+
+

गोरखा सैनिकलाई जोड्ने अभियानमा गेसो असहमत

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ९ गते १४:१७

९ माघ, लण्डन । समान अधिकारको मुद्दा उठाएर लामो समयदेखि आन्दोलन गर्दै आएका पूर्वगोरखा सैनिकहरुलाई एकतावद्ध गराउने गैर आवासीय नेपाली संघ (एनआरएन) बेलायतको प्रयासमा भूतपूर्व गोरखा सैनिक संघ(गेसो) ले सामेल हुन अस्वीकार गरेको छ । यद्यपि गेसोलाई मनाउने प्रयत्न जारी रहेको एनआरएनले जनाएको छ ।

gorkha-sainikबेलायती सेनामा कार्यरत गोरखाहरुले बेलायती सैनिक समानकै सेवा, सुविधा उपलब्ध गराइनुपर्ने लगायतका मागसहित विगत दुई दशकभन्दा बढी समयदेखि आन्दोलन गर्दै आइरहेका छन् । गोरखा सैनिकका मागबारे अध्ययन गर्न वेलायतद्वारा गठित संसदीय समितिका प्रमुखलाई बुधबार लण्डनमा आफ्ना मागसम्बन्धी लिखित प्रतिवेदन बुझाएका गोर्खाहरुले अब छिट्टै आफनो पक्षमा निर्णय हुने विश्वास व्यक्त गरेका छन् । संसदीय समितिका प्रमुख जेकी टोयललाई बेलायती संसद भवन क्षेत्रमा प्रतिवेदन बुझाउने क्रममा सयौंको संख्यामा पूर्व गोरखा र उनीहरुका परिवार भेला भएका थिए ।

यसक्रममा गैरआवासीय नेपाली संघ बेलायतलगायत अन्य दर्जर्नौ नेपाली संघ संस्थाका प्रतिनिधीहरु पनि गोरखा सैनिकको आन्दोलनमा ऐक्यवद्धता जनाउन त्यहाँ पुगेका थिए । बेलायतमा सक्रिय नागरिक समाजका अगुवा, विद्यार्थी, पत्रकार लगायत अन्य पेशामा आवद्ध नेपालीले पनि गोरखा सैनिकको आन्दोलनमा उपस्थित भएर ऐक्यवद्धता जनाएका थिए ।

गोर्खाहरुको आन्दोलनलाई थप प्रभावकारी बनाउन भन्दै पछिल्लो समय गठन गरिएको गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका तर्फबाट बुझाइएको प्रतिवेदनमा गोरखा सैनिकका मागहरुको न्यायपूर्ण छानविनका लागि आग्रह गरिएको छ ।

यसअघि संसदीय समितिले आह्वान गरेबमोजिम गोरखा सैनिकमाथि भएको भनिएका ऐतिहासिक अन्यायका प्रमाण पनि प्रतिवेदनमा समावेश छन् । बेलायती संसदीय समितिले सो प्रतिवेदनसहित अन्य क्षेत्रबाट समेत संकलन गरिएका प्रमाणहरुको अध्ययन गरी अबको केही महिनाभित्रै संसदलाई एक प्रतिवेदन बुझाउनेछ ।

आन्दोलनरत गोर्खाहरुले सो प्रतिवेदनले सिफारिस गरेबमोजिम गोरखा आन्दोलनमा उठेका मागहरुको वेलायती सरकारले सम्बोधन गर्ने आशा व्यक्त गरेका छन् ।

विभाजित गोरखा आन्दोलनलाई जोड्ने प्रयास

समान मागसहित आन्दोलनमा उत्रिएका भए पनि भुतपुर्व गोरखाहरु आफैमा भने विभाजित छन । झण्डै आधा दर्जन छुट्छुट्टै संगठनमा विभाजित गोरखाहरुको आन्दोलनलाई एकीकृत गरी सशक्त बनाउन भन्दै सत्याग्रह संयुक्त संघर्ष समिति बनाइएको आयोजकले बताएका छन् । तर, गोरखाहरुको सबैभन्दा पुरानो संगठन गेसो भने अझै पनि अन्य संगठन सम्मिलित संयुक्त संघर्ष समितिमा सामेल भएको छैन ।

विभिन्न समुहमा विभाजित आन्दोलन निश्कर्षमा पुग्न नसक्ने भन्दै यस अघि एनआरएन युकेले पनि सबै गोरखा सैनिक संगठनहरुलाई एकै ठाउँमा भेला गरी एकताको प्रयास गरेको थियो । तर, त्यसक्रममा गेसो सहभागी भएन । तर, गेसोलाई पनि एकतावद्ध गर्ने प्रयास जारी रहेको र त्यसका लागि एनआरएन युकेले फेरि अन्तरक्रिया आयोजना गर्ने एनआरएन युकेका उपाध्यक्ष बालकृष्ण गुरुङले जानकारी दिए ।

गोरखाहरुलाई बेलायती सैनिक सरहकै पेन्सन तथा सेवा सुविधा एवं १८ वर्ष नाघेका गोरखा सैनिकका छोराछोरीलाई पनि बेलायतमा आवासीय अधिकारको माग गोरखालीहरुले गर्दै आएका छन् । त्यसैगरी अनिवार्य अवकाशमा पठाइएका र पेन्सन उपलब्ध नगराइएका भुतपूर्व गोरखाहरुलाई क्षतिपुर्ति लगायतका मागमा सबै गोरखा सैनिकहरु सहमत छन् ।

–ध्रुवराज अर्याल, लण्डनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?