Comments Add Comment

अब को बन्ला पशुपतिनाथको मूल पूजारी ?

६ असोज काठमाडौं । हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथका मूल पूजारी महाबलेश्वरले राजीनामा दिएपछि शनिबारदेखि मूल भट्टको पद खाली भएको छ । भारतको तामिलनाडूका महावलेश्वरले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला ४ वर्षअघि पनि राजीनामा दिनुभएको थियो । उहाँको ठाउँमा माओवादी सरकारले नेपाली पूजारी नियुक्त गरे पनि व्यापक विरोध भएपछि महावादेश्वरलाई नै फिर्ता गर्दै सरकार पछि हटेको थियो ।pashupatinath-mandir

आफ्नै व्यक्तिगत कारण देखाई माता पिता विरामी रहेको जनाउँदै मूलभट्ट महावलेश्वरले शनिबार पुनः स्वेच्छिक राजीनामा दिनुभएको हो । बिहीबारमात्रै पशुपति क्षेत्र विकास कोषको बैठकले मूल भट्ट र पुजारीहरुको तलब भत्ता बढाएर वाषिर्क एक करोड बनाउने निर्णय गरेको थियो । साथै मुल भट्टका परिवारलाई निशुल्क हवाइ टिकटको समेत घोषणा गरिएको थियो । तर, कोषले सुविधा बढाउने निर्णय गरेको दुई दिनपछि मूल भट्टले अकस्मात राजीनामा दिनुभएको छ ।

पुजारीको सुविधा बढाउनुका साथै मूलभट्टको राजीनामाले पशुपतिनाथमा पुनः विवाद जन्मिएको छ । पुजारीको सुविधा बढाइएको विषयमा कोषभित्रैबाट विरोध भएको बताइन्छ । साथै अब नयाँ मूलभट्ट कसलाई बनाउने भन्ने समस्या पनि सिर्जना भएको छ । तर, विगतको परम्परा हेर्दा पशुपतिनाथमा भारतीय पुजारी नै नियुक्त गर्नुपर्ने बाध्यतामा छ नेपाल सरकार ।

यस्तो थियो प्रचण्डका पालाको विवाद

प्रचण्ड सकरारका तत्कालीन संस्कृतिमन्त्री गोपाल किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा परमानन्द शाक्यलाई नियुक्त गरेपछि आफूलाई काम गर्न अप्ठ्यारो भएको भन्दै भारतीय मूलका मूलभट्ट महावलेश्वरले राजीनामा दिनुभएको थियो । त्यससँगै उत्तर मुहारका पुजारी श्रीकष्णयोग भट्ट र बासुकीनाथका पुजारी रामचन्द्र भट्टले पनि राजीनामा दिनुभएको थियो ।

पुजारीहरुले राजीनामा दिएको दुईमहिनापछि सरकारले पशुपतिनाथको मूल पूजारीमा नुवाकोटका डा. विष्णुप्रसाद दाहाल र बासुकीनाथको पुजारीमा सिन्धुपाल्चोकका शालिकराम ढकाललाई नियुक्त गरेको थियो । तर, सरकारले गरेको नेपाली पुजारी नियुक्तिको व्यापक विरोध भयो । नेपाली पुजारीहरुको नियुक्तिको विरोध गर्दै पशुपतिनाथका चारै ढोकाका भण्डारीहरुले साँचो नखोलिदिँदा पूजाआजासमेत अवरुद्ध भएको थियो । सरकारको पक्षबाट ताल्चा काटेर पुजारीहरुलाई मन्दिर प्रवेश गराइएको थियो ।

नेपाली पुजारी नियुक्तिको घटनाबारे पूर्वराजा ज्ञानेन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेसमेतले भारतीय पुजारीको पक्षमा वकालत गरेका थिए भने सत्तारुढ माओवादीले नेपाली पुजारी नियुक्त हुनुपर्ने अडान राखेको थियो । पशुपतिमा विवाद भएपछि भारतीय समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह र महासचिव अमर सिंहले पहुपतिनाथको दर्शन गर्ने कार्यक्रम स्थगन गरेका थिए । भारतीय पुजारीको स्वेच्छिक राजीनामापछि नेपालीलाई पुजारी नियुक्त गरिएको विरोधमा पशुपतिक्षेत्रमा केही दिन आन्दालने चर्किएको थियो । भारतीय पुजारीको समर्थनमा आयोजित कार्यक्रममा माओवादी कार्यकर्ताले बल प्रयोगसमेत गरेका थिए । तर, अन्तिममा माओवादीले हारेर नेपाली पुजारी नियक्तिको निर्णयबाट पछि हट्नुपरेको थियो । पशुपतिनाथमा अढाइसय वर्ष अघिदेखि भारतीय भट्ट मूल पुजारी रहने प्रचलन छ ।

सञ्चालक समितिमा १६ सदस्यमात्रै

व्यवस्थापिका संसद र स्थानीय निकाय नरहेका कारण हाल २१ सदस्यीय पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदमा १७ जना मात्रै पदाधिकारी छन् । मूल भट्टले राजीनामा दिएपछि सदस्यसंख्या १६ मात्रै छ । कोषले मन्दिरको व्यवस्थापन र पुजारीहरुको नियुक्तिमा महत्वपूर्ण भूमिका खेल्छ ।

सञ्चालक परिषदको संरक्षकमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, अध्यक्ष संस्कृतिमन्त्री रामकुमार श्रेष्ठ र सदस्य सचिवमा डा. गोविन्द टन्डन हुनुहुन्छ । त्यसैगरी कोषाध्यक्षमा तारानाथ सुवेदी र सदस्यहरुमा राष्ट्रिय योजना आयोगका संस्कृति हेर्ने सदस्य, संस्कृति मन्त्रालय, गृह र भौतिक योजना मन्त्रालयका सचिवहरु र गुठी संस्थानका अध्यक्ष रहने प्रावधान छ । व्यवस्थापिकाका संसद अन्तरगत जनसंख्या तथा सामाजिक समितिका सभापति र पशुपति क्षेत्रका सांसदको पद अहिले खाली छ । काठमाडौं जिविस सभापति, महानगरपालिकाका मेयर पनि छैनन् ।

सञ्चालक कोषका अन्य सदस्यहरुमा प्रवेशराम भण्डारी, उमेश कुइँकेल, सुनील बंशल, सुलोचना डंगोल, शीला पन्त, गणेशप्रसाद अधिकारी र कोकिल गोविन्द श्रेष्ठ हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment