२३ भदौ, म्याग्दी । जिल्लाको निस्कोटस्थित रुमखोला लद्युजलविद्युत् परियोजना पुनः सुचारु भएको छ । भदौ ७ गते पहिरोले नहर भत्काएपछि बन्द भएको ५१ किलोवाट क्षमताको परियोजनाबाट सोमबारदेखि पुनः विद्युत उत्पादन सुरु भएको हो ।
जनश्रमदान गरेर पहिरोले भत्काएको ३० मिटर नहर मर्मत गरेपछि विद्युत् उत्पादन हुन थालेको परियोजनाका सचिव भरत डगामीले जानकारी दिए ।
उनका अनुसार उपभोक्ताको पाँच लाख रुपैयाँ बराबरको श्रमदान एवम् आर्थिक लगानीमा परियोजना मर्मत भएको हो । विसं २०६५ मा निर्मित उक्त परियोजनाबाट पश्चिम म्याग्दीको दरवाङ, देविस्थान, रुम, निस्कोट र ओखरबोट गाविसका ७०० घरधुरी उपभोक्ताले विद्युत् सुविधा उपभोग गर्दै आएका छन् ।
पन्ध्र दिनसम्म परियोजना बन्द हुँदा फर्निचर, मिल, सहकारी, बैंक, कम्प्युटर प्रशिक्षण केन्द्र, दूध डेरीलगायतका उद्योग व्यवसाय प्रभावित भएका थिए । रासस
प्रतिक्रिया 4