Comments Add Comment

व्यवसायीले भने- झिलिमिली वत्तिको बिक्री आधा घट्यो

१६ कात्तिक, काठमाडौं । झिलिमिली इलेक्टि्रक वत्तिको सबैभन्दा बढी कारोबार हुने चाड तिहार सुरु भइसक्दा समेत इलेक्टि्रक पसलहरु सुनसान देखिन्छन् । विगतका तिहारहरुमा झिलिमिली वत्ति किन्ने ग्राहकहरुको बाक्लो भिड लाग्ने गरेको भएपनि यस वर्ष ग्राहकहरुको संख्या झण्डै आधा घटेको व्यवसायीहरुले बताए ।

झिलिमिली वत्तिहरु पाइने राजधानीको भोटेबहालका पसलहरुमा पसलेहरु ग्राहक कुरेर बसेको देखिन्छ । तिहारका वत्तिको कारोबार गत वर्षको तुलनामा यस वर्ष ३० देखि ४० प्रतिशतसम्म घटेको भोटेबहालस्थित सोमी ट्रेडर्सका दीपक भुजेलले बताउनुभयो । गत वर्षको तिहारमा दैनिक एक लाख रुपैयाँसम्म झिलिमिली वत्तिको कारोबार गरेकामा यस वर्ष मुस्किलले ४०-५० हजार रुपैयाँसम्मको कारोबार भइरहेको छ ।

Tihar-Light

 डलर र भन्सारले ३० प्रतिशत मूल्य बढ्यो

यस वर्ष अप्रत्यासित रुपमा बढेको अमेरिकी डलरको भाउ र सरकारले बढाएको ५ प्रतिशत भन्सारका कारण इलेक्टि्रकल समानको मूल्य वृद्धि ३० प्रतिशतसम्म बढेको छ । नेपालमा आउने इलेक्टि्रक वत्तिमध्ये ५० प्रतिशतभन्दा बढी चिनबाट आउँछन भने बाँकी भारतबाट आयात हुन्छन् । चिनबाट आयात हुने वत्तिमा बढेको डलरले प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।

 गत साल तिहारमा ५ लाखको झिलिमिली वत्ति बिक्री वितरण गरेको बताउने युनिक लाइटले यस वर्ष साढे २ लाखको पनि वत्ति बिक्री नहुने गुनासो सुनायो । विगतका वर्षमा किनेका वत्ति नबिगि्रएसम्म नयाँ वत्ति खरिद नगरिने हुँदा पनि झिलिमिली वत्तिको कारोबार घट्दै जान लागेको कतिपय व्यवसायीहरुको अनुमान छ । कतिपय व्यवसायीहरुले त चुनावका कारण अधिकांश मान्छे गाउँतिर गएका कारण पनि वत्तिको कारोबार घटेको हुनसक्ने आंकलन गरेका छन् ।

वाषिर्क ३० करोडको कारोबार

‘वाषिर्क २५ देखि ३० करोड रुपैयाँको झिलिमिली वत्तिको कारोबार हुँदै आएको छ’ नेपाल विद्युतिय व्यवसायी महासंघका अध्यक्ष महेन्द्र कुमार राठीले भन्नुभयो- ‘यस वर्ष ३० प्रतिशतको हाराहारीमा भएको मूल्य वृद्धिले केही फरक पार्न सक्छ ।’ उहाँका अनुसार २५ प्रतिशत डलरको भाउ र ५ प्रतिशत भन्सार वृद्धिले गर्दा इलेक्टि्रकल समानको मूल्य वृद्धि भएको छ ।

Tihar-lights

त्यसो त तिहारको समयमा स्टेशनरी पसल, किराना पसलदेखि फुटपाथसम्म झिलिमिली वत्ति पाइन थालेपछि इलेक्टि्रकल पसलहरु प्रभावित हुन गएको व्यवसायीहरुको अनुभव छ । यस्ता समान बिक्री गर्ने पसलहरुको संख्या बढ्दै जाँदा व्यापार कम हुँदै जानु स्वभाविक भएको अध्यक्ष राठी बताउनुहुन्छ ।

अहिले बजारमा ३० रुपैयाँदेखि साढे ५ सय सम्मका झिलिमिली वत्तिहरु पाइन्छन् । आफ्नो पसलमा ३ सय ५० रुपैयाँसम्मका वत्तिहरु रहेको बताउने गौरी शंकर इलेक्टि्रकल्स पसलकी रिंकु कुशुहवाले भन्नुभयो- ‘सबै मानिस चुनावले व्यस्त भएर होला वत्ति किन्न आएका छैनन् ।’

कारोबार घटेको होइन, विकेन्द्रीकरण भयो

पछिल्लो समय तिहारमा अफिस, व्यवसायीक भवन, निजी घर झिलिमिली वत्तिले सजाउने क्रम बढ्दै गइरहेको छ । शहरमा मात्र नभई गाउँघरमा समेत अहिले झिलिमिली वत्ति बाल्न थालेका छन् । पालाबाट मैन वत्ति हुँदै अहिले मानिस इलेक्टि्रकल वत्तिमा प्रवेश गरेका छन् । झिलिमिल वत्तिको कारोबार नघटेर व्यवसाय विकेन्द्रीकरण भएको जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment