+
+
Shares

एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि

मृतकका परिवारलाई टाटाले जनही एक करोड क्षतिपूर्ति दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते ६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अहमदावादमा एयर इन्डियाको बोइङ ७८७-८ विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ।
  • गृहमन्त्री अमित शाहले दुर्घटनास्थलको अवलोकनपछि एक यात्री मात्रै बाँच्न सफल भएको जानकारी दिए।
  • टाटा कम्पनीले मृतकका परिवारलाई एक करोड क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको घोषणा गरेको छ।

३० जेठ, काठमाडौं । भारतको अहमदावादमा एयर इन्डियाको जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ । एयर इण्डिया आफैंले सोसल मिडिया एक्समार्फत् यो जानकारी दिएको हो ।

घटनास्थलको अवलोकन गरेका भारतीय गृहमन्त्री अमित शाहले पनि विमानमा रहेका कुल २४२ जनामध्ये एक जना मात्र बँचेको र उनीसँग आफूले कुराकानी गरेको जानकारी पत्रकारहरुलाई दिएका छन् ।

विहीबार दिउँसो भारतीय समय अनुसार २ बजेर ३८ मिनेटमा अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान २ बजेर ४० मिनेटमै खसेर आगो लागेको थियो ।

टाटा कम्पनीको स्वामित्वको सो विमानमा २३० यात्रु र १२ जना ‘क्रु मेम्बर’ (चालक दलका सदस्य)हरु थिए । एक जना यात्री भने उछिट्टिएर बाँच्न सफल भएका छन् । उनको उपचार जारी छ । ती यात्री भारतीय मूलका ब्रिटिश नागरिक हुन् ।

घटनास्थलको अवलोकन गरेका गृहमन्त्री अमित शाहले पत्रकारहरुसँग भनेका छन्, ‘सवा लाख लिटर इन्धन भएकाले आगो यति भयानक थियो कि एक यात्री बाहेक अरु सबैको मृत्यु भएको छ र लगभग सबैको शव संकलनको काम सकिएको छ ।’ उनले शवहरुको डीएनए टेस्ट गरेर मृतक संख्याको आधिकारिक घोषणा गरिने बताएका छन् ।

यो दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यसैबीच टाटा कम्पनीले विमान दुर्घटनामा मृत्यु भएका सबै यात्रुका परिवारलाई जनही एक करोडको दरले क्षतिपूर्ति दिने र घाइतेहरुको निःशुल्क उपचार गरिदिने जनाएको छ । विमान ठोक्किएर क्षतिग्रस्त भएको घर पुनर्निर्माण गरिदिने घोषणा पनि टाटाले गरेको छ ।

विमान दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतादेखि अमेरिकी, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, मालदिभ्स, नेपाल लगायतका देशका सरकारसम्मले शोक व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?