+
+

गगन थापाले डराउँदै भने- अब सभामुख छान्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ८ गते १९:३१

८ माघ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद गगन थापाले मंगलबार संविधानसभा भवनमा सपथ ग्रहण गर्दा डर लागेको बताएका छन् । एमाले सभासद रवीन्द्र अधिकारीले संविधानसभाको पहिलो बैठकमा अघिल्लो संविधानसभाको स्वामित्व ग्रहणसम्बन्धी विषयले प्रवेश नपाउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।gagan-thapa

‘अघिल्लोपटक रोमाञ्चकता थियो, योपटक डर छ । सपथ खाँदै गर्दा पनि डर छ, संविधानसभाको परिणाम आउँदा पनि मलाई एक खालको डर लागिरहेको थियो,’ कांग्रेस सभासद थापाले भने- ‘यो डरैडरको वीचमा काम गर्नुपर्ने छ र यो आवश्यक पनि छ भन्ने लाग्छ ।’

संविधानसभाको पहिलो बैठकले के गर्नुपर्छ भन्ने प्रश्नमा थापा भन्छन्, ‘जबसम्म अध्यक्षको चयन हुँदैन, तबसम्म संविधानसभाको बैठक अगाडि बढ्न सक्दैन । त्यसैले संविधानसभाको अध्यक्ष चयन गर्ने प्रक्रिया अगाडि बढाइहाल्नुपर्छ ।’

यसपटकको संविधानसभाले एक वर्षभित्र जसरी पनि संविधान बनाउनुपर्ने भन्दै थापाले बरु अडान छाड्न तयार भएर पनि जनतालाई एकवर्षमा संविधान दिनुपर्ने बताए । ‘

यसपटक युवामात्रै होइन, सबैले एक वर्षमा संविधान दिन सकेनौं भने पार्टीको जिम्मेवारीको केही पनि अर्थ छैन भनेर ठाने हुन्छ,’ उननले अनलाइनखबरसँग भने, ‘त्यसैले यहाँ आउनुभएका साथीहरु बरु जे पनि छाड्न तयार छौं, तर एक वर्षको सफलतालाई नै मुख्य मान्छौं भन्ने स्थितिमा देखिनुहुन्छ ।’

सपथ ग्रहण गरिसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै थापाले थपे-‘आजबाट हाम्रो रियल काउन्ट डाउन सुरु हुन्छ, अघिल्लोपटकको संविधानसभामा हामीले समयको महत्व बुझ्दै बुझेनौं । योपटक पनि समयको महत्व बुझेनौं भने हामी असफल हुन्छौं । त्यसैले यो वर्ष पनि असफल भइने हो कि भन्ने डर लागिरहेको छ ।’

नेताहरु गम्भीर देखिएनन् : अधिकारी

एमालेका युवा नेता तथा सभासद रवीन्द्र अधिकारीले दोस्रो संविधानसभाको अधिवेशनमा पहिलो संविधानसभाको स्वामित्व ग्रहणसम्बन्धी विषय कार्यसूचीमा नपर्नु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।rabindra-adhikari

‘यो पहिलो संविधानको क्रमभंग होइन, निरन्तरता हो । त्यसैले आजको बैठकले पहिलो संविधानसभाको स्वामित्वलाई जोड्नुपथ्र्यो, हामी यसमा चुक्यौं ।

पहिलो बैठकको कार्यसूचीमा पहिलेका उपलब्धीलाई ग्रहण गर्ने भन्ने छैन,’ सभासद अधिकारीले अनलाइनखबरसँग भने-‘मुख्य दलका नेताहरु गम्भीर छैनन् भन्ने यसबाट देखिन्छ । कसैले विरोध गर्दैमा पहिलो संविधानसभामा कार्यसूचीलाई नपार्नु गलत हो ।’

एमाले युवा नेता अधिकारीले अब छिटो गर्नुपर्ने काम भनेको संविधानसभा नियमावलीलाई अपडेट गर्नुपर्ने बताए । ‘नियमावली अपडेट गरेर अब दु्रतमार्ग बनाउनुपर्‍यो । पहिलो, यसअघि तयार भएका मस्यौदालाई संविधानमा छलफल गर्नुपर्छ र दोस्रो, संविधान निर्माणका लागि मस्यौदा समितिबनाएर अघि बढ्नुपर्छ ।’

पहिलो संविधानसभामा पनि प्रतिनिधित्व गरेका सभासद अधिकारीले सपथ ग्रहण गरिरहँदा रोमाञ्चकता र खुशीको अनुभूति भए पनि त्यो रमाइलो भन्दा बभी कार्यबोझ अनुभव भएको र कसरी काम गर्न सकिएला भन्ने सोचाइ आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?