Comments Add Comment

डोटी बस दुर्घटनाबारे संसदमा आक्रोश

२२ असोज, काठमाडौं । डोटीको छतिवनमा सोमबार भएको बस दुर्घटनामा ३० जना नागरिक मारिएको घटनालाई सरकारले सामान्य रुपमा लिएको भन्दै व्यवस्थापिका संसदको बैठकमा डोटीका सभासदले आपत्ति जनाएका छन् ।

सरकारले सुदूरपश्चिमका जनतालाई वेवास्ता गरेको र सडकको स्तर उन्नति गर्न सरकारले पहल नगर्दा यस्ता घटना भएको सभासदहरुले बताए ।

संसद खुलेलगत्तै समय लिएर बोल्दै डोटी क्षेत्र नम्बर २ का एमाले सभासद प्रेमवहादुर आलेले राज्यले नै पछि पारेको सुदूरपश्चिममा सडक मर्मत नहुँदा यति ठूलो दुर्घटना भएको बताए ।

मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेलाई उपचार गर्ने अवस्था बस व्यवसायीको नभएकाले सरकारले नै सबै जिम्मा लिनुपर्ने आलेले बताए ।

त्यस्तै डोटी क्षेत्र नम्बर १ का कांग्रेस सभासद वीरवहादुर बलायरले सडक कालोपत्रे गर्ने र स्तरोन्नति गर्नका लागि आफूहरुले पटक पटक लिखित आग्रह गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा यो विपत्ति आइलागेको बताए ।

‘सडक कालोपत्रे गरेदेऊ भनेर लेख्दा लेख्दै कलमको मसी सकियो, लेटरप्याड भरियो, तर सुनुवाइ भएन, सुदूरपश्चिमलाई हेप्ने सरकारी नीतिको परिणाम आज यस्तो विपत्ति आयो’ बलायरले भने ।

एमाओवादी सभासद भरतबहादुर खड्का, एमालेकी गौरी ओली, कांग्रेसकी कल्पना सोबलगायतका सभासदले यो दुर्घटनाको निष्पक्ष छानवीन गरी पीडितलाई राहत र क्षतिपूर्ति उपलव्ध गराउन सभामुखमार्फत सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment