Comments Add Comment

गणेश थापाद्वारा एन्फा अध्यक्ष पद स्थगनको घोषणा

ganesh thapa  (3)

३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ -एन्फाका अध्यक्ष गणेश थापाले दुई महिनासम्म एन्फा अध्यक्षको रुपमा काम नगर्ने घोषणा गरेका छन् । उनले अब आफूले सफाइ पाएपछि क्लिन चिट लिन निकै गाह्रो हुने बताएका छन् ।

भोलि सफाइ पाउँदा पनि त्यो क्लिन चिट पाएपनि लिन गाह्रो पर्छ जस्तो लागेको छ । त्यति ड्यामेज भइसकेको छु

५८ करोड भ्रष्टाचार आरोपमा संसदको सार्वजनिक लेखा समितिले दुई महिना पद स्थगन गर्न निर्देशन दिएको २१ दिनपछि थापाले वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । कोषध्यक्ष विराटजंग शाहीको जिम्मेवारी स्थगन गरी सहकोषध्यक्ष रविन्द्र जोशीलाई दिइएको छ ।

लेखा समितिले असोज १२ गते थापाको पद स्थगन गर्न निर्देशन दिएको थियो । तर, थापाले भ्रष्टाचारको पुष्टि गर्न चुनौती दिएपछि लेखाले ३ दिनभित्र निर्देशन कार्यान्वयन गर्न खेलकुद मन्त्रालयलाई भनेको थियो ।

फुटबलको भविश्यलाई हेरेर त्याग गरेँ

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार पत्रकार सम्मेलन गर्दै थापाले लेखा समितिले गरेको निर्णयलाई सम्मान गर्दै दुई महिनाका लागि आफूले गर्दै आएको काम स्थगन गरेको घोषणा गरेका हुन् । थापाले भनेका छन्-मैले एन्फामा गर्ने दैनिक काम स्थगन गरेको छु । यो समयमा कुनै न कुनै रुपमा फुटबलमा सहयोग पुर्‍याउने काम गर्छु ।’

आफूले प्रतिष्ठाको लडाइ बनाउनुभन्दा खेलाडी र नेपाली फुटबलको भविश्यलाई हेरेर त्याग गरेको उनले बताए । उनले भने-‘गणेश थापाले व्यक्तिगत रुपमा हारेको होला । तर, नेपाली फुटबललाई कहिल्यै हार्न दिन्न ।’

आफूलाई आमा र नेपाली फुटबललाई आफ्नो सन्तानको रुपमा प्रस्तुत गरेका उनले आफ्नो बच्चालाई दुई टुक्रा पारेर भाग लगाउन खोन्दा आमाले आफ्नो सन्तान जीवत रहन्छ भने जस्तो सुकै दुख पीडा सहन सक्छु भन्ने सोचेर निर्णय गरेको बताए ।

एन्फाले अघि सारेको विभिन्न विकल्पहरुमा सहमति हुन नसकेपछि आफ्नो व्यक्तिगत स्वभाव विपरित निर्णय लिएको उनले बताए ।

एन्फामा सुरुमा लेखाको निर्णय पुनर्विचार गराउन पहल गरेको थियो भने दोस्रो पटक राष्ट्रिय खेलकुद परिषदलाई समन्वय गर्न आग्रह गरेको थियो । ‘यो अवस्थामा धेरै विकल्प रहेन र मैले निर्णय गरेँ-उनले भनेका छन् ।

क्लिन चिट पाएपनि लिन गाह्रो पर्छ

उनले आफूमाथि अन्याय भएको बताए । उनले भने-‘भोलि सफाइ पाउँदा पनि त्यो क्लिन चिट पाएपनि लिन गाह्रो पर्छ जस्तो लागेको छ । त्यति ड्यामेज भइसकेको छु तापनि मेले हिम्मत हारेको छैन ।’

यद्यपि दुई महिनापछि के गर्ने भन्नेबारे त्यसबेला नै निर्णय लिने उनले बताएका छन् । छानविनलाई सहयोग गर्ने र त्यस आधारमा आउने निर्णयलाई स्वीकार गर्ने थापाले बताएका छन् ।

आफू थप जवाफ दिन सक्ने अवस्थामा नरहेको भन्दै सभासद समेत रहेका थापाले पद स्थगनबारे थप पत्रकारहरुको प्रश्न लिन अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment