+
+
Shares

एयर इन्डिया दुर्घटना : ‘ब्ल्याक बक्स’बाट सफलतापूर्वक डाउनलोड भयो डाटा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारत सरकारले एयर इन्डियाको विमान दुर्घटनाको ब्ल्याक बक्सबाट डाटा सफलतापूर्वक डाउनलोड गरेको जानकारी दिएको छ।
  • दुर्घटनामा २४१ जना यात्रु र ३४ जना जमिनमा रहेका व्यक्तिहरूको मृत्यु भएको थियो।
  • डाटा विश्लेषणपछि पाइलट र चालकदलबीचको संवाद र विमानको स्थिति सम्बन्धी जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

१२ असार, नयाँ दिल्ली । गत जुन १२ मा भएको एयर इन्डियाको विमान दुर्घटनाको अनुसन्धानमा एक चरणको सफलता प्राप्त भएको छ। भारत सरकारका अनुसार दुर्घटनामा फेला परेका ‘ब्ल्याक बक्स’ (फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर) बाट आवश्यक डाटा सफलतापूर्वक डाउनलोड गरिएको छ र अहिले विश्लेषण प्रक्रिया जारी छ।

दुर्घटनामा एयर इन्डियाको एआई १७१ बोइङ ७८७-८ ड्रीमलाइनर जहाज उडान सुरु गरेको ३६ सेकेन्डमै खसेको थियो। उक्त दुर्घटनामा विमानमा सवार २४१ जनाको मृत्यु भएको थियो भने जमिनमा रहेका ३४ जनाको पनि ज्यान गएको थियो।

दुर्घटनामा ब्ल्याक बक्सहरू क्षतिग्रस्त भएकोले उपयोगी डाटा निकाल्न सकिने वा नसकिने भन्ने चिन्ता थियो। प्रारम्भमा ती उपकरणहरूलाई अमेरिकामा फरेन्सिक विश्लेषणका लागि पठाउने सम्भावना रहेको थियो।

तर, भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी)ले क्र्याश प्रोटेक्सन मोड्युल (सीपीएम) र मेमोरी मोड्युल सुरक्षितरूपमा निकालेर डाटा सफलतापूर्वक डाउनलोड गरेको हो।

दुई ब्ल्याक बक्समध्ये एक होस्टलको छानामा फेला परेको थियो भने अर्को दुर्घटनास्थलको भग्नावशेषबाट निकालिएको थियो। दुवैलाई मंगलबार दिल्लीस्थित एएआईबीको ल्याबमा सुरक्षित रूपमा पठाइएको थियो। पहिलो बक्स दिउँसो २ बजे र दोस्रो बेलुका ५:१५ बजे ल्याबमा पुगेको थियो।

त्यसै दिनदेखि डाटा निकाल्ने कार्य सुरु गरिएको थियो र बुधबारसम्ममा प्रक्रिया पूरा भएको सरकारद्वारा जानकारी दिइएको छ।

ककपिट भ्वाइस रेकर्डरबाट पाइलट र चालकदलबीचको संवाद, तत्कालीन ध्वनिहरू र प्रतिक्रिया बुझ्न सकिनेछ भने फ्लाइट डाटा रेकर्डरबाट विमानको उचाइ, गतिको अवस्था, नियन्त्रण प्रणाली र इन्जिन प्रदर्शनसम्बन्धी विवरण प्राप्त हुने बताइएको छ।

सरकारका अनुसार अहिले दुवै रेकर्डरबाट प्राप्त डाटाको विश्लेषण भइरहेको जनाएको छ ।

-एनडीटिभीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?