Comments Add Comment

‘स्वप्नदोष’जस्तै भयो खिमाले लडेको जनयुद्ध

३० असोज, काठमाडौं । नवलपरासीको माकर-१ मा ०३४ साल मंसिरमा सामान्य ब्राह्मण परिवारमा जन्मिएकी खिमा रिजाल ०५५ सालमा २१ वर्षको उमेरमा चितवनस्थित सप्तगण्डकी क्याम्पस पढ्दापढ्दै माओवादी जनयुद्धमा लागेर भूमिगत भइन् ।

Khima Rijalजनयुद्धका क्रममा गाउँगाउँमा प्रहरी र सेनाबाट लुक्दै संगठन गर्ने क्रममा चितवनका शिवहरी तिम्सिनासँग खिमाको प्रेम सम्बन्ध अंकुरायो । ०६० साल बैसाख २० गते शिव र खिमाको जनवादी विवाह भयो ।

तर, विवाह गरेको १० महिनापछि सुरक्षाकर्मीसँगको मुठभेडमा शिवहरी मारिएपछि खिमा हनिमुनसमेत राम्रोसँग मनाउन नपाई विधवा बनिन् ।

खिमाका श्रीमान शिवहरी र उनका अर्का एक जना दाजु पनि जनयुद्धमा मारिए । खिमाका जेठाजु अञ्जनकुमार तिम्सिना नेपाली सेनामा थिए, उनी पनि सेनाको जागिर छाडेर माओवादी जनयुद्धमा लागे । अहिले पनि अञ्जनकुमार ‘संघर्ष’ चितवनमा एमाओवादी कार्यकर्ता छन् ।

बाह्रबुँदे समझदारी हुँदै शान्ति प्रक्रियामा आइसकेपछि सहीद परिवारलाई राहत दिने कुरो आयो । तर, एमाओवादी जनसेनाका लडाकूसमेत रहेका अञ्जनकुमारले आफ्नी भाइबुहारी खिमालाई राहत दिन नहुने र एकाघरका बुबाआमालाई राहत दिनुपर्ने अडान लिए ।

शिवहरीकी विधवा खिमालाई तिम्सिना परिवारले आफ्नी बुहारी हैन र चिनेको समेत छैन भन्न थाल्यो । जबकि खिमाको विवाहमा परिवारका सदस्यहरु स्वयं सहभागी थिए । सहीदपत्नी खिमालाई तिम्सिना परिवारले बुहारीका रुपमा स्वीकारै गरेन ।

Khima Rijal & Shivahari Timsinaमाओवादी पार्टीले सहिद शिवहरी तिम्सिना र खिमा रिजाल पतिपत्नी भएको प्रमाणित गरे पनि तिम्सिना परिवारले बुहारीमाथि विभेद गर्न थाल्यो । सम्पत्ति खानका लागि खिमाले शिवहरीकी पत्नी दाबी गरेको आरोप तिम्सिना परिवारले लगायो ।

खिमाले न्याय माग्दै पार्टी नेता गुहारिन् । तर, न्याय पाइनन् । पेरिसडाँडामा वार्ता भयो तैपनि अञ्जनकुमारले आफू प्रचण्डको मान्छे हो, कसले के गर्छ भन्दै खिमालाई चरित्रहीन केटीको संज्ञा दिन थाले । आफूलाई माओवादी र सहीद परिवार भन्नेले नै बुहारीमाथि चर्को विभेद गर्न थाल्यो ।

सप्तगण्डकी क्याम्पस पढ्दापढ्दै खिमा रिजाल जे सपना देखेर माओवादी जनयुद्धमा लागेकी थिइन्, जनयुद्ध सकिएपछि उनको सपना स्खलित भयो । जनयुद्ध र महिला मुक्ति उनका लागि स्वप्नदोषजस्तै सावित भए ।

माओवादी परिवारले बुहारी मान्न अस्वीकार गरेपछि खिमा काठमाडौं आइन् । केही समय उनले प्रेस काउन्सिलमा जागिर खाइन् । त्यहाँ रहँदा आफूमाथि विभेद भएको, एमाले कर्मचारीले लेवी उठाउने गरेको, जगदीश पौडेलले हेप्ने गरेको र गोपाल बूढाथोकीले अलि ढीलो आउँदा हाजिरीमा रातो मसी धसिदिने गरेको खिमाको अनुभूति छ ।

जनयुद्धमा पति गुमाएकी खिमाले पार्टीबाट न्याय नपाएपछि तिम्सिना परिवारविरुद्ध नाता प्रमाणित, मानो चामल र अंशको माग गर्दै चितवन जिल्ला अदालतमा मुद्दा हालिन् ।

अन्ततः विगतमा आफूले भन्दै आएको पुरानो अदालतमै खिमाले मुद्दा लडिन् । ‘पुरानो अदालत’बाटै उनले न्याय पाइन् । शिवहरीसँग उनको नाता प्रमाणित भयो । खिमाले अंश पाउने गरी जिल्ला अदालतले फैसला सुनायो ।

दश वर्ष जनयुद्ध लडेकी खिमाले पति-पत्नीको नाता प्रमाणितका लागि थप १० वर्ष लडिन् । अन्ततः आफैंले लडेको पार्टीले अन्याय गरेपछि उनले ‘पुरानो अदालत’बाट न्याय पाइन् ।

तर, अदालतबाट मुद्दा जितेपछि खिमाले तिम्सिना परिवारबाट पाउने अंश लिइनन् र उनीहरुलाई नै छाडिदिइन् । राहतबाट प्राप्त सहीद परिवारको रकमबाट भने उनले चितवनस्थित शिवहरी पढेकै विद्यालयमा अक्षयकोष स्थापना गराएकी छन् ।

abichalit yatra‘यी भोगाइले मलाई कहिल्यै कमजोर बनाएन । दुःखीमात्र बनायो । कहिल्यै हतोत्साही बनाएन । झन् स्पातिलो बनायो,’ खिमाले हालै प्रकाशित गरेको आफ्नो संस्मरण ‘अविचलित यात्रा’ मा भनेकी छन्-‘जनयुद्धले स्थापित गरेको संस्कृति आज विस्थापित भई सामन्तवादी संस्कृतिको नै पुनरावृत्ति भएको छ । आफूलाई सांस्कृतिक क्रान्तिको ठेकेदार ठान्ने मेरा जेठाजुहरुजस्ताले सामन्तवादी संस्कृतिको पुनरावृत्ति गरेका छन् । यसको शिकार म र मजस्ता कैयौं महिला भएका छौं । त्यसैले त अब मुलुकमा परिवर्तनको खाँचो छ त केवल महिलालाई खाँचो छ ।’

पार्टी र परिवारबाट अवहेलित खिमाले यतिबेला सप्तगण्डकीबाट छुटेको पढाइलाई निरन्तरता दिँदै समाजशास्त्रमा एमए र कानूनमा स्नातक तहको अध्ययन गरिरहेकी छन् । टुटेको सपना फेरि जोड्न खोजिरहेकी छन् । जनयुद्धले उनलाई एकल महिलाको पगरी गुथाएको छ । साथमा न छोराछोरी छन्, न पति ।

तैपनि जीवनमा अगाडि बढ्ने र समाजमा केही गर्ने दृढ अठोटमा छिन् उनी । मार्क्सवादले उनलाई जीवनप्रति आशावादी हुन सिकाएको छ । उनी भन्छिन्-‘मजस्तै साथीहरु मानसिक रोगको औषधि खानुपर्ने ठाउँमा पुगेका छन्, तर, म अझै संघर्ष गरिरहेकी छु जीवनसँग ।’

आफूलाई बदल्न नसकेका पित्तृसत्ताका नाइकेहरुविरुद्ध अझै संघर्ष गर्ने उनीभित्र दृढ अठोट देखिन्छ खिमाको अविचलित यात्रामा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment