Comments Add Comment

एक सेकेण्डले जोगियो काठमाडौं आउँदै गरेको विमान !

४ चैत,काठमाडौं । पाकिस्तानले आफ्नो आकाशमाथि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि भारतीय आकाशमा हवाई ट्राफिकको चाप बढ्दा दुई विमान केही सेकेण्डको साबधानीका कारण ठोक्किनबाट जोगिएका छन् ।

भारतको प्रमुख सन्चारमाध्यम टाइम्स अफ इण्डियाले मुम्बई एयर ट्राफिक कन्ट्रोललाई उधृत गर्दै जनाए अनुसार गत शुक्रवार अपरान्ह काठमाडौं आउँदै गरेको इत्तेहाद एयरलाइन्स र पेरिसतर्फ गइरहेको एयर फ्रान्सका जहाज केही सेकेण्डको दूरीमा ठोक्किनबाट जोगिएका हुन् ।

आबुधाबीबाट काठमाडौं आउँदै गरेको इवाइ २९० विमान ३१ हजार फिटको उचाइमा उडिरहेको थियो भने भियतनामबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ जहाज ३२ हजार फिटको उचाइमा उडिरहेको थियो ।

अपरान्ह १ बजेर ४० मिनेटको समयमा मुम्बई एयर ट्राफिक कन्ट्रोलले इत्तेहादको उडानलाई ३३ हजार फिटमा जान निर्देशन दियो । काठमाडौं आउँदै गरेको जहाजले उचाइ लिने क्रममा विपरित दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने सामने भयो ।

स्रोतलाई उधृत गर्दै टाइम्स इण्डिया लेख्छ-दुई एयरक्राफ्ट मात्र तीन नटिकल माइल टाढा थिए । यो भनेको केही सेकेण्डको मात्र फरक हो । तर दुवै पाइलटको सावधानीका कारण विमानहरु आकाशमै ठोक्किनबाट जोगिए ।

यो घटनालाई भारतीय अधिकारीहरुले अनुसन्धानमा राखेका छन् । पाकिस्तानले भारतसँग तनावपछि आफ्नो आकाश बन्द गरेका कारण भारतीय आकाशमा विमानको चाप अधिक छ । यो घटनाको छानविन गरी लापरवाही गर्ने माथि कारवाहीको तयारी भइरहेको छ ।

पाकिस्तानको आकाश नखुलेका कारण नेपालतर्फ आउने अन्तर्राष्ट्रिय जहाजहरु हिन्द महासागरको माथिमाथि भारत छिरेर आउने गर्छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment