Comments Add Comment

बाबुरामको पहलमा शीर्षनेताको ‘गोप्य’ बैठक

३० असोज, काठमाडौं । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल विहीबार बिहानैदेखि आफ्नो नियमित काममा व्यस्त थिए । अपरान्ह अकस्मात् उनलाई डा. बाबुराम भट्टराईबाट गोप्य बैठकमा सहभागी हुन आउनू भन्ने निम्तो आयो ।Baburam-in-samsad-400

एमाले नेता माधव नेपाल र अन्य केही शीर्षनेतालाई लिएर डा. बाबुराम भट्टराई गोप्य बैठकका लागि भन्दै राजधानीको उत्तर दिशातिर लागे । तीन दलका ६ जना शीर्षनेताको मात्रै सहभागिता रहेको बैठकमा सहमति नभए आज रातभरि नसुत्ने डा. भट्टराईको योजना छ ।

बैठकमा शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, केपी ओली, माधव नेपाल, प्रचण्ड र बाबुराम भट्टारई सहभागी छन्

‘आजै साँझ संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. भट्टराईको संयोजनमा तीन दलका शीर्ष नेतामात्र बस्ने कार्यक्रम छ’ एमाओवादी निकट स्रोतले भन्यो,’आवश्यक पर्दा आज रातभरि नै बसेर भए पनि भोलि बिहानसम्म सहमतिमा पुग्ने गरी छलफलको वातावरण डा. भट्टराईले बनाउनुभएको छ ।’

स्रोतका अनुसार तीन दलका शीर्षनेताहरुको टोली सेक्युरिटीको साइरन बजाउँदै बौद्धबाट उत्तरतर्फ लागेको छ । एमालेका अध्यक्ष केपी ओली र माधवकुमार नेपाल बैठक स्थलमा पुगेका छन् ।

बैठकमा एमाओवादीबाट प्रचण्ड र बाबुराम सहभागी छन् । कांग्रेसबाट शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला सहभागी छन् । उपसभापति रामचन्द्र पौडेल राजधानीमा नभएकाले महामन्त्री सिटौला सहभागी भएका हुन् ।

शुक्रबार बिहान ९ बजे सिंहदरबारमा पुन: तीन दलको बैठक बस्ने छ, ११ बजे सिंहदरबारमै सम्वाद समितिकाे बैठक डाकिएकाे छ

बिहीबार बेलुका बसेकाे शीर्ष नेताहरुको बैठक राति १० बजेसम्म होटलमा बस्नेछ । आजै सहमति नभए शुक्रबार बिहान ९ बजे सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा पुनः तीन दलको बैठक बस्ने बताइएको छ । ३ दलकाे बैठकपछि शुक्रबार बिहान ११ बजे सिंहदरबारमै सम्वाद समितिकाे बैठक डाकिएकाे छ ।

संविधानसभाले थपेको समयसीमा अनुसार राजनीतिक सम्वाद समितिले संविधानका विवादित विषयमा सहमति गरी शुक्रबार प्रतिवेदन बुझाउनुपर्ने भएकाले डा. भट्टराईले सक्रियता देखाएका हुन् ।

दलका नेताहरुसँग भएको पछिल्लो छलफलका क्रममा सहमति हुनेमा डा. भट्टराई विश्वस्त रहेको स्रोतले बतायो ।

सहमति नभए के होला ?

संविधानसभाले ५ दिनको म्याद थपेर शुक्रबारसम्म सहमति गरिसक्न दिएको समयावधि सकिनै लागेका बेला दलका शीर्षनेताहरु अन्तिम सहमति खोज्ने प्रयासमा छन् ।

शुक्रबार बिहानसम्म सहमति भएन भने मुलुकको राजनीति कसरी अगाडि बढ्ला भन्ने धेरैको चासो छ । सहमति भएन भने बहुमतीय प्रक्रियाबाट अघि बढ्ने कांग्रेस र एमालेका नेताहरुको तर्क छ ।

दुई दिन अघि आफ्नै निवासमा गरेको भेटघाटमा विपक्षी दलका नेता प्रचण्डले सहमति भएन भने प्रक्रिया पनि अघि नबढ्ने दाबी गरेका थिए । तीन दिनमा सहमति नभए प्रक्रिया पनि अघि नबढ्ने र संविधानसभाको कार्यातालिका परिवर्तन हुने प्रचण्डको दाबी थियो ।

कार्यतालिका परिवर्तन भएपछि पुनः सहमतिको प्रयास हुने प्रचण्डले बताएका थिए ।

शीर्षनेताहरुले सहमतिका लागि भगिरथ प्रयास गरिरहेका बेला उता खुल्लामञ्चमा शुक्रबार २२ दलको विरोधसभा हुन लागेको छ । शीर्षनेताहरुको राति अबेरसम्म बस्ने बैठकले निकास निकालेन भने यो कुरा निश्चित छ, शुक्रबार दिउँसो प्रचण्डले खुल्लामञ्चबाट निकै कडा भाषण गर्नेछन् ।

तर, दलहरु सहमतिमा पुगे भने खुल्लामञ्चको विरोधसभाको स्वर मथ्थर हुनेछ ।

के-केमा छ विवाद ?

प्रमुख दलहरुका वीचमा संविधान निर्माणका विषयमा सहमति हुन नसकेको विषय संघीय प्रदेहशको खाका, शासकीय स्वरुप र निर्वाचन प्रणाली मुख्य रहेका छन् ।

संघीय प्रदेशमा कांग्रेस एमालेले ६ वा ७ प्रदेशको अवधारणा अघि सारेका छन् भने एमाओवादी १० प्रदेशमा अडान राख्दै आएको छ ।

शासकीय स्वरुपमा एमाले र कांग्रेस संसदीय व्यवस्थाको निरन्तरताको पक्षमा छन् भने एमाओवादी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको पक्षमा छ । निर्वाचन प्रणालीमा पनि प्रत्यक्ष मात्रै गर्ने कि मिस्रित प्रणाली अपनाउने भन्नेमा तीन दलवीच विवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment