Comments Add Comment

भोजपुर नेकपा एकता टुंगियो, कुन स्थानीय तहको नेतृत्व कसलाई ?

भोजपुर । भोजपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियाको टुङ्गो लागेको छ । जिल्ला कार्यदलको बैठकले भोजपुरको ९ वटा स्थानीय तहमध्ये ५ वटामा पूर्वएमाले र ४ वटामा पूर्वमाओवादीले नेतृत्व लिने निर्णय गरिएको छ ।

कार्यदलका सदस्य राजेश खतिवडाकाअनुसार साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र हतुवागढी गाउँपालिकामा पूर्व एमालेले नेतृत्व लिएको छ ।

त्यस्तै पूर्वमाओवादीले आमचोक गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, पौवादुङ्मा गाउँपालिका र अरुण गाउँपालिकामा नेतृत्व लिने निर्णय गरिएको छ ।

स्थानीय तहका कुल ८१ वटा वडामध्ये ५२ वडामा पूर्वएमालेले अध्यक्षसहित ५३ प्रतिशत र २९ वडामा पूर्वमाओवादीले अध्यक्षसहित ४७ प्रतिशत नेतृत्व लिएको छ ।

स्थानीय तहको चुनावमा ३७ वडामा पूर्व एमाले, २५ वडामा नेपाली कांग्रेस, १८ वडामा पूर्व माओवादी र १ वडामा संघीय समाजवादी फोरमले जितेको थियो ।

स्थानीय तहको कमिटीहरुको नेतृत्वको हकमा प्राय सबैको नाम तय भइसकेको छ । वडाको नेतृत्व तथा अन्य तहमा अब बैठक बसेर २/३ दिनभित्रै नामावली टुङ्गयाइने पूर्व एमाले सचिव शरणकुमार राईले बताए ।

कार्यदलले यसअघि नै जिल्लाको नेतृत्वका लागि नाम सिफारिश गर्नुका साथै नामावली टुङ्गयाइसकेको छ । जिल्ला नेतृत्वमा पूर्व एमालेतर्फबाट अध्यक्षमा देवीराम चौलागाई र शरणकुमार राईको नाम सिफारिस भएको छ । त्यस्तै पूर्वमाओवादी तर्फबाट सचिवमा थामप्रसाद राई र नगेन्द्र भुजेलको नाम सिफारिस गरिएको छ ।

पूर्व एमालेको ५३ प्रतिशत र पूर्व माओवादीको ४७ प्रतिशत रहने गरि बनाइने जिल्ला कमिटी कुल १ सय ३५ सदस्य रहने बताइएको छ ।

जिल्लाको पार्टी एकतालाई सम्पन्न गर्न बनाइएको जिल्लास्तरीय कार्यदलमा नेकपाका केन्द्रीय सदस्यहरु जयन्ती राई, सुदन किराती, हरिबहादुर राई साथै अन्य नेताहरु प्रेमकुमार राई, देवीराम चौलागाई, दिलकुमार राई, राजेश खतिवडा र विमल खड्का छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment