+
+

कमल थापासँग डरायो दोस्रो संविधानसभा !

८ माघ, काठमाडौं । सार्वभौम भनिएको दोस्रो संविधानसभा पहिलो बैठकसम्म आइनपुग्दै राप्रपा नेपालका अध्यक्ष कमल थापासँग डराएर थर्कमान बनेको छ । पहिलो बैठकको कार्यसूची हेर्दा ‘पल्टनियाँ आइसके, खानादाना तयार छैन’ भन्ने आहान चरितार्थ भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ८ गते १९:३२

अरुण बराल/टिप्पणी

८ माघ, काठमाडौं । सार्वभौम भनिएको दोस्रो संविधानसभा पहिलो बैठकसम्म आइनपुग्दै राप्रपा नेपालका अध्यक्ष कमल थापासँग डराएर थर्कमान बनेको छ । पहिलो बैठकको कार्यसूची हेर्दा ‘पल्टनियाँ आइसके, खानादाना तयार छैन’ भन्ने आहान चरितार्थ भएको छ ।Kamal-thapa

मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको पहिलो बैठक आह्वान गरेपछि प्रमुख दलका नेताहरुले बैठकको कार्यसूचीबारे आन्तरिक छलफल अघि बढाएका थिए । यसक्रममा विज्ञहरुले नेतालाई पहिलो बैठकमा पहिलो संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण गर्ने प्रस्ताव टेबल गर्न सुझाएका थिए ।

दलहरुले पहिलो संविधानसभाको स्वामित्व ग्रहण गर्ने प्रस्ताव ल्याउन लागेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले चाल पाए । यस्तो सूचना पाएपछि थापाले अघिल्लो साता एउटा कार्यक्रममा त्यस्तो प्रस्ताव ल्याइए संविधानसभाको बैठक अवरुद्ध पार्ने चेतावनी दिए । संविधानसभाले शुन्यबाट काम थाल्नुपर्ने राप्रपा नेपालले बताउँदै आएको छ ।

यसैवीच संविधानसभाको पहिलो बैठकको कार्यसूची के बनाउने भन्ने विषयमा प्रमुख दलका नेताहरु आइतबार संसद सचिवायलद्वारा आयोजित बैठकमा जुटे । तर, सो बैठकमा नेताहरुले कमल थापाको धम्कीबाट मनोवैज्ञानिकरुपमा आफूलाई एक कदमपछि धकेल्दै प्रथम संविधानसभाको स्वामित्व ग्रहणसम्बन्धी प्रस्तावलाई प्रवेश नगराउने निर्णय गरे, जसले गर्दा कमल थापाको राप्रपा नेपाल विजयी बन्न पुग्यो । राप्रपा नेपालका अध्यक्ष थापाको एउटै धम्कीबाट संविधानसभा थुरथुर भयो ।

एकातर्फ दलका नेताहरु कमल थापाको धम्कीबाट डराए भने अर्कोतिर पहिलो संविधानसभाले गरेका कामको स्वामित्व लिने भनेको के हो भन्ने परिभाषामा पनि स्पष्ट हुन सकेनन् । चुनावी घोषणापत्र र अन्य सहमतिमपत्रहरुमा समेत पहिलो बैठकको स्वामित्व लिइने छ भन्दै आएका दलहरुभित्रै त्यो स्वामित्व अन्तरगत के-के विषय पर्छन् भन्ने नै स्पष्ट भएन ।

 नेम्वाङ भन्छन्- यो पाराले चार वर्षमा पनि संविधान बन्दैन

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको विचारमा पहिलो संविधानसभाको कामलाई अस्वीकार गर्नु भनेको संविधान बन्न नदिनु हो । यसबारे नेम्वाङ भन्छन्- ‘अहिले शून्यबाट सुरु गर्नु भनेको एक बर्षमा संबिधान नबन्नु हो । Subash Nembang 1चार वर्षमा पनि संविधान बनाउन अप्ठ्यारो छ । अहिले धेरै विषयमा दलहरु आ-आफ्नो अडानमा छन् र जटिलताहरु पनि थपिएका छन् । त्यसैले सबैभन्दा बुद्धिमानी भनेको विगतका सहमतिको स्वामित्व ग्रहण गर्ने र त्यसैको आधार आगाडि बढ्ने हो ।’

आजको बैठकमा पहिलो संविधानसभाको स्वामित्व ग्रहण गर्नेसम्बन्धी प्रस्ता पेश गर्नैपर्ने नेम्वाङको भनाइ छ । यस्तो प्रस्तावमा राप्रपा नेपाल लगायतका कुनै दलले विरोध गरे पनि ७ दिन या १५ दिन छलफल गरेर सहमति नभए बहुमतीय प्रक्रियाबाट पारित गर्न सकिने नेम्वाङको भनाइ छ ।

‘हामी माघ ८ गतेको संविधानसभाको पहिलो बैठकमा एउटा प्रस्ताव पेश गर्न सक्छौं, केहीले हामी विगतको सहमति मान्दैनौं भन्नुभएको छ, त्यसैले पहिलो बैठकमा प्रस्ताव पेश गर्ने र त्यसपछि छलफल गर्नुपर्छ । त्यो छलफल ५ दिन पनि हुनसक्छ, ७ दिन पनि हुनसक्छ, एक महिना पनि हुनसक्छ,’ नेम्वाङको भनाइ छ,- ‘एक महिनाको छलफलपछि एउटा निष्कर्षमा जान्छ अर्थात संविधानसभाले निर्णय गर्छ, त्यो निर्णय गर्दा कि सर्वसम्मतले हुन्छ,नभए प्रक्रियाअनुसार बहुमतले निर्णय गर्छ ।’ (हेर्नुहोस् नेम्वाङको विचार)

 बैठकको कार्यसूची : पल्टनियाँ आइसके, खानादाना छैन

बुधबार दिउँसो ३ बजे बस्ने संविधानसभाको पहिलो बैठकका कार्यसूची यस्ता छन्

१ . अध्यक्ष सूर्यबहादुर थापाले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको बैठक अह्वानसम्बन्धी पत्र पढेर सुनाउने ।

२. निर्वाचन सफल पारेकोमा निर्वाचन आयोग, सरकार र जनतालाई धन्यवाद दिने प्रस्ताव पेश गर्ने र ताली पड्काएर पारित गर्ने ।

३. संविधानसभाको नयाँ नियमावली तयार नहुञ्जेल पुरानै नियमावलीअनुसार संविधानसभाको बैठक अघि बढाइनेछ भन्ने अर्को प्रस्ताव पारित गर्ने ।

पूर्वसभामुख नेम्वाङले भनेजस्तै बुधबारको बैठकमा कमल थापाको विरोधका बावजुद संविधानसभामा पहिलो संविधानसभाको स्वामित्व ग्रहण गरिने छ भन्ने प्रस्ताव प्रस्तुत गर्न सकिएको भए केही हप्ताको छलफलपछि त्यसलाई पारित गर्न सकिने थियो र छोटो बाटोबाट एक वर्षमा संविधान बनाउने मार्ग प्रशस्त हुने थियो । तर, बैठक बस्ने बेलासम्म दलहरुले स्वामित्व ग्रहणको परिभाषा वा खाका बनाउन नसकेका कारण कमल थापाले भनेजस्तै संविधानसभाको बैठक शुन्यबाट शुरु हुने अवस्थामा पुगेको छ ।

भनिन्छ, घोडचढी पल्टनियाँहरु लडाइँमा भाग लिन वा लडाइँ गरिसकेर सेल्टरमा फर्कँदा  त्यहाँ घोडाका लागि दाना र सिपाहीका लागि खाना तयारी अवस्थामा भएन भने त्यहाँ भद्रगोल हुन्छ । यसैगरी संविधानसभाको बैठक आयोजना भए पनि संविधान निर्माणसम्बन्धी एजन्डा नै प्रस्तुत नभएपछि संविधानसभाको पहिलो बैठक ‘काष्टिङमै झूर’ हुने निश्चित भएको छ ।

एमाले सभासद एवं युवा नेता रवीन्द्र अधिकारीले पहिलो बैठकमा पूर्वसंविधानसभाको स्वामित्व ग्रहणसम्बन्धी एजेन्डाले कसैबाट डराएर प्रवेश नपाउनु दुर्भाग्यपूर्ण भएको बताउँदै यसबाट फेरि पनि शीर्ष नेताहरु संविधान निर्माणमा गम्भीर छैनन् भन्ने प्रष्ट पारेको आरोप लगाएका छन् ।

यो पनि पढ्नुस् :

रवीन्द्र अधिकारी भन्छन्- नेता गम्भीर भएनन्, कार्यसूचीमा चुक्यौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?