Comments Add Comment

कहालीलाग्दो वैशाख : पर्सामा कोरोना संक्रमणले ७९ जनाको मृत्यु

३ जेठ, वीरगञ्ज । अक्सिजन दिनुपर्ने बिरामीहरु मात्र भर्ना लिँदा पनि ११५ बेडको नारायणी अस्पताल भरिन लागेको छ । अस्पतालमा हाल १०८ जना संक्रमित उपचाररत छन् । गम्भीर अवस्थाका ७५ जना आईसीयूमा छन्, जसमध्ये १३ जनालाई भेल्टिलेटर सपोर्ट छ । ३३ जना हाई फ्लो अक्सिजन सपोर्ट भएको एचडीयूमा छन् ।

भर्ना हुने, निको हुने र मृत्यु हुनेको संख्या उस्तै छ । सोमबार मात्र ५ जना नयाँ बिरामी भर्ना भए । चारजना कोरोनालाई जितेर घर फर्किन सफल भएका छन् । पाँचजनाले भने कोरोनालाई जित्न सकेनन्, मृत्युवरण गरेका छन् । ‘अस्पताल कोभिड निमोनियाले फोक्सो बिग्रिसकेको हुन्छ । त्यसले गर्दा डेथ बढेको छ,’ अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दास भन्छन् ।

नारायणी मात्र होइन, निजी अस्पतालहरुमा समेत कोरोना संक्रमितको चाप बढ्दो छ । संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । ३० वैशाखमा सबभन्दा धेरै १० जनाको मृत्यु भयो । वैशाखभरमा ९० जनाले ज्यान गुमाएका छन्, उनीहरुमध्ये ७९ जना पर्सा जिल्लाका छन् । पर्साबाट चितवन, काठमाडौं लगायतका स्थानमा गएर उपचार गर्दा भएको मृत्यु यसमा जोडिएको छैन ।

फागुनमा सबैभन्दा कम

वीरगञ्जमा पहिले पटक २०७६ चैत २९ गते तीनजना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यतिबेला कोरोना भन्ने बित्तिकै मानिसहरुको सातो जान्थ्यो । कोरोना संक्रमित भेटिने क्रम बढ्दै गयो, वीरगञ्ज हटस्पट बन्यो । पहिलो लहरमा लक्षण नभएका संक्रमित बढी भेटिन्थे । आइसोलेट गरेपछि निको भएर घर फर्कंन्थे । २०७७ साउन र भदौमा लक्षणसहितका संक्रमित बढे । धेरैको मृत्यु भयो । लकडाउन र निषेधाज्ञासँगै प्रभावकारी ढंगले टेष्टिङ, ट्रेसिङ र ट्रिटमेन्ट गर्दा पनि ५३ जनाले ज्यान गुमाए ।

त्यसपछि क्रमशः घटेको संक्रमण मंसिर–पुसमा आइपुग्दा नियन्त्रण नजिक देखिएको थियो । स्वाब नमुना कम संकलन हुँदा एक दिन बिराएर पीसीआर परीक्षण गर्ने गरिएको थियो । मंसिरमा ५३३ जनाको नमुना परीक्षण गर्दा ५ प्रतिशतमा संक्रमण देखिएको थिएन । जम्मा २२ जनामा संक्रमण पुष्टि भएको थियो । पुसमा ५९३ जनाको परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिन्छ ।

माघ र फागुनमा अझ कम संक्रमित भेटिए । माघमा ३५१ नमुना परीक्षण गर्दा १८ र फागुनमा ४६३ नमुना परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको थियो । फागुनमा १२ दिन पीसीआर परीक्षण गरिएकोमा २ गते २३ जना, ४ गते १६ जना, ६ गते ३३ जना, १३ गते २९ जना, १८ गते १७ जना र २५ गते ११५ जनाको पीसीआर परीक्षण गर्दा एक जनामा पनि संक्रमण देखिएन ।

चिकित्सकहरुले नाकाको आवागमन व्यवस्थित गर्न, शहरमा लकडाउन गरेर संक्रमणको चेन ब्रेक गर्न, टेष्टिङ र ट्रेसिङको दायरा बढाउन सुझाव दिए । तर सरोकारवालाले वास्तै गरेनन् ।

संक्रमण दर घट्दै गएपछि मानिसहरुमा डर हराउँदै गयोे । जनस्वास्थ्य मापदण्ड पालना हुन छाडे । सामान्य अवस्थामा जस्तै भीडभाड गर्ने, चाडपर्व मनाउने र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन छोड्न थाले । होली पर्व चैत १६ मा थियो । महामारीलाई बिर्सिएसर मानिसहरुले धुमधामसँग होली पर्व मनाए । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न चिकित्सकहरुले गरेको आग्रह न त नागरिकले सुने, न सरोकारवाला निकायले नै गम्भीर रुपमा लिए ।

होली मनाउन संघीय राजधानी काठमाडौं, हेटौंडा, सिमरा, वीरगञ्ज लगायत शहरमा विभिन्न पेशा व्यवसाय गर्ने भारतीय नागरिक घर जान्छन् भने, भारतका विभिन्न शहरमा रोजगारीको सिलसिलामा रहेका नेपाली पनि स्वदेश फर्कने गर्छन् । त्यतिखेरसम्म भारतका विभिन्न राज्यमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेको थियो । वीरगञ्जमा निर्वाध रुपमा आवागमन चलिरहेको थियो ।

दोस्रो लहरमा नयाँ भेरियन्ट देखिसक्दा पनि सतर्कता नअपाएकाले संक्रमण बढ्न थाल्यो । मानिसहरु लक्षणसहित पीसीआर गराउन आउन थाले । चैत १५ गते नारायणी अस्पतालले हतार–हतार ४ वटा बेड राखेर आइसोलेसन वार्ड सञ्चालनमा ल्यायो । चैत २२ गतेदेखि नै दैनिक पीसीआर परीक्षण सुरु भयो र चैतभरमा ६८१ नमुना परीक्षण गर्दा १९८ जनामा संक्रमण पुष्टि भयो । अन्तिम साता बढेको संक्रमितको संख्याले संक्रमणको दर २९ प्रतिशत पुर्‍यायो ।

त्यो समुदायमा संक्रमण फैलिएको संकेत थियो । चिकित्सकहरुले नाकाको आवागमन व्यवस्थित गर्न, शहरमा लकडाउन गरेर संक्रमणको चेन ब्रेक गर्न, टेष्टिङ र ट्रेसिङको दायरा बढाउन सुझाव दिए । तर सरोकारवालाले वास्तै गरेनन् ।

डा. उदयनारायण सिंह सम्भावित जोखिमका बारेमा सरोकारवालालाई अवगत गराउँदा सरोकारवालाले ध्यान नदिएको बताउँछन् । ‘होली नजिकिंदै गर्दा पर्वमा स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अपनाएनौं र त्यसपछि हुने आवागमन व्यवस्थित हुन सकेन भने वीरगञ्ज पुनः कोरोनाको हटस्पट बन्ने खतरा छ भनेका हौं,’ उनले भने, ‘तर हाम्रो कुरालाई गम्भीर रुपमा लिइएन, कानमा तेल हालेर बसियो, त्यसैको दुष्परिणाम अहिले हाम्रो सामु छ ।’

होलीपछि भारतको कोरोना संक्रमण फैलिएको स्थानबाट फर्कनेहरुलाई निर्वाध रुपमा आवागमन गर्न दिएपछि कोरोना समुदायस्तरमा फैलिएको उनी बताउँछन् । ‘जोखिम क्षेत्रबाट फर्कनेहरु सरकारी मापदण्ड अनुसार होम क्वारेन्टिनमा बसेनन्, समस्या देखिएपछि समेत पीसीआर परीक्षण नगराउने धेरै देखिए,’ उनले भने, ‘जसले संक्रमण समुदायमा भुसको आगो जसरी फैलियो ।’

कहालीलाग्दो वैशाख

नयाँ वर्षको पहिलो महिना नयाँ उमंग र उल्लास हुनुपर्ने हो । तर २०७८ वैशाख वीरगञ्जका लागि राम्रो देखिएन । कोरोना संक्रमण र मृत्यु दुवै उच्च दरमा पुगेको महिना बन्यो ।

वैशाखमा नारायणी अस्पतालको पीसीआर ल्याबमा ५ हजार ९७६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अर्थात परीक्षण गराएकामध्ये ५७ प्रतिशतमा संक्रमण पुष्टि । संक्रमितमध्ये २ हजार ६२३ जना पर्सा, ५६८ जना बारा र २१२ जना अन्य जिल्लाका छन् ।

संक्रमणसँगै मृत्युदर पनि बढेको छ । वैशाख महिनामा मात्र ९० जनाले ज्यान गुमाएका छन् ।

दोस्रो लहरमा पर्साका संक्रमितको पहिलो मृत्यु चितवनको भरतपुरमा भयो । चैत २९ गते भरतपुर अस्पताल भर्ना भएका उनमा कोभिड निमोनियाको कडा संक्रमण देखिएको थियो । चैत ३० गते बिहान १ बजे उनको मृत्यु भएको थियो ।

भोलिपल्ट नारायणी अस्पतालमा वीरगञ्ज महानगरपालिका–३ का ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो । त्यही दिन बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ का ३७ वर्षीय पुरुषको मृत्यु भयो । होली पर्व मनाउन भारतको हैदरावादबाट चैत १४ गते उनी घर फर्किएका थिए । एकसातापछि नै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गर्नु परेको थियो ।

त्यसपछि संक्रमणबाट मृत्यु हुनेहरुको ‘ट्राभल हिष्ट्री’ पहिल्याउँदा पोजेटिभ नदेखिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दास बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र नारायणी अस्पतालका तथ्याङ्क केलाउँदा पर्सामा वैशाखमा मात्रै ७९ जनाको मृत्यु भएको छ । त्यसो त वीरगञ्जमा बाहिरी जिल्लाबाट समेत उपचारका लागि मानिसहरु आउने गर्दछन् । उनीहरुको मृत्यु वीरगञ्जका विभिन्न अस्पतालमा हुने गरेकाले डरलाग्दो तथ्याङ्क बाहिर आउँछ । नारायणी अस्पतालमा मात्रै चैत २९ गतेदेखि वैशाख मसान्तसम्म ७० जनाको मृत्यु भएको छ, जसमा पर्साका मात्रै ४४ जना छन्, बाराका १५, रौतहटका ८ र सर्लाहीका ३ जना छन् ।

बाहिरी जिल्लाबाट वीरगञ्जका अन्य निजी अस्पतालमा ल्याइएका अन्य जिल्लाका संक्रमितको पनि मृत्यु भएको छ । पर्साको ग्रामीण भेग र अन्य जिल्लाबाट अत्यन्त गम्भीर अवस्थामा पुगेपछि मात्रै बिरामी नारायणी अस्पताल आइपुग्ने गरेकाले मृत्युदर बढेको अस्पतालका कोभिड संयोजक डा. दासले बताए ।

संक्रमण फैलिन सहयोग पुग्ने तीन गल्ती

वीरगञ्ज–रक्सौल नाका देशकै प्रमुख नाका हो । यहाँबाट दैनिक हजारौं मानिसहरुको आवागमन हुने गर्छ । पर्सा जिल्लामा मात्रै १०७ किलोमिटर खुल्ला सीमा छ । सीमा क्षेत्रमा सहज आवागमन हुने गरेको छ । जसले गर्दा भारतमा संक्रमण बढ्दा नेपालको सीमा क्षेत्रमा पनि संक्रमण बढ्ने गरेको छ ।

सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा खटाइएपनि नागरिक सचेत नभएका कारण समस्या छ । संघीय सरकारले सीमा सुरक्षा योजना बनाएर सीमामा आवागमनमा कडाइ गर्नुपर्नेमा त्यसो नगरेको वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी बताउँछन् । ‘इन्टरनेशनल बोर्डर म्यानेजमेन्ट संघ सरकारको काम हो, पहिलो लहरबाटै पाठ सिकेर राष्ट्रिय योजना बनाउनुपर्ने हो,’ उनले भने, ‘तर त्यसो हुन सकेन, स्थानीय प्रशासन पनि त्यसतर्फ गम्भीर देखिएन । जसले गर्दा समुदायमा सजिलै संक्रमण फैलियो ।’

यसअघि विद्यालयहरुमा होल्डिङ सेन्टर बनाइएको थियो । निजी अस्पताललाई भाडामा लिएर कोभिड अस्पताल बनाइएको थियो । होटल क्वारेन्टिन, आइसोलेसन सञ्चालन गरेर प्रयोगमा ल्याइएको थियो । टेष्टिङ, कन्ट्याक्ट ट्रेसिङ र ट्रिटमेन्टमा ध्यान दिइएको थियो । दोस्रो लहरमा यस्ता संयन्त्रहरुले खासै प्रभावकारी काम गर्न सकेनन् ।

महानगरले खुल्ला सीमामा आवगमन रोक्न नसकेपनि हेल्थ डेस्क राखेर चेकजाँच गरेको उनी बताउँछन् । ‘हामीकहाँ आगो लागेपछि दमकल किन्न जाने बानी छ, महामारीको ट्याकल गर्न होमवर्क नै भएन,’ नगरप्रमुख सरावगीले भने ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. दास पनि सीमाको आवागमन व्यवस्थित गर्न नसक्दा समस्या देखिएको बताउँछन् । ‘नागरिकको चेतनास्तर राम्रो थिएन, भारतबाट संक्रमण भित्रिन नदिन सकेको भए राम्रो हुन्थ्यो,’ उनले अनलाइनखबरसँग भने, ‘हेल्थ डेस्क र होल्डिङ सेन्टर राखेर सबैको चेकजाँच र परीक्षण गर्नुपथ्र्यो । त्यसो हुन नसक्दा अहिलेको परिस्थिति आएको हो ।’ वीरगञ्ज नाकामा एक हजार बेडको होल्डिङ सेन्टर बनाउने घोषणा सरकारले एक वर्ष अघि नै गरेपनि अहिलेसम्म निर्माण भएको छैन ।

दोस्रो, पूर्वतयारी थिएन, पहिलो लहरबाट पाठ नसिक्नु । यसअघि विद्यालयहरुमा होल्डिङ सेन्टर बनाइएको थियो । निजी अस्पताललाई भाडामा लिएर कोभिड अस्पताल बनाइएको थियो । होटल क्वारेन्टिन, आइसोलेसन सञ्चालन गरेर प्रयोगमा ल्याइएको थियो । टेष्टिङ, कन्ट्याक्ट ट्रेसिङ र ट्रिटमेन्टमा ध्यान दिइएको थियो । दोस्रो लहरमा यस्ता संयन्त्रहरुले खासै प्रभावकारी काम गर्न सकेनन् । अधिकांश पालिकाले आइसोलेसन सेन्टर समेत बनाएनन् ।

लक्षणसहितका संक्रमित होम आइसोलेसनमा बस्न बाध्य छन् । गम्भीर प्रकृतिका बिरामी आउँदा उपचार गर्नका लागि आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्थापन समयमै हुन नसकेको नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव समेत रहेका डा. सिंह बताउँछन् । ‘दोस्रो लहरमा गम्भीर प्रकृतिका संक्रमित बढी छन्, कडा संक्रमितको उपचारका लागि आवश्यक व्यवस्था थिएन, आईसीयू, एचडीयू वार्डहरु मापदण्ड अनुसारका छैनन्,’ उनले भने, ‘बिरामीको अवस्था हेर्दा पीपीई लगाएका मानिस स्ट्यान्डबाई बस्नुपर्ने देखिन्छ । औजार, उपकरण र जनशक्तिको पर्याप्त बन्दोबस्त हुन नसक्दा पनि समस्या देखियो ।’

उपचारपछि संक्रमणमुक्त भएकालाई छुट्याउन नसक्दा र संक्रमितसँगै कुरुवा राखेर उपचार गर्दा झन् जोखिम बढेको उनी बताउँछन् । कोरोना संक्रमितलाई टाइफाइडको बिरामीलाई जसरी उपचार गरेर नहुने नारायणी अस्पतालकै कन्सल्टेन्ट एनेस्थेसिया डा. प्रल्हाद अधिकारी बताउँछन् ।

तेस्रो, संक्रमणको चेन ब्रेक गर्न आवश्यक कदम चाल्न ढिलाइ भयो । पर्सामा संक्रमणबाट ११ जनाको मृत्यु भइसकेपछि मात्रै वैशाख १४ गते जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठक बस्यो । वैशाख १६ गतेबाट निषेधाज्ञा लगाइयो ।

निषेधाज्ञा चैतको अन्तिम साताबाटै लगाउन सकेको भए संक्रमण समुदायमा फैलिन नपाउने नारायणी अस्पतालका कोभिड संयोजक डा. दासको दाबी छ ।

एनेस्थिया कन्सल्टेन्ट डा. अधिकारी कोरोना संक्रमण प्राकृतिक रुपमा आफैं नियन्त्रणमा आउने, सबैले भ्याक्सिन लगाउने वा रोग प्रतिरोधात्मक क्षमताको विकास भएपछि मात्रै नियन्त्रणमा आउने बताउँछन् । ‘नेपाल ओरिजिन भएको भाइरस थिएन, माइग्रेसनले नै इन्फेक्सन ल्याएको हो । पहिला जुन त्रास थियो, अहिले त्यो त्रास देखिएन । मानिसहरुको मुभमेन्ट बढी भयो,’ उनले भने, ‘प्रिभेन्सनमा चुकेर नै हामी आजको अवस्थामा छौं । अझैपनि एउटा बिरामीलाई पाँचजना कुरुवाले हेरिरहेका छन् । पाँचजना संक्रमित हुँदा अर्को २५ जनालाई सार्न सक्छन् ।’

समुदायमा संक्रमण फैलिसकेको, निषेधाज्ञाको पालना समेत प्रभावकारी नभएको अवस्थामा अक्सिजन, भेन्टिलेटर, अस्पतालमा जनशक्ति र बेडको अभाव नहोस् भन्नेमा ध्यान केन्द्रित गर्नुको विकल्प नभएको उनको भनाइ छ । ‘प्रिभेन्सनको पाटोमा चुकिसकेको अवस्थामा गम्भीर अवस्थामा पुग्नु अघि नै अस्पतालमा ल्याएर प्रभावकारी उपचार दिन सक्नुपर्छ । अधिकांश फोक्सो खराब भइसकेपछि मात्रै अस्पताल आइरहेका छन्,’ उनले भने ।

त्यसबाहेक पर्सामा ‘केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ (सीआईसीटी)’ टिम गठन गरी प्रभावकारी ढंगले परिचालन भएको छैन । वीरगञ्जको ईनर्वामाबाहेक अन्य ठाउँमा हेल्थ डेस्क स्थापना हुन सकेन ।

नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट र सर्लाहीदेखिका बिरामीहरु उपचारका लागि आउने जानकारी हुँदाहुँदै पर्साका लागि समयमै कोरोना अस्पताल वा आइसोलेसन सेन्टर स्थापनामा ढिलाइ गर्नु, पालिकाहरुले सामुदायिक आइसोलेसन सेन्टर स्थापनामा चासो नदिनु, निजी अस्पताल जिम्मेवार भएर प्रस्तुत नहुनु, समाजमा कोभिडप्रतिको आमनागरिकको अवधारणा तथा बुझाइमा समस्या देखिनु तथा औद्योगिक क्षेत्रका कामदारको व्यवस्थापनमा चुक्दा पनि कोरोना संक्रमणले भयावह रुप लिएको चिकित्सकहरु बताउँछन् ।

अर्कोतर्फ कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने र उत्प्रेरणा दिने खालका गतिविधि पनि कम हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment