Comments Add Comment

अमेरिकाप्रति व्यङ्ग्य गर्दै करजई बिदा भए

७ असोज, काबुल । अफगानिस्तानका पदमुक्त हुनलागेका राष्ट्रपति हमिद करजईले आफ्नो बिदाइको भाषणमा अमेरिकाले तालिवान विद्रोहीविरुद्ध आफ्नै उद्देश्यका लागि युद्ध गरिरहेको आरोप लगाएका छन् ।

सन् २००१ मा तालिवान शासन पतन भएपछि अमेरिकी सहयोगमा करजई शक्तिमा पुगेका थिए । कुनै समय इस्लामी विद्रोहीले अफगानिस्तानलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको थियो भने राष्ट्रपति करजईले अमेरिकी सैनिक अभियानको पटकपटक आलोचना गरे ।

तेह्र वर्षे शासनपछि उनी आउँदो साता पदमुक्त हुनुहुनेछन् । यस अवधिमा अफगानिस्तानलाई अरबौँ अमेरिकी डलर बराबरको सहयोग भए पनि आधारभूत संरचना, स्वास्थ्य, शिक्षा तथा महिलाको अधिकारको क्षेत्रमा सीमित सुधार भएको देखिएको छ ।

काबुलमा राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा सरकारी अधिकारीहरूबाट बिदा हुँदै राष्ट्रपति करजईले यो युद्ध अफगानिस्तानको युद्ध नभई विदेशीको युद्ध भएको र यो युद्ध विदेशीको उद्देश्यमा आधारित भएको बताए । उनले अमेरिकाले शान्ति नचाहेको र उसले आफगानिस्तानसँग इमान्दार हुनुपर्ने भन्दै उनीहरूले भनेको र गरेको कुरा समान हुनुपर्ने बताए ।

राष्ट्रपति करजईले अमेरिकाको विरोधमा निकै बोलेका छन् र उनले यसअघि वासिङ्टनले तालिवानसँग सम्बन्ध स्थापना गरेको अरोप लगाएका थिए । यसको अमेरिकाले कडा आलोचना गरेको थियो । अमेरिकाले सन् २००१ पछि अफगानिस्तानमा दुई हजार ३५० सैनिक गुमाएको छ ।

उनले आउँदो सरकारलाई अमेरिका तथा पश्चिमी मुलुकसँग निकै सावधान हुन सल्लाह दिएका छन् । उनले अफगानिस्तान ती मुलुकसँग समान फाइदाका लागि मित्र हुनसक्ने बताए । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment