Comments Add Comment

क्रिकेट प्रशिक्षक पुबुदुको सम्झौता एक वर्ष थप गर्ने सरकारको निर्णय

Pubudu

१७ असार, काठमाडौं । सरकारले नेपाली क्रिकेट टोलीका प्रशिक्षकमा पुबुदु दशानायकेसँगको सम्झौता एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले पैसा नभएको भन्दै सम्झौता नविकरण नगरेपछि युवा तथा खेलकुद मन्त्रालयले पुबुदुसँग एक वर्षे करार सम्झौता गर्ने निर्णय गरेको हो । ‘जिम्मेवारी लिएका निकायहरुले आफ्नो काम नगरेपछि सरकारले जिम्मेवारी लिएको हो’ खेलकुदमन्त्री पुरुषोतम पौडेलले अनलाइनखबरसँग भने-‘नेपालले भर्खरै ट्वान्टी-२० राष्ट्रको मान्यता पाएको बेला क्रिकेटलाई कुनै हालतमा मर्न दिन्न ।’

प्रधानमन्त्री, अर्थमन्त्रीसहितसँग परामर्श गरेर आफूले निर्णय गरेको भन्दै उनले भने-‘रकमको दायित्वका लागि मन्त्रालय स्वयंम तयार छ । यसबारे मैले प्रधानमन्त्री, अर्थमन्त्री सबैसँग आवश्यक परामर्श समेत गरेको छु ।’

लेनदेनका विषयमा बसेर कुरा गर्न सकिन्छ

अब पुबुदुसँग क्यानले नभइ सरकार स्वयंमले करार सम्झौता गर्नेछ । पुवुदुले क्यानबाट मासिक ८ हजार डलर तलब लिने गरेका थिए ।

सम्झौता नविकरण गर्नुअघि निर्णय गर्नुअघि प्रशिक्षक पुवुदुसँग समेत कुरा गरेको उनले बताए । ‘लेनदेनका विषयमा बसेर कुरा गर्न सकिन्छ’ उनले भने । मन्त्रालयका प्रवक्ता चुँडामणि पौडेलका अनुसार सम्झौता नविकरणको निर्णयपछि फेरि पुवुदुसँग कुराकानी गर्ने तयारी भइरहेको छ ।

पुवुदुको सम्झौता नविकरण नभएको खबरहरु आएपछि मंगलबार विहानै अर्थमन्त्री रामशरण महतले ट्वीट गर्दै पुबुदुलाई जान नदिने भन्दै सरकार आवश्यक रकम उपलब्ध गराउन तयार रहेको बताएका थिए ।

व्यवस्थापनको जिम्मेवारी लिन पनि तयार 

समग्र क्रिकेटको विकासबारे मन्त्रालयले समिति बनाएरै अध्ययन गरिरहेको भन्दै खेलकुदमन्त्री पौडेलले क्यानले नसके तत्कालका लागि मन्त्रालयकै खेलकुद शाखाले व्यवस्थापनको जिम्मेवारी लिने समेत बताए । अध्यक्षसहितका क्यानका पदाधिकारीहरु भ्रष्टाचारको मुद्दा लागेर निलम्बनमा छन् भने टीबी शाहसहितको टिमले काम सम्हालेको छ ।

सुरुमा एक वर्ष सम्झौता नविकरण गर्ने भनिएपनि मलेसिया जानु अघि क्यानले तीन महिने करार पत्र थमाएको थियो । मलेसियाबाट फर्किएर दुई महिने विदामा क्यानडा गएका पुबुदुसँगको सम्झौता सोमबार सकिएको छ । सोमबार साँझ क्रिकेट संघ क्यानले पैसा नभएको भन्दै प्रशिक्षक पुबुदुसँगको सम्झौता थप नगर्ने निर्णय गरेको थियो ।

नेपाली टोलीका कप्तान पारस खड्काले पुबुदुसँगको सम्झौता नविकरण नभए क्रिकेट नै नखेल्ने चेतावनी दिएका थिए । पुवुदुले छोटो समयमा नै नेपाली क्रिकेटलाई ट्वन्टी-२० विश्वकपसम्म पुर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment