९ असोज, काठमाडौं । एमाओवादीका साहसी नेता गोपाल किरातीले विहीबार पार्टी मुख्यालय पेरिसडाँडामा प्रचण्डकै सामुन्नेमा भने-‘हिजो प्रचण्डपथ भनिएको थियो, अब नयाँ राष्ट्रिय एकीकरणका नेता प्रचण्डको नेतृत्वलाई ‘प्रचण्ड विचारधारा’ भन्नुपर्छ भन्ने प्रस्ताव राख्न चाहन्छु ।’
तर, किरातीको प्रस्ताव प्रचण्डका अगाडि आधा घण्टा पनि टिक्न सकेन । गोपाल किराती प्रधान सम्पादक र रामकुमार शर्मा सम्पादक रहेको त्रैमासिक पत्रिकाको उदघाटन गर्ने क्रममा प्रचण्डले भने-‘कामरेड गोपाल किराती र कामरेड रामकुमार शर्माले राखेको कुरामा म अलिकति असहमति व्यक्त गर्न चाहन्छु ।’
‘नयाँ राष्ट्रिय एकीकरणको नेतृत्व एकीकृत नेकपा माओवादी र उसको विचारले गर्नुपर्छ भन्नेसम्म त म सहमत छु,’ प्रचण्ड विचारधारा भन्न नहुने जिकिर गर्दै प्रचण्डले भने- तर, त्यो प्रचण्डले नै, अझ एक कदम अगाडि बढेर प्रचण्ड विचारधारा बनाइनुपर्छ भन्ने प्रस्तावसँग चाँहि म असहमत छु ।’
यस्तो प्रस्ताव पार्टीमा छलफल नगरी बाहिर ल्याउनु विधि र प्रक्रियाको हिसाबले पनि सही नभएको बताउँदै प्रचण्डले भने- ‘अहिले प्राविधिक र वैधानिक दृष्टिकोणले पनि नेतृत्वलाई यो रुपमा प्रस्तुत गर्ने हाम्रो पार्टीभित्र कुनै छलफल र बहस भएर औपचारिक निर्णयतिर गएको छैन ।
विगतमा प्रचण्डपथ भन्नुको कारण खोल्दै प्रचण्डले भने-‘नेपालको इतिहासमा तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित १० वर्षको जनयुद्धमा विचारको विकास गर्ने क्रममा संश्लेषण भएर आएको पनि नेपाली जनतालाई र विश्वलाई राम्रोसँग थाहा छ । तत्कालीन नेकपा माओवादीको राष्ट्रिय सम्मेलनले विचार संश्लेषण गरेर नेतृत्वसँग त्यो विचारलाई जोड्ने भनेर पारित गर्यो ।’
तर, प्रचण्डपथ आफैंले हटाएको उनले बताए । प्रचण्डले भने-‘धेरैभन्दा धेरै कम्युनिष्ट क्रान्तिकारीहरुलाई एउटै केन्द्रमा केन्दि्रत गर्ने उद्देश्यमा रहेर म आफैंले प्रचण्डपथ स्थगित गरिदिनुपर्छ भनेर मेरो प्रस्तावमा पार्टी केन्द्रले त्यसलाई स्वीकृत गर्यो ।’
प्रचण्डले थपे- ‘संसारमा मैले पढेसम्म र मैले बुझेसम्म त्यस्तो नेतृत्व मैले देखेको छैन, जसले आफ्नै नामसँग जोडिएको विचार र नामाकरण देशको आवश्यकता अनुसार त्यो पदावली स्थगित गर्यो । यसमा व्यक्तिको नाम जोड्दा धेरैभन्दा धेरै कम्युनिष्टहरुलाई एउटै केन्द्रमा केन्दि्रत गर्न बाधा पुग्छ भन्ने ठानेर आफैंले आफ्नो नामसँग जोडिएको विचार संश्लेषणलाई हटाउने प्रस्ताव गरें ।
प्रचण्डले ‘प्रचण्ड विचारधारा’को प्रस्ताव तत्कालै खारेज गरिदिएपछि किरातीले निराश हुँदै भने- ‘यो उहाँको महानता हो ।’
जानकारहरुका अनुसार चीनमा माओत्सेतुङका नाममा लिनप्याओले माओवाद भन्ने प्रस्ताव गरेका थिए । तर, स्वयं माओले नै आफ्नो योगदानलाई ‘माओवाद’ भन्नु सही नहुने बताएका थिए ।
त्यसो त जनयुद्धकालमा यानप्रसाद गौतमले पनि प्रचण्डको नाममा ‘प्रचण्ड विचारधारा’ भन्नुपर्ने विचार अघि सारेका थिए । गौतम मारिएपछि रविन्द्र श्रेष्ठ र नेत्रविक्रम चन्द विप्लवले प्रचण्डपथ मात्रै नभई ‘प्रचण्ड विचारधारा’ मान्नुपर्ने धारणा अघि सारेको एमाओवादीका एक नेताले अनलाइनखबरलाई बताए ।

प्रतिक्रिया 4