
४ जेठ, काठमाडौं । अमेरिकाले आगामी ६ सातामा अन्य मुलुकलाई आठ करोड डोज कोरोना खोप दिने भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार सञ्चारमाध्यमहरुसँग कुरा गर्दै यस्तो घोषणा गरेका हुन् । यसअघि नै अमरिकाले ६ करोड डोज कोरोना खोप निर्यातको घोषणा गरिसकेको थियो ।
अहिले अमेरिकाले घोषणा गरेको खोपको संख्या अमेरिकाले जुनको अन्तिमसम्ममा उत्पादन गर्ने खोपको १३ प्रतिशत रहेको बाइडनले बताएका छन् । उनका अनुसार यससँगै अमेरिका विश्वमा सबैभन्दा धेरै कोरोना खोप अनुदानमा दिने मुलुक बन्ने बाइडनको दाबी छ ।
रुस र चीनले अहिलेसम्म एक करोड ५० लाख डोज कोरोना खोप अनुदानमा अन्य मुलुकलाई दिएका छन् ।
बाइडनले कोरोना खोपको विषयमा रुस र चीनको नाम धेरै सुनिएको भए पनि आफूहरु अब खोपमा विश्वको नेतृत्व गर्ने तर्फ अघि बढेको बाइडनको भनाइ छ ।
अमेरिकाले गत मार्चमा क्यानडा र मेक्सिकोलाई ४० लाख डोज अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोप दिएको थियो । आगामी दिनमा थप ६ करोड डोज एस्ट्राजेनेकाको खोप अन्य मुलुकलाई दिने अमेरिकाले बताएको छ । यो खोपलाई अमेरिकामा प्रयोगको अनुमति दिइएको छैन ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले कुन मुलुकलाई कति खोप दिइने भन्ने निर्णय भने हुन बाँकी छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4