Comments Add Comment

‘एक्सन’मा उत्रिए माओवादी नेता विप्लव

२१ कात्तिक, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यसँग असन्तुष्ट रहेका सचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गर्ने तयारीस्वरुप ‘एक्सन’ सुरु गरेका छन् ।

विप्लव समूहको पहिलो ‘एक्सन’अन्तरगत पार्टी महासचिव रामबहादुर थापाको निवास छेऊमा वालपेन्टिङ गर्दै ‘नयाँ जनवादी क्रान्ति जिन्दावाद’ नारा लेखिएको छ ।

Biplap-nara

विप्लव समूहले काठमाडौंलगायत देशका विभिन्न स्थानमा यही नारा उल्लेख गर्दै वालपेन्टिङ गरेको छ । आफ्नो घरछेऊमा छापामार शैलीमा नारा लेखिएपछि महासचिव बादलले विप्लव ‘एक्सन’मा उत्रिएको भन्दै यो विषय गम्भीर रहेको पार्टी नेताहरुलाई बताएका छन् ।

क्रान्तिको बाटो कठीन भए पनि विज्ञानमा त्यसको निर्माण सम्भव छ-विप्लव

नेकपा-माओवादीले ०५२ सालमा जनयुद्ध सुरु गर्नुअघि पनि यसैगरी भित्तामा ‘नयाँ जनवादी क्रान्ति जिन्दावाद’ का नारा लेखेका थिए ।

विप्लव समूहले वाल पेन्टिङ गरेपछि माओवादी पार्टीमा तरंग आएको छ । ‘उहाँहरु विद्रोहमा जाने नै हुनुभयो, तैपनि रोक्नका लागि छलफल भइरहेको छ,’ वैद्य माओवादीका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘जब उहाँहरुले भित्तामा जनवादी क्रान्तिको नारा लेख्नुभयो, अब संसदीय लोकतन्त्रको विरोधमा ‘एक्सन’मा उत्रिएको स्पष्ट भएको छ ।

मंसिरभित्रै नयाँ शक्ति बनाएर ‘जनकारवाही’

माओवादी सचिव विप्लवले केही साताभित्रै राष्ट्रिय भेला आयोजना गरी नयाँ शक्ति बनाउने भएका छन् । उनको नयाँ समूह पूर्णरुपमा भूमिगत हुनेछ ।

विप्लव समूहले सुरुमा केही भ्रष्टाचारीमाथि जनकारवाही सुरु गर्ने योजना बनाएको छ । विप्लव समूहको ‘टार्गेट’मा भ्रष्टाचारमा मुछिएका कांग्रेसका नेताहरु रहेको माओवादीका एक नेताले बताए ।

मृत्युको बाटोमा विप्लव

विप्लवले कस्तो विद्रोह गर्न खोजेका हुन् भन्नेबारे माओवादीभित्र अन्योल छ । उनले विगतको जस्तो नभई नयाँ ढंगले क्रान्ति गर्नुपर्ने निकटस्थसँग बताउने गरेका छन् ।

म पराजित भएर घर फर्कने छैन, पराजयभन्दा मलाई मृत्यु नै स्वीकार्य छ- चे ग्वेभारा

biplovपार्टीभित्रका कार्यकर्तालाई ‘अब भूमिगत बन्नुपर्छ’ भन्ने आग्रह गरे पनि उनले विद्रोहको कार्यदिशा खुलाउने गरेका छैनन् ।

विप्लव लिखित ‘वर्ग संघर्षको नयाँ मोडेल एकीकृत क्रान्ति नामको किताव चाँडै बजारमा ल्याउन लागिएको छ । सो पुस्कतमा विप्लवले हालै केन्द्रीय समितमा पेश गरेको दस्तावेजकै कुराहरुलाई समेटिएको छ । यसमा उनले नेपालको क्रान्तिको मोडेल नयाँ हुने बताएका छन् ।

विप्लव निकट एक नेताका अनुसार उनी सबैभन्दा बढी अर्नेष्टो चेग्वेभाराबाट प्रभावित छन् । त्यसैले उनले पार्टी फुटाएर छापामार दस्ता बनाई चेग्वेभाराले जस्तै गुरिल्ला युद्ध लड्ने तयारी गरेको ती नेताको बुझाइ छ ।

दक्षिण अमेरिकाका क्रान्तिकारी योद्धा चे पार्टी विनै क्रान्तिको पक्षधर थिए । उनले क्युवामा ८० जना छापामार लिएर क्रान्ति सफल पारेका थिए भने बोलिभियामा त्यसै गर्न खोज्दा असफल भई मारिएका थिए ।

विप्लव समूहका केही कार्यकर्ताले समाजिक सञ्जालको भित्तामा चेग्वेभाराको भनाइ यसरी पोष्ट गर्न थालेका छन्- ‘म पराजित भएर घर र्फकने छैन, पराजयभन्दा बरु मलाई मृत्यु नै स्वीकार्य छ ।’

विप्लवले चाहेजस्तै उनको क्रान्ति सफल हुनेमा मानिसहरुले पत्याएका छैनन् । तर, विप्लवले चेको बाटो समात्न लागेको निकटस्थहरु बताउँछन् । आफ्नो प्रकाशोन्मूख पुस्तकमा विप्लवले भनेका छन्- ‘क्रान्तिको बाटो कोर्न कठीन भए पनि विज्ञानमा त्यसको निर्माण असम्भव होइन, सम्भव कुरा हो ।’

विप्लवको टीममा पोलिटब्यूरोबाट खड्गबहादुर विश्वकर्माबाहेक अरूले साथ नदिने देखिएको छ । तर, एक्लै भएपनि भूमिगत हुन्छु भन्दै विप्लवले चाबहिलस्थित डेरा परिवर्तन गरेको एक नेताले बताए ।

वैद्य र वादलको अँध्यारो भविश्य

विप्लव समूहले पार्टी फुटाएपछि वैद्य नेतृत्वको नेकपा-माओवादी चरम संकट आइलाग्ने विश्लेषण गर्न थालिएको छ । त्यसलगत्तै एमाओवादीमा विलय हुनुबाहेक वैद्य समूहको अर्को विकल्प नरहने विश्लेषण विप्लव समूहको छ ।

माओवादीका एक नेता भन्छन्- ‘वैद्य र बादललाई विप्लवले नै प्रचण्ड र बाबुरामसँग छुटाएर यहाँसम्म ताने । अब उनीहरु थप तन्किन नसक्ने देखेपछि विप्लवले वीचैमा छाड्ने नीति लिएका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment