Comments Add Comment

काठमाडौंलाई बाई बाई ! दशैं हाई हाई !

२३ असोज, काठमाडौ । कलंकी चोकको आकाशे पुलमा अरु समयमा ट्राफिक सचेतनासम्वन्धी सन्देश बज्ने माइकमा गीत घन्किरहेको थियो- यसपालि त यस्तै भो आमा, अर्कोपालि म आउँला दसैंमा ! नेपालीहरुको प्रमुख ठूलो पर्व दसैं मनाउन घर फर्कन हतारिनेहरुको दौडधुप चलिरहँदा दसैंमा घर जान नपाएकाहरुको भने आकाशे पुलमा बजिरहेको गीतले मन खल्लो बनाइरहेको थियो ।

dashain-rush2

साथीलाई विदाई गर्न कलंकी पुगेका सल्यानका सन्तोष विकले यो पटक दसैंमा घर जान नपाउँदा साहै्र नरमाइलो लागेको बताउनुभयो । ‘यो दसैंमा घर जान पाइएन । घरको रमाइलो सम्झदैं काठमाडौंमै बस्नुपर्ने भयो ।’, ‘साथीभाइ सबै गाउँ गए अफिसले केही दिनको मात्र छुट्टी दिने भनेपछि यो पटक यतै दसैं मनाइने भइयो ।’

राजधानीबाट देशका अन्य भागमा जाने प्रमुख नाका कलंकीबाट गाडी चढेर दसैं मनाउन जानेहरुको लर्को आजबाट झनै बढेको छ । दसैं मनाउन हिंडेकाहरुमा देखिएको खुसी हेर्दा यो पटक गाउँ गाउँमा दसैं उल्लासमय हुने अनुमान गर्न सकिन्थ्यो ।

यातायात व्यवसायीले १५ दिनअघि देखि नै टिकट बुकिङ खुला गरेपनि टिकट नपाएकाहरु बसको सिट पाउने आशमा भौतारिइरहेका थिए । धरान जान लागेका धनकुटाका रविन राई टिकट नपाएपछि मुडामा भएपनि बसेर जाने बताउँदै थिए । ‘टिकट काट्न जाँदा कहीं पनि पाइन, दसैं मनाउन ३ वर्षपछि घर जान लागेकाले मुडैमा भएपनि बसेर जान खोजेको त्यही पनि पाएको छैन ।’ राईले भन्नुभयो ।

dashain-rush12

कलंकी चोकमा ट्राफिक व्यवस्थापन मिलाइरहेका ट्राफिक प्रहरी जवान शिव केसी आजबाट दसैं मनाउन जानेको संख्या हृवात्तै बढेको बताउँदैहुनुहुन्थ्यो । देशका पूर्वी र पश्चिमी जिल्लामा जान कलंकी चोकमा पुगेका वसका कर्मचारीहरु घर जान पर्खदै गरेका यात्रुहरुलाई मुडामा बसेर जान आग्रह गर्दै थिए । धरान जान लागेको चण्डिका ट्राभल्सका खलाँसी शिव पराजुली मुडामा जाने यात्रुलाई छुट दिन भन्दै यात्रुलाई डाकिरहेका भेटिए ।

साउदी अरबबाट फर्केर घर जाने हतारमा रहेका सिरहाका सन्तोष चौधरी उभेर भएपनि जान तयार देखिनुभयो । ‘बल्ल बल्ल देश फर्केको छु । दुखः भोगेर भएपनि घर जाने हो ।’, चौधरीले भन्नुभयो, ‘तीनसाल खाडी बसेर आएको दुखः सम्झदा यो दुखः केही होइन । भोलि विहान त घर पुग्नु छ ।’

दसैंमा घर जानेहरु बढेपछि उपत्यका पनि क्रमशः सुनसान बन्दै गएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार मंगलबार सम्ममा करिव साढे ११ लाख मानिसहरुले उपत्यका छाडिसकेका छन् ।

dashain-rush14

घटस्थापना शुरु भएपछि दसैं मान्न घर फर्कनेको संख्या बढेको छ । ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने थानकोटसहितका नाकामा निगरानी कडाई गरेर क्षमताभन्दा बढी यात्रु बोक्ने गाडीलाई कारवाही गरिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उपत्यका बाहिर यात्रु लैजान हालसम्म करिव ३१ हजार वटा सवारीसाधन परिचालित भएका छन् । यातायात व्यवसायीहरुले दसैंमा उपत्यका छाड्ने यात्रुहरुलाई लक्षित गरेर करिव ५ करोड बराबरका २ सय वटा सुविधायुक्त नयाँ बसहरु थपेको जनाएका छन् ।

dashain-rush10

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment