Comments Add Comment

नेपाली खेलकूदमा रक्सी खाने र मोज गर्ने प्रवृत्ति हावी

Deepak-Bistha-banner-960–दीपक विष्ट, कीर्तिमानी तेक्वादो खेलाडी

मैले तीनवटा एसियन गेम खेलेँ । दुईवटामा मेडल जितेँ । एउटामा क्वार्टर फाइनलमा पुगेँ । बैंककमा भएको १३ औं एसियन गेममा म जब हारेँ र जित्ने खेलाडीले जुन सम्मान पाए, त्यो दिनदेखि मभित्र ईख जाग्यो ।

हारेपछि पाँच दिनसम्म रोएँ । अर्कोचोटि म बग्गीमा चढ्छु भनेर मनमनै कसम खाएँ । त्यसपछि मैले दुईवटा एसियन गेममा सफलता हात पारेँ ।

मेरो अनुभवमा एसियन गेममा सफलता पाउन त्यति सजिलो छैन । खेलाडीहरुले मात्रै खेलेर हुँदैन, खेलाडीसँगै प्रशिक्षक पनि खेल्नुपर्छ । एशोसिएसनले खेल्नुपर्छ, खेलकुद परिषदले खेल्नुपर्छ । ओलम्पिक कमिटी खेल्नुपर्छ, मन्त्रालय र नेपाल सरकारले खेल्नुपर्छ । सबैको आ–आफ्नो भूमिका छ । मेडलका लागि त्यसपूर्व गर्नु पर्ने तयारी (प्रशिक्षण, लगानी, वातावरण जस्ता विषय ) मा पनि जित्नुपर्छ ।

तर, योपटकको एसियन गेमजस्तो नराम्रो कहिल्यै भएन । जुन राजनीतिक हस्तक्षेप भयो, अब पनि यसरी नै जाने हो भने खेलकुदको भविश्य शून्य देख्छु ।

खेलाडी हुँ भन्न लाज लाग्यो

म प्रशिक्षकका रुपमा थिएँ । तर, मलाईसमेत विवादमा ल्याउने काम भयो । यसले म आफैंलाई लाज लाग्यो । र, यस्तै हो भने खेलकुदमै नआउने हो कि भन्नेसम्म लाग्यो ।

मलाई खेलाडी भन्न पनि लाज लाग्ने अवस्था आएको छ ।  म एमाले हो, म जानुपर्छ, म एमाओवादी हो, म कांग्रेसको हो, म जानुपर्छ भन्ने झगडा देखियो । सबैले आफू कोरिया जान नेताहरुलाई फोनसम्म गराउन लगाएको पाइयो

म खेल्दा रातदिन मेहनत गरेर खेल्थेँ । व्यवस्थापनको मतलव हुँदैनथ्यो । जसरी भए पनि मेडल ल्याउनुपर्छ भन्ने हुन्थ्यो । तर, योपटक प्रशिक्षकको रुपमा जाँदा मैले अर्कैथोक देखेँ र भोगेँ ।

नेपाली खेलकुद परिषद् र ओलम्पिक कमिटीबीच लामो समयदेखि झगडा हुँदै आएको थियो । हामीले मिलाउने प्रयास पनि गरौं । तर, योपटक मन्त्रालय पनि थपियो । खेलकुदमन्त्रीले सदस्य सचिवलाई हटाउन खोजेपछि ट्राङगुलर फाइट भयो ।

यसको सबैभन्दा मारमा खेलाडीहरु परे ।

खेल पदाधिकारीहरुले म कोरिया जान पाउनुपर्छ भनेर झगडा गरे । म एमाले हो, म जानुपर्छ, म एमाओवादी हो, म कांग्रेसको हो, म जानुपर्छ भन्ने झगडा देखियो । सबैले आफू कोरिया जान नेताहरुलाई फोनसम्म गराउन लगाएको पाइयो । अब दलहरूले पनि वुझ्नुपर्छ खेल भनेको के हो ? । यसलार्इ राजनीतिबाट टाढा राख्नुपर्छ । कसैले फोन गरेकै भरमा भनिदिन्छु भन्ने गर्नु हुँदैन ।

खेलाडी कहाँ खेल्दैछन्, कसरी जाँदैछन्, कसैलाई मतलब छैन । हो, खेलाडीहरुलाई २ वर्षसम्म प्रशिक्षणमा राखिएको थियो । यो पक्कै राम्रो हो, यसका लागि राखेप सदस्य सचिवलार्इ धन्यवाद । तर, त्यसले मात्र मेडल आउँदैन भन्ने त प्रष्ट भयो । एसियन गेम भन्ने ठूलो हो, त्यसैले अब के गर्ने भन्नेतिर ध्यान जान नरूरी छ ।

खेलाडीहरुलाई धेरैभन्दा धेरै अवसर दिनुपर्छ । बलिया प्रतिद्वन्द्वीहरुसँग खेल्ने मौका दिनुपर्छ र अनि पो खारिन्छन् । हाम्रो त एकैचोटि रिङमा उतारिएको छ ।

मैले योपटक खेलाडीहरुमा अनुभवको धेरै कमी देखेँ । हाम्रा खेलाडीहरु नराम्रा होइनन् । प्रदर्शनमा धेरै तलमाथि पनि होइन । अब पनि खेलाडी खेलकुदमा नसुध्रिने हो भने रिङमा उत्रन पनि नसक्ने अवस्था आउँछ जस्तो लाग्छ ।

एक्रिडेसनका लागि मारामार

इन्चोनमा खेल्न जाने क्रममा क्रिकेट खेलाडीहरु दुई रात विमानस्थलमा अलपत्र परे । करातेको को खेल्ने हो, रिङमा उत्रने बेलासम्म पनि अन्योल रह्यो ।

तेक्वान्दोमा पनि त्यस्तै विवाद रह्यो । अर्को युनियन भन्ने संघबाट खेलाडी छनोट भयो भन्ने खबर आएपछि मैले कसरी मेडल ल्याउने भनेर रणनीति बनाउनुपर्ने खेलाडी म जाने कि नजाने भन्नेतिर लाग्नुपर्‍यो ।

रक्सी खाने, मोज गर्ने, आफ्ना मान्छेलाई घुमाउने प्रवृत्ति हाबी देखियो । यतिधेरै गैर खेलाडीहरु सुरुदेखि अन्तिमसम्म भात खाएर, जाँड खाएर बसे

प्रशिक्षक भएकाका खेलाडीहरुले मलाई सोध्दै थिए, गुरु, अर्कोको पनि छनोट भयो रे ।  हामी जाने हो र ? हाम्रो त नाम नै छैन रे । तेक्वान्दोमा बैंकल्पिक खेलाडी भनेर समेत लगियो । यस्तै गाइजात्रा कही भएको छैन । उसलार्इ खेलाउँछु भनेर लगियो, उ पनि नेपाली खेलाडी हो । खेल्न नपाउँदा कस्ताे भयो हाेला ? के खेलकुद भनेकाे भागवण्डा गर्ने ठाउँ हो ?

करातेमा पनि त्यस्तै भयो । परिषद्ले जापानबाट पठायो, कोही यताबाट गए । यताबाट गएकाले मेडल जितेर आएका छन् ।मेडल ल्याउनु देशका लागि राम्रो हो । तर, यो विवादले मेडल ल्याउनेले जति सम्मान पाउनु पर्ने हो, त्याे भएन भने खेल्न नपाउने खेलाडीको मनमा के भयो होला ? यसकाे क्षतिपूर्ति कसले दिने ? के उसले अहिलेसम्म गरेको मेहनत केही होइन ?

अब, जान नदिने, खेल्न नदिनेहरुलाई कारवाही गर्ने कि नगर्ने ?

मैले बुझेको त व्यवस्थापकको काम भनेको पहिला खेलाडीलाई प्राथमिकता दिने हो । पहिला आफू जाने होइन । तर, हाम्रोमा कसरी मेडल ल्याउने भन्ने कसलाई मतलव छैन ।

आफू पहिले जाने, कार्ड हात पार्ने भन्नेतिर लागे । एक्रिडेसन कार्डको नाममा कुटाकुट भएको कुरासम्म गाइँगुइँ सुन्न पाइयो । ओलम्पिक कमिटीले नबनाइदिने, परिषद्ले खर्च नदिने, मन्त्रालयले आफ्ना मान्छे लैजान खोज्ने ।

राजनीति यति धेरै हाबी भयो कि देशको झण्डाभन्दा सबैलाई पार्टीको झण्डा र कार्यकर्ताको माया लाग्यो ।

रक्सी खाने र मोज गर्ने प्रवृत्ति हावी

Deepak-bistaयतिसम्म भयो कि खेलाडी वा प्रशिक्षक भएर जान पनि कुनै पार्टीमा लाग्नु पर्ने त होइन भन्ने लाग्यो । दीपक विष्ट धेरैपटक विदेश गइसक्यो, उसलाई पठाउनुहुन्न भन्ने सम्म सुन्न पाइयो । राम्राे मान्छे जाने हो । म देशका लागि खेल्ने गएको हो, घुम्नलार्इ होइन ।

म भन्न चाहन्छु क्रिकेटका कप्तान पारस खड्कासहितका खेलाडी धेरै विदेश गएका छन् र जान्छन् । तर, उनीहरू घुम्न गएका होइनन, देशका लागि खेल्न गएका हुन् ।

के अब उनीहरू धैरै विदेश गए भनेर अरूलार्इ पठाएर नेपाली क्रिकेटको विकास हुन्छ त ?

इन्चोनमा थाइल्याण्डका खेलाडी र अरू देशका खेलाडी खेल्दा हुटिङ गर्न पदाधिकारीदेखि सबै उपस्थित हुन्थे, झण्डा बोकेर हुटिङ गरे । तर, हाम्रो तेक्वान्दोको खेल हुँदा मैले यहाँबाट गएको कुनै पनि अधिकारीहरुलाई देखिँन । क्रिकेट हेर्न रमाइलो हुन्छ भनेर गएको भन्ने पनि सुनियो । क्रिकेटमा कसरी मेडल ल्याउने भन्ने होइन, रमाइलो हुन्छ भनेर । जबको क्रिकेट खेलाडी नेपालको विमानस्थलमा अलपत्र पर्दा कसैलार्इ मतलब भएन ।

रक्सी खाने, मोज गर्ने, आफ्ना मान्छेलाई घुमाउने प्रवृत्ति हाबी भएको देखियो ।

जब गेम आउँछ, खेलाडीहरुलाई काखी च्याप्छन् र तँ मेरो हो भन्छन् । त्यहाँ यतिधेरै गैर खेलाडीहरु सुरुदेखि अन्तिमसम्म भात खाएर, जाँड खाएर बसे ।

क्रिकेट खेलाडीहरुलाई समयमै कोरिया पुर्‍याउन सकेको भए सेकेण्ड मेडल त आउँथ्यो नि । नैतिकता छ कि छैन माथि बस्नेहरुको ?

आज मेडल जितेर आएको खेलाडीमाथि राजनीति हुँदैछ । त्यो जित्ने खेलाडीको के दोष ? खेल्न नपाउनेको दोष के ? अब खेलाडीहरुलाई नै फुटाउने काम गर्दैछन् ।

नेपालका खेलाडीहरु किन भाग्छन् ?

यस्तो छ कि खेल्न जान नै खेलाडीहरुले मारामार नै गर्नुपर्छ । सबैलाई राजनीतिमा घुसाइएको छ । परिषद एकातिर मुख फर्काएर बसेको छ, ओलम्पिक अर्कोतिर । मन्त्रालय अर्कोतिर मुख फर्काएर बसेको छ । यस्तो देशमा कसैले आफ्नो भविश्य गुमाउन चाहँदैनन् ।

हाम्रो देशका एक जना नेपालीले भारतका लागि स्वर्ण जिते । तीन करोड नेपालीमा छैन होला तर मेडल जित्ने ? त्यसैले अब हामीले चार वर्ष पछि हुने गेममा कसरी मेडल ल्याउने भनेर योजना बनाउनुपर्छ

हो, भाग्नेहरुले राम्रो गरे म भन्दिँन । देशको बदनाम गराउन कसैले पाउँदैन । यो त देशको अस्मितासँग जोडिएको विषय हो । तिलकराम थारुलाई म राम्रो मान्थेँ । ओलम्किप खेलेको खेलाडीले नेपाल फर्किएर अन्यत्रै पनि जान सक्छन् नि ।

खेल्दाखेल्दै भाग्नुहुँदैन । देशको बदनाम कुनै खेलाडीले गराउन पाउँदैन । उसले गर्दा नेपालको ट्रयाक सुट लगाउन लाज लाग्यो । तर, उसले भविश्य नदेखेर भाग्यो । यसको जिम्मेवार सरकार, परिषद्, ओलम्पिक सबै छन् ।

विदेशमा एकपटक मेडल जित्यो भने लाइफ बन्छ । हाम्रो नेपालमा धेरै मेडल जित्ने र सम्मान पाउनेमा मेरो नाम पनि आउँछ । तर, मलाई त यस्तो गाह्रो छ भने अरु खेलाडीलाई के होला ?

यो बाध्यता कसले गरायो भने यहाँको वातावरणले । खेल मैले मात्र बुझेको छु भन्ने ठाने नेतृत्व गर्नेहरुले ।

समक्ष नेतृत्व चाहियो

मेडल ल्याएन भने खेलाडीले मेडल ल्याएन भन्छन् । त्यहाँ गएर मेडल किनेर ल्याउने त होइन नि । जितेर ल्याउने हो । मेडल किन आएन भनेर कसैले पनि खोजी गर्दैनन्, जब गेम आउँछ, सबैलाई मेडल चाहिन्छ ।

त्यसैले मेरो निष्कर्ष के हो भने अब नेपाली खेलकुदमा सक्षम र राम्रो मान्छे चाहिएको छ । हाम्रो होइन, राम्रो खेलाडी छान्न सक्ने र देशलाई माया गर्ने मान्छे चाहिएको छ ।

हाम्रो देशका एक जना नेपालीले भारतका लागि स्वर्ण जिते । तीन करोड नेपालीमा छैन होला तर मेडल जित्ने ?
त्यसैले अब हामीले चार वर्ष पछि हुने गेममा कसरी मेडल ल्याउने भनेर योजना बनाउनुपर्छ र त्यहीअनुसार काम गर्नुपर्छ । घुम्न जाने, आफ्नो प्रदर्शन सुधार्न जाने हो भने अरु खेलमा गए हुन्छ ।

एक समय हामी अफगानिस्तान, थाइल्याण्डलाई पिट्थ्यौं । अहिले हामी केहीबेर टिक्न सक्दैनौं किन ?

थाइल्याण्ड तेक्वादोमा नम्बर वान बनिसक्यो । बन्दुक र गोलाबारी हुने अफगानिस्तानले मेडल जितेको छ । उनीहरुले मेडल ओरियन्टेड खेल के हो भन्ने बुझे र बक्सिङ मार्सल आर्टका लागि स्कुल लेभलबाट प्रशिक्षक/अध्ययन थालेका छन् । त्यसैले हामीले पनि ग्रासरुट लेभलबाट काम थाल्नुपर्छ ।

उनीहरुले जस्तो प्रशिक्षक र खेल्ने वातावरण पाउने र राज्यले लगानी गर्ने हो भने मेडल ल्याउनेमा कुनै शंका छैन । नत्र मेडलको घण्टी बजाएर केही हुनेवाला छैन ।

मेडल जितेपछि मात्र सम्मान गर्ने होइन । कसरी मेडल जिताउने भनेर पहिले सोच्नुपर्छ । मेडल जितेपछि त सबैले हेर्छ ।
अर्को, नेपालमा खेलबाट राजनीतिलाई हटाउनुपर्छ । हो, देश नै राजनीतिक दलहरुले चलाएका छन् भने खेलकुद पनि उनीहरुले नै चलाउने हो । तर, खेलकुदमा नेपालको झण्डा र ३ करोड नेपाली मात्र हुन्छ, कार्यकर्ता भन्ने होइन । पार्टीहरूमा भएका खेलकुद बुझेका राम्रा मान्छेहरू पठाउनुपर्छ ।

देशका लागि खेल्ने मेडल जित्नेको कुनै सम्मान नहुने अनि पार्टीको कार्यकर्ता भयो भन्दैमा खेल बुझ्दै नबुझ्नेलाई हामीले नमस्कार गर्दै हिँड्नु पर्ने ? यो अन्त्य हुनुपर्छ ।

खेलाडीहरुमा अनुशासन हुनुपर्छ । र, मेडल जितेपछि उनीहरुको जीवन सुरक्षित हुनुपर्छ । राम्रो काम गर्नेहरुलाई पुरस्कार र खराब काम गर्नेलाई दण्ड दिने व्यवस्था लागू गर्नुपर्छ । राजनीतिक संरक्षण नदिने हो भने नराम्रो गर्नेहरुलाई घोक्रेठ्याक लगाउन सकिन्छ ।

प्रस्तुती– राजकुमार श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment