Comments Add Comment

संसदबाट बजेट पारित

२ कात्तिक, काठमाडौं । आर्थिक बर्ष २०७१/७२ को बजेट व्यवस्थापिका संसद बैठकबाट पारित भएको छ । आइतबार बसेको संसद बैठकबाट ६ खर्ब १८ अर्ब रुपैयाँको बजेट बहुमतले पारित भएको हो ।

गत असार मसान्तमा अर्थमन्त्री डा. रामशरण महतले बजेट पेश गरेका थिए । भदौ मसान्तमै बजेट पारित गर्ने योजना भए पनि प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीको अवरोधका कारण बजेट पारित गर्न केही ढिलाइ भएको हो ।

बैठकले राष्ट्र ऋण उठाउने विधेयक २०७१ र ऋण तथा जमानत विधेयक बीसौं संशोधन विधेयक २०७१ पनि पारित गरेको छ । अर्थमन्त्री डा.महतले ति दुबै विधेयकहरुलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघिका संसद बैठकबाट विनियोजक विधेयक र आर्थिक विधेयकलाई समेत पारित गरिसकेकाले आइतबार समग्र बजेट नै पारित भएको हो ।

आईतबारको संसद बैठकमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पेश गरेको निजामति सेवा (चौथो संशोधन) विधेयक, २०७१ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राखेको प्रस्तावलाई समेत बहुमतले स्वीकृत भएको छ ।

व्यवस्थापिका संसद बैठकको शुरुमा शुून्य समयमा विभिन्न दलहरुका सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए ।

संसदको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment