Comments Add Comment

भुइँमा लत्रियो विजुलीका तार, वडाध्यक्ष भन्छन् : विद्युत कार्यालयले हामीलाई टेरेन

३ चैत, डडेल्धुरा । जिल्लाको अजयमेरु गाउँपालिका–६ दिव्यपुरमा विद्युत प्रसारण लाइनका तार र पोलहरु अव्यवस्थित हुँदा दुर्घनाको जोखिम बढेको छ ।

अधिंकाश पोल ढलेका कारण विद्युत प्रवाह हुने तारले भुइँ छुन लागेका छन् । यस्ता तारहरु स्थानीयको प्रयासमा काठका पोल राखेर जमिन छुन नदिए पनि जोखिम बढ्दो छ ।

११ हजार भोल्ट करेन्ट प्रवाह भएको विद्युतका तारले रुख र सडकलाई नै छोएका छन् । विद्युतलाइन नजिक स्याल, चिलजस्ता जंगली जनावर र पन्छी मरेको भेटिने स्थानीय जनक मल्लले बताएका छन् ।

राजुल सामुदायिक स्वास्थ्य इकाई नजिकै पोलमाथि राख्नुपर्ने टान्सफर्मर जमिनमै राखिएको छ । जब एक जना स्थानीय करेन्ट लागेर बेहोस भए, त्यसपछि मात्रै स्वास्थ्य संस्थाको ध्यान तानियो ।

सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत अनमी सीता बोगटीले कतिबेला कसको ज्यान जान्छ अनुमानै गर्न नसकिने बताइन् । ‘राति अबेरसम्म आउजाउ गर्नुपर्छ, बाटैमा टान्सफर्मर छ कतिबेला करेन्ट लाग्छ, भन्ने डरमात्र हुन्छ’ उनले भनिन् ।

चेतना माविको प्रांगणमा रहेको पोलमै करेन्ट आउन थालेपछि विद्यार्थीलाई करेन्ट लाग्ने डर बढेको प्रधानाध्याक ओमप्रकाश पन्तले बताए । ‘पानी पर्नु हुँदैन करेन्ट आउन थालिहान्छ’ उनले भने ‘विद्यालयले ५० मिटर मात्र टाढा रहेको वडा कार्यालयलाई पटक पटक यसबारे जानकारी गराए पनि सुनुवाइ भएको छैन ।’

राजुलको गाउँ पुग्ने मुख्य सडकमा हातैले छोइने गरी तार झुण्डिएका छन् । यस्तो समस्या देखिएको ३ वर्ष भइसकेको छ ।

अस्तव्यस्त विद्युत लाइनबारे स्थानीयले पटक पटक नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रलाई जानकारी गराइसकेका छन् । तर सुनुवाइ नभएको अजयमेरु गाउँपालिका ६ का वडा अध्यक्ष दानबहादुर खड्काले बताए ।

‘स्थानीय तहको निर्वांचन हुनु भन्दा पहिलेदेखि यो लाइन सुधारको माग गर्दै पटक पटक विद्युत कार्यालयलाई अनुरोध गरेका छौं’ उनले भने ‘विद्युत कार्यालयले हामीलाई टेर्दै टेरेनन् ।’

यो समस्या स्थानीय तह आफैले समाधान गर्नुपर्ने नेपाल विद्युत प्राधिकारण वितरण केन्द्र डडेल्धुराका प्रमुख ईश्वरकुमार श्रेष्ठ बताउँछन् ।

उनले भने ‘स्थानीय तहको समस्या उहाँहरुलाई नै बढी जानकारी हुन्छ भनेर पोल तार हामीले वितरण पहिले नै गरेका छौं, अहिले मेरो यहाँ यस्तो चाहियो भनेर भन्छन्, कहाँबाट दिनु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment