पनि यसमा चासो देखाएको छ । तर, आइकाओको नियम अनुसार यसको छानबिन भारतकै नेतृत्वमा हुनेछ ।
बेलायती नागरिकहरू पनि दुर्घटनामा परेकाले बेलायतको एयर एक्सिडेन्ट इन्भेस्टिगेसन ब्रान्च, अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड र बोइङ कम्पनीका विज्ञ पनि अनुसन्धानमा सहभागी हुने बताइएको छ ।
दुर्घटनापछि जहाज उत्पादक कम्पनी बोइङका प्रवक्ताले आफूहरु एयर इन्डियासँग सम्पर्कमा रहेको भन्दै आवश्यक सबै सहयोग गर्ने बताएका छन् ।
दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’ (जसमा ककपिटमा अन्तिम समयमा चालकदलका सदस्यहरुको आवाज र फ्लाइट डाटा रेकर्ड हुन्छ) को खोज र विश्लेषणलाई आधारमा मानेर अनुसन्धान अघि बढ्नेछ ।
‘दुर्घटनाको प्रकृति असामान्य’
सीसीटीभी फुटेज र दुर्घटनापछि सार्वजनिक भएका भिडियोमा विमान धावनमार्गबाट उडेको केहीबेरमै तल झर्न थालेको देखिन्छ ।
फ्लाइट राडारका अनुसार टाटा एयरलाइन्सको दुर्घटनामा परेको विमान अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गरेर अधिकतम् १९० मिटर (६२५ फिट) को उचाइमा मात्रै पुगेको थियो ।
इतिहास हेर्दा सामान्यतः विमान उडान भर्दा र अवतरण गर्दाकै समयमा सबभन्दा बढी दुर्घटनामा परेका छन् । तर, अहमदाबादको घटनामा भने मौसम समेत अनुकूल रहेको र पाइलट विमानको उडान उचाइ बढाउन खोज्दाखोज्दै पनि दुर्घटना भएकाले स्पष्ट कारण खुलेको छैन ।
विमान दुर्घटनासम्बन्धी अनुसन्धानमा संलग्न डेभिड ग्लिभले बीबीसीसँग कुरा गर्दै दुर्घटनाको प्रकृति असामान्य भएको बताएका छन् । ‘यो एकदमै असामान्य दुर्घटना हो, विमान उडेलगत्तै यति गम्भीर समस्या समस्या आउनु सामान्य होइन, ड्रिमलाइनर आफैंमा सुरक्षित विमान हो ।’
इङल्यान्डको युनिभर्सिटी अफ योर्कका प्राध्यापक जोन म्याकडर्मिडले गार्जियनसँग कुरा गर्दै भनेका छन्, ‘पाइलटहरूले अन्तिम क्षणसम्म पनि उडान रोक्न सक्छन्, त्यसैले यो समस्या एक्कासी र यति गम्भीर रूपमा आएको देखिन्छ, जसलाई सम्हाल्न सम्भव भएन ।’
इङल्यान्डकै युनिभर्सिटी अफ पोर्ट्समाउथका फ्लुइड मेकानिक्सका प्राध्यापक जेसन नाइटका अनुसार इन्जिन फेल भएर हुने यस्ता दुर्घटना प्रायः चरा ठोक्किएर हुने गर्छ ।
प्रतिक्रिया 4