Comments Add Comment

भूमिगत समूहका नाममा आतंक मच्चाउने समूह पक्राउ

pakrauध्रुव भट्टराई

२४ कात्तिक, बिराटनगर । किरात लिम्बुवान राष्ट्रिय परिषद्को नाममा पूर्व नेपालका विभिन्न जिल्लामा आतंक मच्चाउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु पक्राउ परेपछि दुर्घटना टरेको प्रहरीले जनाएको छ ।

विभिन्न भूमिगत समूहको नाम लिँदै लामो समयदेखि पूर्वका पहाडी र तराईका जिल्लामा आतंक मच्चाउदै आएको पूर्व माओवादी लडाकूसहित १० जनालाई प्रहरीले मोरङको शनिश्चरे र वयरवनवाट विस्फोटक पदार्थसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गरेको छ ।

कात्तिक १९ गते मोरङको इलाका प्रहरी कार्यालय पथरी कार्यालयमा पे्रशर कुकर बम विस्फोट गराएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो ।

बम विस्फोट गराउने समूहको पहिचान गरी नियन्त्रणमा लिन क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीको विशेष टोली अनुसन्धानमा खटिएको चारदिनपछि उनीहरुलाई जिल्लाकै वयर वन र शनिश्चरेवाट नियन्त्रणमा लिन प्रहरी सफल भएको मोरङका प्रहरी उपरिक्षक ठुले राईले जानकारी दिए । राईले भने-तत्काल पक्राउ गर्न नसकिएको भए यो समूहले पूर्वका अन्य जिल्लामा पनि विस्फोट गराउने तयारीमा थियो । यसले ठूलो दुर्घटनालाई टारेको छ ।’

पक्राउ परेकाहरुको साथबाट ठूलो मात्रामा विस्फोटक पदार्थसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा मोरङ बयरवनका मानबहादुर माझी, आयावारीका पर्वत तामाङ, आशिष लिम्बू, दोर्जे तामाङ, मनोज विश्वकर्मा, विश्व विक, सुमन लिम्बू छन् । माझी पूर्वलडाकूसमेत हुन् ।

द्वन्द्वकालमा माझीको एउटा खुट्टा गुमेको थियो । पथरी विस्फोटनमा माझीले नै नेतृत्व गरेको प्रहरीको दाबी छ । बयरवन-९ का कुमार लिम्बू, झापा सतासीधाम झिलझिलेका चन्द्र लिम्बू, मोरङ आयावारीका कविराज लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

चन्द्र भारतबाट विस्फोटक पदार्थ ल्याउने काम सक्रिय रहेको प्रहरीको निष्कर्ष छ । कविराजमाथि यसअघि पनि ज्यान मार्ने उद्योग, लुटपाटलगायतमा मुद्दा दर्ता छ ।

सोही समूहले केही दिनअघि ताप्लेजुङमा पनि बम विस्फोट गराएको थियो । तिहारअघि काबेली हाइड्रो पावरका प्रबन्धक सुरेश कुमारको अपहरणमा समेत परिषद्कै कार्यकर्ताको संलग्नता पाइएको छ ।

प्रबन्धक कुमारको अपहरणको आरोपमा परिषद्का नेता मनिष हेल्लोक हाल पाँचथर कारगारमा थुनामा छन् । परिषद्ले प्रबन्धकको अपहरणमुक्तका लागि ३ करोड फिरौती मागेको थियो ।

पछि ३० लाखमा बार्गेनिङ भएको र पैसा बुझाउनुभन्दा अगाडि नै हेल्लोकलाई प्रहरीले पक्राउ गरेको थियो । अपहरणमा ६ जनाको संलग्नता भए पनि हेल्लोकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । अन्य फरार छन् ।

प्रहरीले बिजुलीको तार, प्रेसर कुकर बमका टुक्रा, विभिन्न नारा उल्लेख भएका पर्चा, झण्डा, डेटोनेटर, बारुद, विस्फोटक पदार्थ पीईके, तार जोड्ने व्याट्री, एनसेलका रिचार्ज, परिषद्का सांगाठानिक दस्तावेजसमेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेको समूहले पूर्वका अलैंची व्यवसायी, उद्योगी र व्यापारीहरूसित समेत चन्दाआतंक मच्चाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘अलैंची व्यवसायीसित त लाखौं रुपैयाँ उठाएको पाइयो’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले भने-‘उनीहरूको गतिविधि हेर्दा राजनीतिकभन्दा पनि आपराधिक समूह हुन् भन्ने हाम्रो निष्कर्ष छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment