+
+

बल्खुमा एमालेको ‘हाइटेक’ महाधिवेशनको बेहाल अन्त्य

साउन, काठमाडौं । समकालीन राजनीतिक दलहरुमध्ये नेकपा एमाले सबैभन्दा व्यवस्थित, प्रविधियुक्त र संगठित शक्ति मानिन्थ्यो । अझ औपचारिक सभा समारोह र जनपरिचालन तथा व्यवस्थापनमा त एमालेबाट अरु दलका नेताहरु सिक्नुपर्छ भन्ने गरिन्थ्यो । तर, अब एमालेको यो पहिचान पनि नवौं महाधिवेशनबाट लगभग समाप्त भएको छ । एमालेको ‘हाइटेक महाधिवेशन’को उद्घाटनदेखि समापन समारोहसम्मका दृश्यले कम्तिमा यही संकेत गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १ गते १६:००

UML new team

मात्रिका पौडेल

१ साउन, काठमाडौं । समकालीन राजनीतिक दलहरुमध्ये नेकपा एमाले सबैभन्दा व्यवस्थित, प्रविधियुक्त र संगठित शक्ति मानिन्थ्यो । अझ औपचारिक सभा समारोह र जनपरिचालन तथा व्यवस्थापनमा त एमालेबाट अरु दलका नेताहरु सिक्नुपर्छ भन्ने गरिन्थ्यो । तर, अब एमालेको यो पहिचान पनि नवौं महाधिवेशनबाट लगभग समाप्त भएको छ । एमालेको ‘हाइटेक महाधिवेशन’को उद्घाटनदेखि समापन समारोहसम्मका दृश्यले कम्तिमा यही संकेत गरेका छन् ।

गोलामै गोलमाल

सात दिनका लागि भनेर आयोजना गरिएको नवौं महाधिवेशन १५ दिनमा पनि अधूरै समापन भयो । किनकि निर्वाचन आयोगले अझै दुईजना केन्द्रीय सदस्यको निर्वाचन सकेको छैन । बराबरी मत पाएका चार केन्द्रीय सदस्यमध्येबाट गोला प्रथाबाट दुईजना छान्नुपर्नेमा विहीवार बल्खुमा आयोजित समापन समारोहमा त्यति काम पनि सम्पन्न गर्न सकेन आयोगले । गोला तान्न बोलाइएका व्यक्ति नै जान नमानेपछि त्यतिकै गोलमाल भयो ।

पत्रकारलाई पेलान

आफ्नो इतिहास र परम्परा विपरीत उदघान समारोह खुल्ला ठाउँमा नगरी भृकुटीमण्डपको हलमा आयोजना गर्दा आक्रोशित कार्यकर्ताले ताण्डव मच्चाएका थिए । त्यसको ठीक १५ दिनपछि महाधिवेशन समापन समारोहको दृश्य लगभग त्योभन्दा कम थिएन । कुनै पूर्वतयारी बिनाको समारोह देखेर अध्यक्ष केपी ओली पनि दिक्क थिए ।

केन्द्रीय कार्यालय मदननगर बल्खुमा विहीबार दिउँसो आयोजित समापन समारोहमा न त निर्वाचित नेताहरुलाई बस्ने ठाउँ थियो, न त फोटो पत्रकारहरुले दृश्य छायाँकन नै गर्न पाए । कुर्सीमा बसेका पत्रकारलाई झारेर भुइँमा राखियो, फोटो पत्रकार र क्यामेरापर्सनलाई घोक्र्याउने शैलीमा लखेटेर दृश्य लिन समेत दिइएन ।

आक्रोशका स्वर

उद्घाटन सत्रको भद्रगोलबाट पाठ सिक्नुपर्नेमा एमाले नेतृत्वले समापन समारोहमार्फत हाइटेक महाधिवेशनको बेहाल अन्त्य गर्‍यो । ‘मैले यो पार्टीको दोस्रो महाधिवेशनदेखि अहिलेसम्म ७ वटामा भाग लिइसकेँ, तर यस्तो भद्रगोल र बेहाल कहिल्यै देखिँन ।’ ६५ वर्षदेखि पार्टी सदस्य रहेका सिद्धिलाल सिंहले अनलाइनखबरसँग भने-‘झन युवा पुस्ताले छिटो छरितो र भव्य सभ्य गर्नुपर्नेमा यो बेहाल के हो ?’

UML

विहीबार अपरान्ह १ बजे आयोजना गर्ने भनिएको महाधिवेशन समापन समारोह सुरु हँुदा करीव ३ बजिसकेको थियो । समापन समारोह हेर्न गएका कार्यकर्ताहरु बस्ने त परै जावस् उभिने समेत ठाउँ नपाएर आक्रोश व्यक्त गर्दै थिए । ‘पार्टी झन ठूलो हँुदैछ तर हाम्रा नेताहरु अब खुल्लामञ्चबाट भृकुटीमण्डप हुँदै बल्खुको कोठाभित्र समारोह आयोजना गर्न थालेका छन्’ पाटन क्याम्पसका स्ववियुसचिव समेत रहेका अखिल कार्यकर्ता ज्ञानु भण्डारी भन्दै थिए ।

मान्छेमाथि मान्छे

नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र लिन बोलाउँदा उनीहरुले निर्वाचन आयोगका मान्छेसम्म पुग्ने बाटो पाएनन् । मान्छेको जिउमाथि टेक्दै प्रमाणपत्र लिनु परेको नवनिर्वाचित केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताइन् । ‘उद्घाटनको असफलताबाट पनि नेताहरुले चेतेनन्’ उनले भनिन् ।

निर्वाचन आयोगका सचिव माधव पौडेलले नाम बोलाउने क्रममा प्रायः कसैको पनि शुद्ध नाम थर उच्चारण गर्न नसक्दा आक्रोशित कार्यकर्ताहरुमा हाँसो छाएको थियो ।

एकातिर अटेसमटेस गरी बस्नुपर्ने अवस्था, अर्कोतिर वषर्ात, अनि गर्मीका कारण सहभागीहरु गुम्सिरहेका थिए ।

ओलीसमेत असीन-पसीन

KP oli

निर्धारित समयभन्दा दुई घण्टापछि पुगेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली घरि-घरि असीन-पसीन भएका देखिन्थे । हातमा सेतो काम्रो बेरेका बिरामी ओलीको अवस्था हेरेर पनि कार्यक्रम चाँडो सकिदिए हुन्थ्यो भन्नेमा धेरैको मनोविज्ञान झल्किन्थ्यो ।

गुटको शिकार ‘हाइटेक’

‘यतिको कार्यक्रम राष्ट्रिय सभागृहमा गरेको भए पनि कम्तिमा निर्वाचित नेताहरु अगाडि मञ्चमा हुन्थे, हामी तल बसेर ताली बजाउँथ्यांै’ समापन समारोहको बेहाल औंल्याउदै सर्लाही जिल्ला कमिटी सदस्य गणेश प्रसाईले अनलाइनखबरसँग भने ।

तर, पूर्वनिर्धारण गरेबमोजिम कुनै पनि काम नभएको र महाधिवेशन व्यवस्थापनलाई गुटको शिकार बनाइएकाले ‘हाइटेक’ महाधिवेशनको बेहाल अन्त्य भएको टिप्पणी प्रसाईले गरे ।

बल्खुलाई विस्तार गर्ने गफ

नेताहरु भने समापन समारोहको बेहाल अवस्था देखेर हुनुपर्छ, एमालेका लागि केन्द्रीय कार्यालय परिसर साँघुरो हँुदै गएकाले अब नयाँ ठाउँमा फराकिलो कार्यालय बनाउने गुड्डी हाँक्दै थिए ।

‘अब हामीलाई यो केन्द्रीय कार्यालय पनि साँघुरो हँुदैछ, नयाँ ठाउँमा कार्यालय व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ’ नवनिर्वाचित सचिव प्रदीप ज्ञवालीले भने ‘अर्को महाधिवेशनको समापन समारोह फराकिलो ठाउँमा हुनेछ’ ।

नेताको लम्की-झम्की

निर्धारित समयभन्दा दुई घण्टापछि शुरु भएको कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने सामान्य विधिसमेत एमालेका नेताहरुले बनाएका रहेनछन् । प्रदीप ज्ञवालीले ईश्वर पोखरेललाई कार्यक्रम सञ्चालनको जिम्मा दिए । तर, महासचिव पोखरेल के गर्ने भन्नेमा आफैं अलमलमा थिए । घरि भीम रावल जंगिदै पोखरेलको माइक समाउन पुग्थे भने घरि पृथ्वीसुब्बा गुरुङ माइक झम्टिन पुग्थे । निर्वाचन आयोगका सोमनाथ प्यासी र माधव पौडेलको पालोमा पुगेपछि त समापन समारोह मीयो बिनाको दाइँ जस्तै बन्यो ।

मान्छेका नाम बोलाउन समेत नजान्नेहरुले दुई सय जना निर्वाचितहरुको नाम लिन करीव दुई घण्टा लगाए । सपथ ग्रहण समारोह रत्नपार्कको ‘मुकुन्दे’को प्रवचनजस्तो थियो । कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको सपथ ग्रहण भन्न कुनै पनि मानेमा नसकिने भद्रगोल अवस्थाको साक्षी बन्नुपर्दा बुढा पुराना कम्युनिस्ट नेताहरु शीर निहुराइरहेका थिए । अझ पशुपति चौलागाई, शिव भण्डारी, बिरोध खतिवडा, टंक कार्की जस्ता केन्द्रीय सदस्यहरुले त बाटोमा दौडिँदा दौडिँदै सपथग्रहणको भाषा पढिरहेको सुनियो ।

लिंग खुल्यो, पहिचान खुइलियो

५ करोडभन्दा बढी खर्च गरेर महाधिवेशन आयोजना गर्न सक्ने एमालेले समापन समारोहका लागि कुनै ठूलो हल भाडामा लिन नसक्ने प्रश्न थिएन । उद्घाटन समारोहको बेहाल भोगिसकेकाले समापन समारोहमा पनि कार्यकर्ता धेरै आउँछन् र उही हाल हुन्छ भन्ने अवश्य पनि थाहा थियो होला । तर, पनि एमाले नेतृत्वले बल्खुमै बेहाल समापन गर्नुको कारण के हो ? यसको जवाफ कसैसँग थिएन ।

घनश्याम भुसालले नवौं महाधिवेशनबाट एमालेले पहिचान पाएको भने पनि उसको अहिलेसम्मको खाइपाई आएको एउटा राम्रो पहिचान भने गुमाएको छ । अब एमाले व्यवस्थित पार्टी रहेन, यो त कांग्रेसभन्दा पनि भद्रगोले पार्टी बन्ने बाटोमा अघि बढेको छ । हाइटेकले हावा खाए पनि एमालेको नेतृत्वमा निर्वाचित भएका अधिकांश नया तथा युवा अनुहारले एमालेको गुमेको पहिचान पुनः स्थापित गर्नेतर्फ आफूलाई कसरी प्रस्तुत गर्छन्, त्यसले धेरै कुरा निर्भर गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?