Comments Add Comment

चुनावमा चन्दाको डरले देश छाडेका व्यवसायी फर्किए

४ मंसिर, काठमाडौं । आसन्न संविधानसभा चुनावको लागि राजनीतिक दल र उम्मेद्वारले खासै चन्दा नमागेको देखेर उद्योगी व्यापारी अचम्म परे । चुनाव छल्न अमेरिका/यूरोप पुगेका व्यवसायीसमेत स्वदेश फर्केका छन् भने कतिपयले त्यता जाने योजना नै रद्द गरे । चन्दा आतंकबाट बच्न भारत पस्ने तराई मूल र मारवाडी समुदायका व्यापारीको संख्या अहिले अत्यन्तै न्यून रहे । नयाँ सिम प्रयोग गर्न थालेका व्यापारीले पुरानो सिमको फोन पनि रिसिभ गरे ।

nepal_moneyठूला चन्दा दाताको रुपमा देखिने १० व्यवसायीसँग अनलाइनखबरले राखेको जिज्ञासामा कसैले जबरजस्ती चन्दा नमागेको, कार्यकर्ता तहबाट चन्दा नमागिएको र साथीको हैसियतमा मात्रै चन्दा मागिएको व्यवसायीले बताए । कतिपयले नमागी आफैंले चन्दा दिएको बताएका छन् । विगतमा ठूला सेयर लगानीकर्ता पनि दल र उम्मेद्वारका चन्दादाता हुने गर्दथे । यसपटक लगानीकर्ताहरुलाई चन्दाको दबाब नपरेका कारण चुनावको मुखमा सेयर मूल्य झन् बढ्दै गएको छ ।

पोखराका व्यवसायी लक्ष्मी गु्रपका सञ्चालक अञ्जन श्रेष्ठले भन्नुभयो, ‘अचम्मको कुरा अहिलेसम्म कसैले चन्दा मागेको छैन, चार/पाँच जना आफ्नै साथी उम्मेद्वार भएकाले स्वेच्छिक सहयोग गरेका छौं, केही खर्च व्यहोरिदिउला भनेका साथी पनि पैसा माग्न अझै आएका छ्रैनन् ।’

त्यस्तै, वीरगञ्जको ठूलो बिजनेश हाउस ज्योति समूहका अध्यक्ष पद्म ज्योती पनि अहिलेसम्म मुख फोरेर कसैले चन्दा नमागेको बताउनुहुन्छ । यद्यपि उम्मेद्वार विशेषलाई केही सहयोग गर्ने सोचमा रहेको उहाँ बताउनुहुन्छ ।

गत ०६४ सालको चुनावको तुलना गरेर अहिले चन्दाको दबाब नपरेको विश्लेषण गर्न नमिल्ने ज्योतीको भनाइ छ । त्यतिखेर युद्धबाट पहिलो पटक चुनावमा आएको माओवादीको कारण चन्दा आतंक सिर्जना भएको थियो । ‘अघिल्लो संविधानसभाको परिस्थिति विशिष्ट भएको हुनाले अहिले त्यस्तो आतंक हुने त सम्भावना नै थिएन’, ज्योतीले भन्नुभयो, ‘तर अचम्मको कुरा अहिलेको चुनाव यसबीचमा सम्पन्न विभिन्न पेशागत संगठन र दलका भातृ संगठनको चुनावभन्दा सहज भएको छ ।’

दल र नेताहरुले पहिले नै पर्याप्त पैसा जम्मा गरिसकेको हुनाले चुनावको बेला चन्दाको खासै चाप नपरेको एकथरीको अड्कल छ । पछिल्लो पाँच वर्षमा सभासद्को संख्या ठूलो भएको तथा सबै जसो दल ठूलो मन्त्रिमण्डलमा सहभागी भएका कारण वैध/अवैध सम्पत्ति प्रशस्त जोडेको विश्वास गरिएको छ ।

अर्कोतर्फ सुशासन प्रवर्द्धनमा लगानी गर्दै आएका पश्चिमा मित्रराष्ट्रका सहयोग नियोगहरुको भूमिका पनि यसमा अर्थपूर्ण रहेको देखिन्छ । नेपालमा वरिष्ठ उद्योगी पद्म ज्योतीको नेतृत्वमा रहेको नेसनल बिजनेश इनिसिएसन -एनबीआई) नामक संस्थासँग सहकार्य गरेर ती सहयोग नियोगले राजनीतिक संगठनलाई पारदर्शी बनाउने प्रयास गरेका छन् ।

विगत एक वर्षअघिदेखि आठ राजनीतिक विद्यार्थी संगठनलाई दाताले प्रत्यक्ष/अप्रत्यक्ष सुशासनको अभ्यास गराउँदै आएका छन् । युवा संगठनसँग सहमति लिएर एनबीआई दोस्रो चरणमा दलहरुलाई पारदर्शी बनाउने प्रयासमा लागेको संस्थाका महासचिव एवम् व्यापारी सुरेन्द्रवीर मालाकारले बताउनुभयो । एनबीआईले उद्योगी/व्यापारीलाई पनि संस्थागत आचारसंहिताबारे सचेत पार्दै आएको छ ।

त्यसैगरी, यस टकको चुनावमा व्यवसायी उम्मेद्वारको संख्या बढी हुनु पनि बाँकी व्यवसायीलाई चन्दाको भार कम पर्नुको कारण हुन सक्छ । दलहरुले सम्बन्धित व्यवसायीसँग ठूलो रकम चन्दा लिएर सभासद्को पद साटेका विश्वास गरिएको छ, जुन स्वतः स्वेच्छिक चन्दा हुन्छ । अघिल्लो चुनावको तुलनामा सबै दलबाट तीन गुणा बढी व्यवसायी उम्मेद्वार आएका छन् ।

अर्कोतर्फ विगतमा भातृ संगठन र कार्यकर्ता तहबाट चन्दा मागिंदा सानो सानो रकम धेरै पटक दिंदा व्यवसायीले चन्दा आतंकको महसुस गरेका थिए । अहिले दलका नेता र व्यवसायी स्वयम्सँग सौहार्द सहयोगको आग्रह गरेको कारण चिनेको व्यक्तिलाई पैसा दिंदा व्यवसायीलाई सहज अनुभव भएको तर्क पनि केही विश्लेषकको छ । उम्मेद्वारको खर्च बढेको कारण वास्तवमा चन्दा रकम घटेको नभई मनोविज्ञान मात्र त्यस्तो भएको उनीहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment